INSEC Online

📅 २०८३ जेष्ठ २७

आधारभूत मानव अधिकार सचेतना तालिम सम्पन्न

मानव अधिकारका आधारभूत सवालका बारेमा जानकारी दिने उद्देश्यले आधारभूत मानव अधिकार सचेतना सम्बन्धी एक दिवसीय तालिम खोटाङमा जेठ २५ गते सम्पन्न गरिएको छ ।

इन्सेक खोटाङ र मानव अधिकार आयोग कोशी प्रदेश कार्यालय, खोटाङ शाखाको आयोजनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १ दिक्तेलस्थित पञ्च माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत बालबालिकालाई आधारभूत मानव अधिकार सचेतना तालिम दिइएको हो ।

तालिमको उद्घाटन सत्रमा राष्टिय मानव अधिकार आयोग, खोटाङ शाखाका प्रमुख मोहन काफ्ले विद्यालय तहका बालबालिकालाई आधारभूत मानव अधिकारका सवालमा जानकारी गराउने उद्देश्यले इन्सेकको समन्वय तथा आयोगको आयोजनामा एक दिवसीय तालिम सञ्चालन गरिएको बताउनु भयो ।

तालिम कार्यक्रममा पञ्च माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मी खनालले मानव अधिकारका आधारभूत सवालमा बालबालिकाले तालिममार्फत ज्ञान पाएकाले इन्सेक र आयोगलाई धन्यवाद दिनु भयो । उहाँले पाठ्यक्रममा मौलिक हकका विषयमा थोरै मात्र विषयमा पठनपाठन हुने तर मानव अधिकारको क्षेत्रमा लामो समयदेखि कार्यरत इन्सेक र आयोगले दिएको तालिमबाट बालबालिका प्रभावित भएको बताउनु भयो ।

तालिममा इन्सेक खोटाङका पूर्व प्रतिनिधि तारानाथ फुयालले इन्सेकले मानव अधिकार क्षेत्रमा देशका ७७ ओटै जिल्लामा काम गरिरहेको बारेमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।

इन्सेक खोटाङ स्रोत व्यक्ति कोपिलादेवी बाँस्तोलाले तालिममा सहभागी बालबालिकाहरुलाई आफ्नो घर वा छरछिमेकमा घरेलु हिंसा वा मानव अधिकार हननका कुनै घटना भए तत्कालै इन्सेकलाई वा आयोगलाई जानकारी गराउन आग्रह गर्नु भएको थियो । उहाँले इन्सेकले मानव अधिकार घटनाका पीडितलाई न्याय प्राप्तिका लागि कानुनी सहयोग गर्ने भएकाले इन्सेकलाई घटनाका बारेमा जानकारी गराउन आग्रह गर्नु भएको थियो ।

तालिमको सहजीकरण राष्ट्रिय मानव अधिकार आयोग, खोटाङ शाखाका प्रमुख मोहन काफ्ले, पञ्च माध्यमिक विद्यालयका सामाजिक शिक्षक दीपक दाहाललगायतले गर्नु भएको थियो ।  

कोपिलादेवी बाँस्तोला

अन्य

भिडियो