पीडितलाई न्याय दिने कुरामा स्थानीय सरकार अग्रपङ्क्तिमा हुनुपर्छ

लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ यही नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइरहँदा नेपालमा पनि यो अभियान सञ्चालित छ । नेपालको संविधान २०७२ को धारा ३८ को उपधारा ३० ले महिला विरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमका हिंसाजन्य कार्य वा शोषण गर्न नपाइने कुरा उल्लेख गरेको छ । महिलामाथि हुने घरेलु हिंसा नियन्त्रण कसुर सजाय ऐन २०६६ जारी भई लागु भएको छ । लिङ्गका आधारमा महिला तथा बालिकामाथि हुने हिंसा र हत्याका घटनामा बृद्धि हुँदै आएको विभिन्न तथ्याङ्कले देखाएका छन् । यसै परिवेशमा हामीले केही स्थानीय तहका उपप्रमुखसँग लैङ्गिक हिंसा न्यूनीकरका लागि तपाईँको स्थानीय तहले केकस्ता कार्यक्रम सञ्चालन गरेको छ भनेर सोधेका छौँ । प्रस्तुत छ उहाँहरूको भनाइ जस्ताको तस्तैः

दमयन्ता चुडाल

उपप्रमुख, रतुवामाई नगरपालिका, मोरङ (प्रदेश–१)

damayanta chudal

लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानमा रतुवामाई नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । लैङ्गिक हिंसा अन्त्यका लागि समाजमा सचेतनाको भूमिका महत्वपूर्ण हुने भएकाले हाम्रो नगरपालिकाले स्थानीय एफएम रेडियोसँग सहकार्य गरी लैङ्गिक हिंसा न्यूनीकरणका लागि सचेतनामुलक कार्यक्रम निर्माण गरी प्रशासरण गरेको छ । छोटोछोटो सन्देशमुलक साम्रगी निर्माण गरी प्रशारण गरिरहेको छ । कोभिडको महामारी भएकाले भिडभाड हुने गरी कार्यक्रम आयोजना गरिएको छैन । एक गैरसरकारी संस्थासँगको सहकार्यमा रतुवामाई नगरपालिकाका वडा–८ र ४ मा महिला स्वास्थ्य र परामर्श मेलाको आयोजना मङ्सिर १४ गते गरिएको छ । भौगोलिक हिसाबले रतुवामाई नगरपालिका भारतीय सिमावर्ती क्षेत्रमा जोडिएको र आदिवासी समुदायको बाहुल्यता भएको दक्षिणी क्षेत्रलाई लक्षित गरी स्वास्थ्य मेलाको आयोजना गरिएको थियो । मेलामा गुप्त रोग र सामाजिक सचेतनाका कारण अधिकांश आदीवासी महिलाहरूले लुकाउने रोगको निदान तथा परामर्श दिने कार्य गरिएको छ । अभियान सुरूआत भएको दिन मङ्सिर १० गते नगरपालिका हाताभित्र लैङ्गिक हिंसा न्यूनीकरण अन्त्यमा लागि पर्चा वितरण गरिएको छ । अभियान समापन हुने दिन सबै जनप्रतिनिधिलाई लैङ्गिक हिंसा न्यूनीकरणका लागि आफ्नो वडामा आगामी वर्षभित्र सम्पादन गरिने कार्य र योजना माग गरिने साथै जनप्रतिनिधिहरूबाट सामूहिक प्रतिबद्धता लिने कार्यक्रम तय गरिएको छ ।

मायाकुमारी कार्की

उपप्रमुख, मन्थली नगरपालिका, रामेछाप (बागमती प्रदेश)

Mayakumari Karkee

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा पनि हामीले नगरपालिकाका वडावडामा साक्षरताका कार्यक्रम सञ्चालन गरिरहेका छौँ । यसले नागरिकलाई सचेत बनाउने काम गरेको छ । हामीले यसलाई यही १६ दिन मात्र नभएर वर्षैभर महिला माथि हुने हिंसा विरुद्धका कार्यक्रम र अभियान सञ्चालनका लागि बजेटको व्यवस्था गरिएको छ । साथै, मन्थली नगरपालिकालाई सबैखालका हिंसामुक्त नगरपालिका बनाउने हाम्रो लक्ष छ । तथापि हिंसाका घटना बारम्बार सार्वजनिक हुने गरेका छन् । यसलाई न्युनीकरण गर्नका लागि न्यायिक समितिमार्फत पनि विभिन्न सचेतनाका काम भएका छन् । त्यस्तै पीडितलाई न्याय दिने कुरामा पनि हामी लागि रहेका छौँ । मन्थली नगरपालिका जिल्लाको सदरमुकाम पनि हो । त्यसैले पनि यहाँ गरिने क्रियाकलाप नगरपालिकाको लागि मात्र नभएर जिल्ला भरिकै नागरिकलाई समेट्ने गरी केन्द्रीत हुनु पर्दछ । हामीले सोही अनुसार काम गरिरहेका छौँ ।

यस बाहेक हिंसा पीडितलाई संरक्षणको लागि नगरपालिकाले संरक्षण तथा स्यहारा केन्द्र समेत स्थापना गरी उनीहरूलाई न्यायिक प्रक्रियामा जान समेत सहजिकरण गर्ने गरेको छ । मन्थली नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले पनि लैङ्गिक सचेतिकरणका विभिन्न कार्यक्रम गर्ने गरेको छ । त्यसैगरी प्रहरीसँग मिलेर पनि हामीले विभिन सचेतनाका काम गरेका छौँ । कसैले पनि हिंसा सहेर बस्नु हुँदैन भन्ने हाम्रो मन्यता रहेको छ । त्यसैले नागरिकलाई हिंसा के हो ? कसरी हुन्छ ? हिंसा भयो भने के गर्ने ? कहाँ जाने ? कानुनी उपचार कसरी पाइन्छ भन्ने विषयमा पनि हामीले सचेतिकरण कार्यक्रम गर्ने गरेका छौँ ।

मन्जुदेवी गुरुङ

उपप्रमुख, पोखरा महानगरपालिका, कास्की (गण्डकी प्रदेश)

Manju Devi Gurung Photo

लैङ्गिक हिंसा अन्त्यका लागि १६ दिन मात्रै अभियान गरेर हुँदैन । जबसम्म हिंसाको अन्त्य हुँदैन तबसम्म अभियान जारी राख्नुपर्छ भनी गएको वर्षबाट कार्यक्रम बनाएर लैङ्गिक हिंसाविरुद्ध पुरुषको ऐक्यबद्धता सचेतना कार्यक्रम भनेर सबै (३३ ओटै) वडामा कार्यक्रम सुरू गरेका थियौँ । कोभिड–१९ का कारण सबै वडामा कार्यक्रम गर्न सकेनौँ । पुरुष र महिलाको समान सहभागिता हुनुपर्छ भन्ने हिसाबमा कार्यक्रमलाई यस वर्षपनि निरन्तरता दिएका छौँ । बजेट छुट्याएका छौँ । वडावडाका महिला जनप्रतिनिधिको अग्रसरतामा वर्षभरि नै कार्यक्रम सञ्चालन गरिरहेका छौँ । महिला जनप्रतिनिधिले त्यहाँका स्थानीय संस्थाहरूसँग सहकार्य गरेर आमा समूह, टोल विकाससंस्था लगायतको सहभागितामा सचेतना कार्यक्रम गर्नुहुन्छ । वडाका महिला प्रतिनिधिले माग गर्नुभयो भने उक्त वडामा महिला लक्षित सचेतना कार्यक्रम, उद्यमशिल र अधिकारका बारेमा छलफल गराउने कार्यक्रम गर्दै आएका छौँ । यस्ता कार्यक्रमले लैङ्गिक हिंसाविरुद्धको अभियानमा सहयोग पुर्‍याउने विश्वास लिएका छौँ ।

शिवकुमारी थारु

उपप्रमुख, शिवराज नगरपालिका, कपिलवस्तु (लुम्बिनी प्रदेश)

Shibakumari Tharu

शिवराज नगरपालिकाले लैङ्गिक हिंसा न्यूनीकरणका लागि स्थानीय तहका सम्पुर्ण वडाहरूमा विभिन्न प्रकारका कार्यक्रमहरु सञ्चालन गरेको छ । प्रत्येक वडामा बहस, संवाद, अन्तरक्रिया कार्यक्रम गरिनुका साथै लैङ्गिक हिंसा न्यूनीकरण गर्नका लागि सचेतना मूलक अन्तरक्रिया कार्यक्रम गरिएको छ । स्थानीय रेडियोबाट जिङ्गल प्रशारण गरी स्थानीय नागरिकहरूकलाई सचेत गराउने कार्य समेत गरेको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा मात्रै हामी केन्द्रित छैनौँ । ३ सय ६५ दिनलाई नै स्थानीयतहले अभियानको रुपमा लिएको छ । महिला तथा बालबालिकाहरु १६ दिने अभियानमा मात्र हिंसामा परेका छैनन् । न्यायिक समितिबाहेक हाम्रो स्थानीयतहमा हिंसा पीडीत महिलाहरूका लागि कुनै नीति निर्माण बनेको छैन । लैङ्गिक हिंसा निवारण कोष खडा गरी विपन्न र असक्त पीडितहरूलाई सहयोगका लागि ३ लाख ५० हजार रुपियाँ कोषमा राखिएको छ ।

लैङ्गिक हिंसा न्यूनिकरण गर्नका लागि एक जनाले मात्र अभियान चलाएर मात्र सार्थकता नहुने भएको हुँदा सरोकारवालाहरूको साथ सहयोगको आवश्यकता महत्वपुर्ण देखिन्छ । हाम्रो स्थानीय तहमा सबैको साथ र सहयोग भइरहेको छ । यसरी सबै एकजुट हुन सके न्यूनीकरण गर्न सकिन्छ । बालिका र महिलामाथि भएका बलात्कारका घटनालाई कसैले पनि लुकाएर राख्नु हुँदैन । नगर भित्रका महिला तथा बालबालिकाहरू जुनसुकै हिंसामा परेको भए पनि पीडितले न्याय पाउनु पर्छ । यसमा जनप्रतिनिधि, मानव अधिकारकर्मी, विभिन्न सङ्घसंस्था र सञ्चार माध्यमबाट पीडितको पक्षमा आवाज आउन आवश्यक छ ।

प्रेमकुमारी सुनार केसी

उपप्रमुख, मुसिकोट नगरपालिका, रुकुम पश्चिम (कर्णाली)

Premkumari Sunar KC

सामाजिक लिङ्गभेदको आधारमा गरिने सम्पूर्ण कार्यहरू जस्तैः कुटपिट गर्ने, डर त्रास देखनउने, धम्की दिने, ओहोदाको दुरूपयोग गरी व्यक्तिको व्यक्तिगत तथा सामाजिक जीवनमा आघात पुर्‍याई व्यक्तिको स्वतन्त्रता हनन् गरिन्छ भने त्यो नै लैङ्गिक हिंसा हो । लिङ्ग विशेषको आधारमा गरिने शोषण दमन र दुव्र्यवहार हो । लैङ्गिक हिंसाका रूप विभिन्न देश, समाज र संस्कृति अनुसार फरकफरक रहेका छन् । हाम्रो नगरपालिका पनि यस विषयबाट अछुतो रहन सकेको छैन । बाल विवाह, कथित बोक्सीको आरोप, मदिरा सेवन, समान कामको लागि असमान ज्याला, गरीवी, सूचना प्रविधिको दुरूपयोग, पद र प्रतिष्ठाको दुरूपयोग र पितृसत्तात्मक सामाजिक संरचनाका कारण लैङ्गिक हिंसाका घटनाहरू हुने गरेका छन् । विगत वर्षहरूदेखि नगरपालिकाले लैङ्गिक हिंसा न्यूनीकरणका लागि आवश्यक बजेटको विनियोजन गरी विभिन्न गैर सरकारी संस्थाहरूको साझेदारीमा सचेतनामुलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । जस्तो हिंसामा परेका महिलाहरूलाई तत्काल सुरक्षित बस्नको लागि मुसिकोट नगरपालिका खलङ्गामा रहेको सेफ हाउस सञ्चालनमा आर्थिक सहयोग गरेका छौँ ।

अन्यायमा परेका अति विपन्न महिलालाई न्याय प्राप्तिका लागि आर्थिक सहायता, नगरपालिकाको वडा स्तरमा विद्यालय तथा समुदाय स्तरमा बाल विवाहविरूद्ध सडक नाटक तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेका छौँ । सामाजिक सांस्कृतिक रूपान्तरण अभियानका कार्यक्रम सञ्चालन, महिलाको आय आर्जन तथा क्षमता विकासका लागि विभिन्न सीप विकास तथा क्षमता विकास तालिमहरू सञ्चालन, हिंसा पीडित व्यक्ति तथा अन्य व्यक्तिलाई उजुरी गर्न सहजताका लागि टोल फ्री नं. सञ्चालनमा ल्याएका छौँ । हिंसा रहित समाजको परिकल्पना गर्न हामी कसैलाई हिंसा गर्दैनौँ, गर्न दिदैनौँ भनी घर परिवार, समाज र राज्य पक्षबाट प्रण गरौँ, हिंसा पीडित परिवारको सदस्य नबनौँ र नबनाऔँ जस्ता प्रतिबद्धता सहित लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान, नारी दिवस तथा मानव अधिकार दिवसको अवसर पारेर विभिन्न अभियानहरू सञ्चालन गरी लैङ्गिक हिंसा न्यूनीकरणका कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ ।

रत्ना कडायत

उपप्रमुख, गोदावरी नगरपालिका, कैलाली (सुदूरपश्चिम प्रदेश)

Ratna Kadayat,Godavari Np,Kailali

लैङ्गिक हिंसा न्यूनीकरणका लागि गोदावरी नगरपालिकाको न्यायिक समितिमार्फत गोदावरी नगररपालिकामा रहेका सबै सरोकारवालाहरूसँग “लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता” भन्ने मुल नाराका साथ मनाइरहेका छौँ । लैङ्गिक हिंसा न्युनीकरणका लागि नगरपालिकाले मङ्सिर १७ गते सबै सरोकारवालाहरूसँग संयुक्तरुपमा नगरिकस्तरीय अन्तरक्रिया गर्ने,  प्रत्येक वडाले पालैपालो वडा स्तरीय  जनचेतना  मुलक कार्यक्रमको आयोजना, निर्णय भएकाले सोही अनुसार कार्यक्रम सञ्चालन भइरहेको छ । वडास्तरीय कार्यक्रमपछि प्रत्येक वडाका हिंसा पीडितहरूसँग नगर भेलाको आयोजना गर्नेछौँ । त्यसै भेलामा अतिविपन्न लैङ्गिक हिंसा पीडित महिलाहरूलाई सहयोग तथा हिंसा पीडित बालबालिकाहरुलाई स्टेशनरीका सामग्री र अन्य सहयोगको कार्याक्रम  रहेको छ ।

गोदावरी नगरपालिकालाई लैङ्गिक हिंसामुक्त बनाउने नीति तथा कार्यक्रम रहेकाले लैङ्गिक हिंसा मुक्त नगर बनाउने अभियानको सुरुवात पनि यसै १६ दिने अभियानबाट सुरू गरिसकेको छौँ । आउने  कार्यपालिकाको बैठकमा लैङ्गिक हिंसा विरुद्धको कार्यविधि पास गर्ने तयारीमा छौँ । न्यायिक समितिले  लैङ्गिक हिंसा पीडितहरूलाई स्वरोजगार बनाउनका लागि कार्यक्रम सञ्चालन गरिरहेको छ ।

 (प्रस्तुतीः प्रदेश १–पुण्य अधिकारी, बागमती प्रदेश–नवराज घिमिरे, गण्डकी प्रदेश–सुशन घिमिरे, लुम्बिनी प्रदेश–पार्वती आचार्य, कर्णाली-मनिषा केसी, सुदूरपश्चिम प्रदेश–मैनामोती चौधरी)