सीमा क्षेत्रका नागरिक सचेत छन्, आउजाउमा प्रतिबन्ध छः जनप्रतिनिधि

विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई कम गर्नका लागि सीमा क्षेत्रका स्थानीय तहहरूले के कस्ता सतर्कता र सुरक्षाहरूको विषयमा के कस्ता कामहरू भइरहेका छन् । जिल्लामा समन्वय र सहकार्यको अवस्था के कस्तो रहेको छ सो विषयमा स्थानीय तहका प्रमुख तथा उपप्रमुखसँग इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रीमा बिसीले इन्सेक अनलाइनका लागि तयार पार्नुभएको जनमत यहाँ प्रस्तुत छः

 

उमा काफ्ले

उपप्रमुख सिद्धार्थनगर नगरपालिका

विश्वमा महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको रोकथामका गर्न सिद्धार्थनगर नगरपालिकाले उच्च सतर्कता अपनाइरहेको छ । यो महामारीको बेलामा सीमा क्षेत्रमा हुने समस्याका विषयमा अझ बढी चनाखो हुनु पर्दोरहेछ । अन्य स्थानीय तहहरूले आफ्नो क्षेत्रका  नागरिकहरू जोगाए मात्र र सतर्कता अपनाए मात्र पुग्ने रहेछ । तर, सीमा क्षेत्रका स्थानीय तहहरूको दायित्व असाध्यै धेरै हुँदोरहेछ । भारत लगायतका तेस्रो मुलुकबाट फर्कने नागरिकहरूको खाने, बस्ने र सुरक्षा गर्नुपर्ने दायित्व पनि थपिने रहेछ । यसलाई हामीले एउटा अवसरको रूपमा लिएर अगाडि बढेका छौँ । नगरपालिकाले चैत १८ गतेसम्म भारतबाट फर्केका धेरै मानिसहरूलाई सामान्य ज्वरो, जाँच गरेर सम्बन्धित स्थानमा पठाउने गरेको र चैत १८ गते साँझ सङ्घीय सरकारले भारतबाट फर्कने नागरिकहरूलाई कडाइ गर्न निर्देशन दिए लगत्तै सीमामा आवतजावत गर्न नदिने निर्देशन आएपछि भारतबाट आएका नेपालीहरूलाई भारतको प्रशासनसँग समन्वय गरेर भारतको नौतुनहवामा रहेको इन्टर कलेजको क्वारेण्टाइनमा राखिएको र नेपालबाट भारत जान हिँडेका १ सय ५५ जनालाई नेपालकै निमा प्रतिमा प्रतिष्ठान केन्द्रमा राखिएको छ । उनीहरूको खानाको व्यवस्थापन नगरपालिकाले स्थानीय उद्योगी व्यापारी, व्यवसायीहरूसँग समन्वय गरेर गरिरहेको छ ।

 

कोरोना भाइरसको सङ्क्रमणको विषयमा गृह मन्त्रालयको बढी जिम्मेवारी रहेको छ । प्रमुख जिल्ला अधिकारीले सुरक्षाका तीन ओटै तहसँग समन्वय गरी सीमा क्षेत्रमा हुने कोरोनाको जोखिम न्यूनिकरणका लागि दिनरात खटिरहेका छौँ । यसका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले सक्रिय भूमिका खेलेको छ भने नेपाली सेनाले पनि सक्रियता देखाएको छ । सीमा क्षेत्रमा हुने आवत जावतलाई रोक्नका लागि स्थानीय सरकार सक्रिय भएर लागेको छ । हामीहरू सबैले मिलेर यो महामहारी विरूद्ध लाग्नुपर्छ भन्ने खालका सन्देशहरू वडामार्फत सचेत गराइरहेका छौँ । सुरूका दिनमा अलि समस्या खेपियो अहिले केही सहज भएको छ । सबै नागरिकले बुझ्न थाल्नुभएको छ । प्रदेश सरकारले सीमा क्षेत्रमा हुने आवत जावतका विषयमा रोक्न र सक्रिय भूमिका निर्वाह गर्न मुख्य मन्त्रीले निर्देशन पनि दिनु भएको छ । सीमामा प्रहरी प्रशासनबाट नियमित अनुगमन पनि भइरहेको छ । यो लकडाउनको समयमा जो जहाँ हुनु हुन्छ त्यही सुरक्षित बस्नुस भन्ने सन्देश प्रवाह गरिएको छ । यति हुँदाहुँदै पनि विशेष अवस्थाका नागरिकहरू सुत्केरी, गर्भवती, अपाङ्गता भएका व्यक्तिहरू र ज्येष्ठ नागरिकहरूको हकमा प्रहरी प्रशासनसँग समन्वय गरेर उद्धार गरी क्वारेण्टाइनमा राख्ने व्यवस्था पनि गरिएको छ । यस्तो विपद्को सामना गर्नका लागि नगरपालिकाले ११ लाख ५१ हजारको राहत कोषको स्थापना गरेको र अहिलेसम्म त्यो राहतकोषमा २९ लाख ३३ हजार १ सय १४ रूपियाँ जम्मा भएको छ । कोरोना विरूद्धको अभियानका लागि हामीले हरदम प्रयास गरेका छौँ ।

 

जितेन्द्रनाथ शुक्ला

अध्यक्ष

सम्मरीमाई गाउँपालिका

कोराना भाइरसको सङ्क्रमण रोक्नका लागि गाउँपालिकाले सङ्घीय र प्रदेश सरकार, सुरक्षा निकाय, नागरिक समाज, स्थानीयवासीहरू सबैसँग सहकार्य गरेर अगाडि बढेका छौँ । सम्मरीमाई गाउँपालिकाको १० किलो मिटर क्षेत्र खुला सिमाना भएकाले त्यहाँबाट आवत जावतलाई रोक्नका लागि एकदमै सावधानी र उच्च र्सतर्कता अपनाइएको छ । त्यस्तै सीमा क्षेत्रमा हुनसक्ने कोरोनाको जोखिमका विषयमा गाउँपालिकावासीलाई सचेत गराएर अगाडि बढेका छौँ । नेपाल सरकारले गरेको लकडाउनलाई यहाँका जनताले साथ दिनुभएको छ । सुरूसुरूमा अलिकति समस्या भयो । अहिले नागरिकहरूले पनि विस्तारै बुझ्न थाल्नुभएको छ । सीमामा हुने आवतजावत रोक्नका लागि सुरक्षाकर्मीहरू दिनरात नभनी खटिरहनुभएको छ ।

अहिले खेती भित्र्याउने समय पनि भएकाले कतिपय किसानहरू गहुँ भित्र्याउनका लागि खेतमा जानुभएको छ । त्यसलाई हामीले रोक्न सक्दैनौँ । भिडभाड नगर्नुस सुरक्षित भएर पालैपालो काम गर्नुस् भनेर सल्लाह दिएका छौँ । सीमालाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले पनि एकदमै लगाव लगाएर काम गरेका छन् । सीमामा आवतजावत गर्न दिइएको छैन । बेला बेलामा प्रदेश सरकार, मुख्यमन्त्री तथा अन्य मन्त्रालयले पनि सीमा सुरक्षाका विषयमा निर्देशन, चासो तथा सुझावहरू दिइरहनुभएको छ । प्रदेश सरकारले सीमा क्षेत्रमा देखाएको तदारुकता एकदमै प्रशंसनीय छ । त्यसैगरी सीमा क्षेत्रमा अहोरात्र खटिइरहने सुरक्षाकर्मीहरूको मनोवल बढाउने र आफ्नो ज्यानको परवाह नगरी काम गर्ने स्वास्थ्यकर्मीहरूप्रति सम्मान व्यक्त गर्न चाहान्छु । सरकारले यो कठिन परिस्थितिमा अग्रपङ्क्तिमा बसेर काम गर्ने स्वास्थ्यकर्मीहरू र सुरक्षाकर्मीको मनोवल बढाउनका लागि जनप्रतिनिधिहरूको भत्ता कटौति गरेर स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल बढाउनमा लागोस् त्यसका लागि म तयार छु । अहिले हाम्रो क्षेत्राधिकार भित्रको सबै नाकामा पूर्ण रूपमा आवतजावत बन्द गरिएको छ । यसमा गाउँपालिकावासीले साथ दिइरहनु भएको छ । जनप्रतिनिधिहरू सक्रिय भएर लागि रहनु भएको छ । यसका लागि सबैप्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छु । सीमामा आउन जान दिनु भनेको कोरोनाको महामारी फैलाउनु हो । भुलेर पनि हामी यो भूल कदापी गर्दैनौँ । त्यसकारण हामी सचेत छौँ । कोरोना विरूद्धको लडाइँमा सरकारले चालेका हरेक कदमको साथमा छौँ ।

 

सनोजकुमार यादव

अध्यक्ष

रोहिणी गाउँपालिका

विश्वलाई आच्छुआच्छु पारेको यो महामारीलाई रोक्नका लागि गाउँपालिकाले एकदमै सक्रिय भएर काम गरिरहेको छ । यस गाउँपालिकामा सात ओटा वडा छन् । गाउँपालिकाको लगभग १३ किलोमिटर क्षेत्र भारतको सीमासँग जोडिएको छ । अहिले हामीले सीमाको आवतजावतलाई पूर्ण रूपमा रोकेका छौँ । सीमामा नेपाल प्रहरी र सशस्त्र प्रहरीहरू ठूलो सङ्ख्यामा सीमामा खटिरहनु भएको छ । स्थानीय सरकारका प्रतिनिधिहरू पनि सक्रिय रूपमा लागिरहेका छौँ । सीमामा हुन सक्ने जोखिमका विषयमा गाउँपालिकावासीलाई प्रत्येक दिन माइकिङ्ग गरेर सचेतना जगाउने काम गरिरहेका छौँ । सीमामा हुन सक्ने जोखिमलाई कम गर्नका लागि पनि प्रदेश सरकार, प्रमुख जिल्ला अधिकारीहरूमार्फत बेला बेलामा निर्देशन प्राप्त भइरहेको छ । सीमामा हुने आवतजावतलाई के कसरी सुरक्षित गरिएको छ भन्ने हिसावले बेलाबेलामा अनुगमन समेत भइरहेको छ । सुरूका दिनमा लकडाउनको विषयमा बुझाउन केही समस्या भयो । अहिले त्यस्तो केही समस्या छैन । सबैले बुझ्न लागेका छन् ।

अहिले खेती भित्र्याउने समय भएकोले आफ्नो कृषकहरूले गहुँ काट्ने काम गरिरहनु भएको छ । भिडभाड गर्न पूर्णत बन्देज लगाइएको छ । साँझ पाँच बजेपछि केही समय तरकारी खरिदका लागि बजार खुलाइएको छ । त्यो पनि भिडभाड गर्न पाइँदैन । यसका लागि प्रमुख जिल्ला अधिकारी र प्रदेश सरकारसँग अनुमति लिएर गरेको हो । नागरिकलाई पनि यो विपत्तिको बेलामा सबैले हातेमालो गर्नुपर्छ भन्ने सन्देश सबै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, नागरिक समाजका अगुवाहरू सबै ऐक्यवद्धताका साथ अगाडि बढेका छौँ । हामीले धकधईमा रहेको रामनरेश यादव माध्यमिक विद्यालयमा क्वारेण्टाइनको व्यवस्था गरी खानबस्न व्यवस्था गाउँपालिकाले मिलाएको छ । गाउँपालिकाकाले १ हजार ५ सय परिवार अति विपन्न, ज्याला मजदुरी गरेर खाने परिवारका लागि खाद्यान्नको व्यवस्था गरेको छ । जसमा १ हजार २ सय परिवारलाई वितरण गरिसकेको र बाँकी ३ सय परिवारलाई पनि निरन्तर रूपमा वितरण गर्दैछौँ ।

 

केशवनन्द बाँनिया

अध्यक्ष

मर्चवारी गाउँपालिका

मर्चवारी गाउँपालिकामा सात ओटा वडा रहेका छन् । गाउँपालिकाको ६० प्रतिशत भू भाग भारतीय सीमासँग जोडिएको छ । अधिकांश भू भाग भारतीय सीमासँग जोडिएको कारणले पनि अन्य स्थानीय तहको तुलनामा धेरै खट्नु परेको छ । सुरूका दिनमा नागरिकलाई बुझाउन हम्मेहम्मे पर्‍यो । जनताले पनि विस्तारै बुझ्न थाले लकडाउनको धेरै हदसम्म पालना भएको छ । भारतबाट आउने र जानेको सङ्ख्या शुन्य जस्तै छ । सीमानामा हाम्रा सुरक्षाकर्मीहरू खटिएका छन् । सीमा सुरक्षाका विषयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा व्यवस्था एकदमै कडाइका साथ अगाडि बढाउनु भएको छ । सुरक्षाकर्मीहरूलाई सघाउनका लागि प्रत्येक वडाबाट स्वयम्सेवक युवाहरू परिचालन भएका छन् । जसले गर्दा नेपाल भारत आवत जावत गर्न पाएका छैनन् । सुरक्षाका विषयमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखहरूको टोली बेला बेलामा अनुगमनका लागि आउनुहुन्छ । प्रदेश सरकारसँग त त्यति कुरा भएको छैन । हामीलाई प्रदेश सरकारले केही सहयोग गरेको छैन ।

हामीसँग कुनै पनि बिरामीलाई अस्पतालसम्म पुर्‍याउन एउटा एम्बुलेन्ससम्म पनि छैन । प्रदेश सरकारलाई धेरै पटक अनुरोध गरियो । आश्वासन पनि आयो तर पाउन सकिएन । यो अवस्थामा भाडाका गाडीहरू पनि पाउन कठिन छ । गरिब र विपन्न परिवारका लागि राहत पनि बाँडिएको छ । गाउँपालिकाले जनता मावि उडौलियामा क्वारेण्टाइनको स्थापना गरेको छ । जसमा हाल २१ जना बसिरहेका छन् । उनीहरूलाई खाने बस्ने व्यवस्था गाउँपालिकाले गरेको छ ।

 

मनमोहन चौधरी

नगरप्रमुख

लुम्बिनी सांस्कृतिक नगरपालिका

लुम्बिनी सांस्कृतिक नगरपालिकाले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । नगरपालिकाका वडा कार्यालयहरूमार्फत समाजमा सचेतना फैलाउनका लागि र नेपाल सरकारले गरेको लकडाउनलाई सफल बनाउनका लागि जनमानसमा सचेतना फैलाउने गरेका छौँ । सुरूका दिनमा केही कठिन भयो कसरी सम्भव होला जस्तो लागेको थियो अहिले सबैले बुझ्न थालेका छन् । सीमामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सक्रिय रूपमा जिम्मेवारी बहन गर्नुभएको छ । सीमामा आवत जावत रोक्नका लागि सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधिहरू सक्रिय रूपमा लागेका छौँ । सीमामा आवत जावत गर्दाको परिणामका विषयमा नागरिकलाई राम्ररी बुझाएर अगाडि बढेका छौँ । सीमामा उच्च सतर्कता बढाउनका लागि प्रदेश सरकारका मुख्य मन्त्री शङ्कर पोखरेलले भिडियो संवाद गरेर सीमामा उच्च सतर्कता अपनाउनका लागि निर्देशन दिनुभएको छ र गरिव तथा विपन्न वर्गका घरपरिवारको लागि लगत सङ्कलन गरेर राहत पुर्‍याउनको लागि पनि निर्देशन दिनुभएको छ । हामीले विश्वमा परेको यो विपत्तिलाई सामना गर्नका लागि हदैसम्मको प्रयास गरेका बढेका छौँ । यसमा प्रदेश सरकार, प्रहरी, प्रशासन, नेपाली सेना लगायत नगरपालिकास्तरका सबै राजनीतिक दलहरूसँग समन्वय र सहकार्य गरिहेका छौँ ।

हाम्रो नगरपालिकामा नेपाली सेनाले क्वारेण्टाइन स्थापना गर्नको लागि सहयोग गरेको छ । अहिले नगरपालिकाको क्वारेण्टाइनमा ५६ जना रहेका छन् । क्वारेन्टाइनमा बसेका सबैको खानाबस्नको व्यवस्था नगरपालिकाले गरिरहेको छ । नाकाबाट कोही कसैलाई आउन दिइएको छैन । त्यसका विषयमा नगरपालिका सचेत छ । लकडाउन भए पनि कृषकहरूले बाली भित्र्याउने समय भएकोले बेलुका ६ बजेसम्म गहुँ काट्नेले भिडभाड नगर्ने, पालैपालो काट्ने व्यवस्था मिलाइएको छ । नगरपालिकाले लामखुट्टेको नियन्त्रणका लागि किटनाशक औषधि छर्किएको छ । अति गरिब र विपन्न परिवारको लगत सङ्कलन गरिसकेको र राहत वितरणको चरणमा रहेको छ । नगरपालिकाले १ करोड ४७ लाख ३५ हजार रुपियाँको राहत कोष स्थापना गरेको छ । सीमा नाकामा लापरवाही गरेर आवतजावत गर्न दिनु भनेको कोरोनाको महामारी निम्त्याउनु हो । त्यसकारण हामी यो विषयमा सचेत छौँ ।

प्रकाशित मितिः २०७७ वैशाख २ गते