जनमत

१७ जेठ २०६६

महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि के गर्नु पर्दछ ?


दुर्गा सोव

अध्यक्ष, दलित महिला सङ्घ
नेपालमा महिलामाथि हुने हिंसा बढेर गएको छ। महिलामाथि हुने हिंसाका कारणहरू मुख्यतः सामाजिक विभेद, जातीय विभेद, पितृसत्तात्मक सत्ता, गरिबी, लैङ्गिक विभेद नै हुन्। समाज लैङ्गिक सवालमा संवेदनशील छैन। देशमा बनेका महिलाविरुद्धका कानुनको अन्त्यका लागि कार्यान्वयन प्रभावकारी हुँदैन। महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि हामीभित्र रहेको विभेदहरूको अन्त्य हुनुपर्छ। महिलामध्ये पनि दलित, पछाडि पारिएका समुदायका महिला नै महिला हिंसाका सिकार हुने गरेका छन्। जातीय विभेदको अन्त्य नभएसम्म महिलाविरुद्ध हिंसा अन्त्य हुन सक्दैन। पितृसत्तात्मक अवस्थाको अन्त्य हुनुका साथै महिलामाथि हुने हिंसाविरुद्धका कानुन कार्यान्यवन हुनुपर्छ। यसमा सम्बन्धित निकाय नै संवेदनशील हुनुपर्छ। महिला प्रतिनिधित्वको समान सुनिश्चितताले नै महिला हिंसाको अन्त्य सम्भव छ। महिलाका सवालहरूलाई प्राथमिकताका साथ छलफलमा ल्याइनु पर्छ। महिला आन्दोलन सशक्त हुन नसकेका कारण महिलामाथिको हिंसा बढेर गएकाले महिला आन्दोलनलाई सशक्त बनाएर अगाडि बढाउनु जरुरी छ। राजनीतिक पार्टीमा महिलाको समान सहभागिता अहिलेको अपरिहार्यता हो।

शर्मिला कार्की

सचिव, गैरसरकारी संस्था महासङ्घ

महिलाविरुद्ध हुने हिंसा लामो समयदेखि देशमा व्याप्त छ। महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि एउटा मात्र क्षेत्रमा काम गरेर हुँदैन। महिला हिंसाविरुद्धको अभियानलाई सशक्त रूपमा देशव्यापी बनाउन सबै क्षेत्रमा काम गर्नुपर्छ। महिलामाथि हिंसा हुँदै आएको छ। महिलामाथि हुने हिंसा हरेक क्षेत्रमा विद्यमान छ। महिला हिंसा अन्त्यका लागि सबै क्षेत्रको सहयोग अनिवार्य हुनुपर्छ। आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक अधिकारमा महिलाको समान सहभागिता हुनु जरुरी छ। समग्र रूपमा मानवअधिकारको प्रत्याभूति महिलाले पाउनुपर्छ। महिलाभित्र पनि पछाडि पारिएका महिला, जनजाति, दलित महिला, आमा भएका महिला, बूढी आमालाई हेर्नु जरुरी छ। आमाले पाउनुपर्ने सबै अधिकारबाट उनीहरू वञ्चित भएको अवस्था छ। अधिकांश महिला पुरुषप्रधान देशमा हेपाइको सिकार भइरहेका छन्। महिलाको वास्तविक पहिचान छैन। सम्पत्तिमाथि महिलाको अधिकार छैन। महिलालाई आर्थिक रूपमा सम्पन्न गरिनु पर्छ। देशमा महिलामुखी नीति हुनुपर्छ। राज्यको सबै ठाउँमा महिलाको उपस्थिति नहुँदा राज्य, सरकार, देश हाम्रो हो भन्ने हुँदैन। राज्यका हरेक तहमा महिलाको अर्थपूर्ण भूमिका हुनुपर्छ। महिला बलात्कारका घटनाबाट पीडित छन्। महिला हिंसाका कारण महिलाहरू घर-बेघर भएका धेरै घटनाहरू छन्। महिलामाथि जघन्य अपराधका घटना हुन्छन्, निःसहाय, सोझा, सीधा महिलामाथि बोक्सीको आरोप लगाई समाजमा अपमानित गरिन्छ। महिलालाई राजनीतिक मूलधारमा ल्याई सबै महिलाको समान सहभागिता गराउनु जरुरी छ। महिलामुखी मात्र नभई सबै क्षेत्रका महिलालाई समान सहभागी गराउनु पर्छ। महिलाले आफ्नो खुट्टामा उभिएर आफ्नो पहिचान खोज्नु पर्छ। दण्डहीनताको अन्त्य हुनु पर्छ। राज्यमा कानुनी शासनको प्रत्याभूति हुनु पर्छ। पछाडि पारिएका महिला समुदायमा महिलामाथिको हिंसा बढी हुने गरेको छ। महिलाको सुरक्षा र पहिचानसहितको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक अधिकारको प्रत्याभूतिको सुनिश्चितता नै महिलाविरुद्ध हुने हिंसाको अन्त्य हो।

अमृता अनमोल

सचिव, महिला सञ्चार मञ्च, रूपन्देही

महिला हिंसाका तथ्य खोज्दै जाँदा धेरैजसो महिला हिंसा परनिर्भरता र अशिक्षाले निम्त्याएको छ। महिला शिक्षित र आत्मनिर्भर छ भने त्यहाँ महिला हिंसा कम हुन्छ। तर्सथ,र्सवप्रथम त महिला हिंसा हटाउन महिला शिक्षा र आत्मनिर्भरतामा जोड दिनुपर्छ। हाम्रो समाजमा मान्दै आएका धर्म र संस्कारले पनि महिला हिंसा बढाउन सहयोग गरेका छन्। यस्ता प्रथा तथा संस्कार कानुनद्वारा नै अन्त्य गरिनु पर्छ र व्यवहारमा अन्त्य भए/नभएको अनुगमन गरी सजायको व्यवस्था हुनर्ुपर्छ। पुरुषका तुलनाका महिला दोब्बर काममा खट्ने भए पनि उनीहरूको बढी समय अनुत्पादक काममा बित्छ भने पुरुष उत्पादक र सामुदायिक काममा खटेको हुन्छ। राज्यले महिला र पुरुष दुवैलाई समान रूपमा अनुत्पादक, उत्पादक र सामुदायिक काममा खट्ने वातावरण मिलाएमा पनि महिला हिंसा कम हुन्छ। पछिल्लो समयमा सरकारी र गैरसरकारी सङ्घसंस्थाले महिला हिंसाका लागि विभिन्न पैरवी कक्षा सञ्चालन गर्ने गरेका छन्। ती तालिममा महिला-पुरुष दुवैलाई सहभागी हुने र महिलाका समस्याबारे पुरुषलाई र पुरुषका समस्याबारे महिलालाई बुझ्ने र समाधान गर्ने अवसर जुटाइदिएमा पनि महिला हिंसा धेरै हदसम्म कम हुनेछ।

गीता के.सी.(थापा)

घरेलु हिंसापीडित महिला, शङ्करनगर

समाज अझै पनि विभेदमुक्त छैन। महिला र पुरुषबीचका असमानताहरू जरा गाडेको अवस्थामा छन्। महिलालाई हेर्ने दृष्टिकोण अझै पनि पुरानै खालको छ। शिक्षा र चेतनाका हिसाबले पनि पुरुषको तुलनामा महिलाहरू पछाडि छन्। किनभने, त्यतिबेलाको समाजले महिलालाई शिक्षा दिन जरुरी ठानेको थिएन। राज्यले पनि त्यस अनुरूपका कार्यक्रम ल्याउन सकेन। महिलालाई हिंसामा बाँच्न बाध्य पार्नेमा पुरुषसँगै स्वयम् महिला पनि छन्। सासूले बुहारीलाई गर्ने हिंसा होस् या बुहारीले सासूलाई गर्ने हिंसा, यस्तो खालका हिंसाले महिलाहरू अझ बढी पीडामा बाँच्न बाध्य छन्। महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि समतामूलक समाज निर्माण जरुरी छ। समतामूलक समाज निर्माणका लागि चेतना अभिवृद्धि गरिनुपर्छ। महिलालाई शिक्षा र चेतना बढ्ने खालका कार्यक्रमहरू राज्य निकायबाटै योजनाबद्ध ढङ्गले अगाडि सार्नुपर्छ। महिलालाई आर्थिक, सामाजिक र अधिकार उपलब्ध हुनुपर्छ। अनि, महिलालाई नै चेतना अभिवृद्धि अभियानमा सहभागी गराउनुपर्छ।

कमला राई

ओरेक, जिल्ला कार्यक्रम संयोजक, मोरङ

आमा रोइरहेको घर कहाँ खुसी हुन सक्छ – तर्सथ, हिंसा न्यूनीकरणका लागि परिवार, समाज र राष्ट्र सबै तहमा आँधीबेहरी सिर्जना गर्न सक्नुपर्छ। हिंसा न्यूनीकरण हाम्रो साझा सवाल हो। राज्यलाई नागरिक समाजले सहयोग गर्दै जिम्मेवार बनाउनु पर्छ भने अन्ततोगत्वा हिंसा न्यूनीकरण राज्यको दायित्व हो। महिला हिंसाको विभिन्न घटनाविरुद्ध पुरुषहरूको योगदानको क्रम हेर्दा पुरुषको र्समर्थन र सहानुभूति भए तापनि महिलाहरूले नै खबरदारी र आन्दोलन गर्नु पर्छ भन्ने मान्यता राखेको अनुभूति गर्न सकिन्छ। महिलाहरूको अधिकारका लागि महिला मात्र सडकमा उत्रनुपर्ने घटनाले कतै महिलाको सवाल मात्र महिलाको पेवा मात्र त होइन भन्ने जस्तो पनि देखिन्छ। महिला हिंसा महिलाको मात्र नभएर सामाजिक अपराध हो। महिलाहरूले हिंसाविरुद्धको अभियानमा अगुवाइ गरे पनि महिलाको सवाल सबैको साझा सवाल बन्न सक्नु पर्छ न कि महिलाको मात्र। महिला हिंसा अन्त्यका लागि सामाजिक न्यायको सुनिश्चित र कानुनी शासन लागू हुनु पर्छ।

जनमतहरू

स्मारक वा पार्क बनाएर मृतकहरूको सम्झनालाई चीरस्थायी बनाउनुपर्छ-द्वन्द्वपीडित

दश वर्षे माओवादी सशस्त्र द्वन्द्वको अन्त्य २०६३ मङ्सिर ५ गते सरकार र तत्कालीन ....

स्थानीय न्यायिक समितिमा छिटो न्याय पाउने आशा

छिटो, सस्तो र सहज न्याय पाउने आशामा ‘स्थानीय न्यायिक समिति’ मा विवादित विषयहरू....

महिला हिंसा अन्त्य गर्न र महिलाको सशक्तिकरणका लागि जनप्रतिनिधिको योजना के छन् ?

 दैनिन्दिन समाजमा महिला हिंसाका घटनाहरू बढिरहेका खबरहरू अखबारहरूमा प्रकाशित, र....

कृष्णप्रसाद अधिकारीको हत्या घटना अनुसन्धान प्रक्रियाका विषयमा को के भन्छन् ?

कृष्णप्रसाद अधिकारी हत्याको अनुसन्धान गर्न मानवअधिकार अयोगले सरकारलाई गराएको ध्यानाकर्षण र सरकारलेसम्बन्धित नि....






Top