जातीय समानताका लागि स्थानीय सरकार सचेतना अभियानमा !

नेपालको संविधानले जातीय विभेदलाई दण्डनीय भनेको छ । दलित भएकै आधारमा विभेद गर्ने गेका घटना समाजमा अहिले पनि छन् । संविधान र कानुनी व्यवस्था अनुसार सबै नागरिकलाई समान व्यवहार गरनुपर्छ । जातका आधारमा कसैलाई पनि विभेद गर्नुहुँदैन । जातीय समानताका लागि तीनै तहका सरकार गम्भीर भएर काम गर्नु आवश्यक छ । स्थानीय सरकारले चाँहि जातीय समानताका लागि के काम गरिरहेका छन् त ? बैतडी र डडेल्धुराका स्थानीय तहका प्रमुखहरूलाई हामीले जातीय विभेद न्यूनीकरणका लागि तपाइँको स्थानीय तहले कस्ता कार्यक्रम अघि सारेको छ भनेर सोधेका थियौँ ।
कर्णसिंह साउद
अध्यक्ष, शिवनाथ गाउँपालिका, बैतडी
वषौँदेखि जातीय उत्पीडनमा परेको दलित समुदायको उत्थान आजको आवश्यकता हो । दलित समुदायलाई गैरदलित समुदायमा सम्मानित रूपमा बस्ने वातावरण हुन पनि आवश्यक छ । शिवनाथ गाउँपालिकाले विगत वर्षदेखि जातीय विभेद न्यूनीकरणका लागि विभन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । मुख्य गरी आर्थिक अवस्था कमजोर भएका कारण दलित समुदायका व्यक्तिहरूले विभेदको सामना गर्नु पर्ने बाध्यता भएकाले गाउँपालिकाले उनिहरूको आर्थिक अवस्था सुधारका कार्यक्रम ल्याएको छ । विगत आर्थिक वर्षहरूजस्तै चालु आर्थिक वर्ष ०७६/०७७ मा पनि शिवनाथ गाउँपालिकाले दलित समुदायलाई लक्षित गरी १० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । गाउँपालिका अन्तर्गतका वडाहरूले पनि प्रति वडा १ लाख ५० हजारदेखि २ लाख रुपियाँसम्म बजेट विनियोजन गरेका छन् । गाउँपालिकामा जातीय विभेद निर्मुल पार्न विभिन्न किसमका सचेतनामुलक कार्यक्रमहरू पनि गरिएका छन् । विभिन्न निर्माणका काममा दलित समुदायका व्यक्तिहरूलाई अगुवा बनाएर काम पनि भइरहेका छन् । उपभोक्ता समिति गठनलागायत अन्य काममा पनि दलित समुदायका व्यक्तिहरूको अनिवार्य सहभागिता गरिएको छ । मुख्य कुरा के भने स्थानीय तहमा दलित–गैर दलित सबै समान हुन् भन्ने उदाहरण स्वरूप गाउँपालिकामा एक जना दलित समुदायका व्यक्तिलाई कार्यालय सहयोगीको रूपमा भर्ना गरिएको छ । पालिकामा भर्ना गरिएका दलित समुदायका व्यक्तिले पकाएको खाना, नास्ता पानीलगायत अन्य खानेकुराहरू सबै कर्मचारी र जनप्रतिनिधिले खाने गरेका छौँ । यसैबाट जातीय विभेद अन्त्यको पहल थालेका हौँ ।
उकेन्द्र बहादुर बोहरा
अध्यक्ष, डिलाशैनी गाउँपालिका, बैतडी
जातीय विभेद न्यूनिकरणका लागि समाजमा भएका दलित र गैर दलित समुदायका व्यक्तिहरूलाई सँगै राखेर कार्यक्रमहरू गर्न आवश्यक छ । एकातर्फी सचेतनाले पनि हामीले खोजेको जस्तो निर्मुलिकरण नहुन सक्छ । डिलाशैनी गाउँपालिकाले जातीय विभेद न्यूनीकरणका लागि विगतदेखि नै विभिन्न कार्यक्रमहरू गरिरहेको छ । सचेतनाका कार्यक्रमहरू विगत वर्षहरूमा पनि गरिएका थिए । गत आर्थिक वर्ष ०७५/०७६ मा पनि दलित समुदायको हौसला वृद्धि गर्नका लागि न्यानो लुगा वितरण गरिएको थियो । हामीले विकासका सबै काममा दलित समुदायका व्यक्तिहरूको सहभागिता अनिवार्य गरेका छौँ । विगतको तुलनामा जातीय विभेद कम पनि भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा पनि दलित समुदायका व्यक्तिहरूको क्षमता अभिवृद्धिका लागि १६ लाख रुपियाँ बजेट विनियोजना गरेको छ । यस वर्ष विषेश गरी जातीय भेदभाव नगर्ने र दलित–गैरदलित समान हुन भनी सार्वजनिक रूपमा स्वीकार गर्ने तथा व्यवहारमा पनि सो कुरा लागु गर्ने व्यक्तिहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । सार्वजनिक रूपमा गरिएको कुनै कार्यक्रममा हामी यस्ता व्यक्तिहरूलाई सम्मान गर्ने छौँ । पालिकाभित्र जातीय विभेदका घटना हुन नदिन पनि काम गर्नेछौँ । सबै व्यक्ति समान हुन् भन्ने कुरालाई आत्मासाथ गर्दै दलित–गैरदलित दुवै समुदायका व्यक्तिहरूलाई एकै ठाउँमा राखेर सचेतनामुलक कार्यक्रम गर्ने हाम्रो योजना छ ।
गोरखबहादुर चन्द
अध्यक्ष, पञ्चेश्वर गाउँपालिका, बैतडी
जातीय विभेद मुख्य गरी गरीबी, शिक्षा र सचेतनासँग जोडिएको छ । दलित समुदायका व्यक्तिहरू शिक्षा, सचेतना र बेरोजगारीको समस्याले उत्पीडनमा परेका हुन् । पञ्चेश्वर गाउँपालिकामा हामी निर्वाचित भएर आएकै वर्ष पहिलो गाउँसभाबाट छुवाछुतरहित गाउँपालिका घोषणका लागि सार्वजनिक महत्वको प्रस्ताव ल्याएका थियौँ । उक्त प्रस्तावले धेरै हदसम्म जातीय विभेद नगर्न प्रेरित गरेको छ । यद्यपी पुर्ण रूपमा जातीय विभेद उन्मुलन भइसकेको अवस्था छैन । हामीले प्रत्येक विद्यालय र सार्वजनिक ठाउँमा सचेतनामुलक पम्प्लेटलगायत सामग्री राखेका छौँ भने विद्यालय र सार्वजनिक ठाउँहरूमा जातीय भेदभाव गर्नु हुदैन भन्ने बारेका सचेतनामुलक कार्यक्रमहरू गरिरहेका छौँ । गएको आर्थिक वर्ष ०७५/०७६ मा पनि दलित समुदायका व्यक्तिहरूको क्षमता अभिवृद्धिका लागि ३५ लाख रुपियाँ बजेट विनियोजन गरेका थियौँ । यस आर्थिक वर्ष ०७६/०७७ मा पनि ४० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । हामीले स्थानीय तह र प्रत्येक वडामा दलित नेटवर्क गठन गर्न लगाएर नेटवर्कमार्फत कार्यक्रम गर्ने गरी तयारी गरिरहेका छौँ । दलित नेटवर्ककै आग्रहमा दलित समुदायको उत्थानका लागि प्रदेश र सङ्घीय सरकारसँग पनि आग्रह गर्ने हाम्रो योजना छ । हामी चाहान्छौँ हामीले पहिलो वर्ष नै परिकल्पना गरेको छुवाछुत मुक्त पञ्चेश्वर साँचिक्कै होस । यदि कसैले जातीय विभेद गरे त्यसलाई सार्वजनिक रूपमा बहिष्कार गर्ने, सेवा सुविधाबाट वञ्चित गर्ने र कानुन अनुसारका अन्य कारवाही गरिने छ । विषेश गरी हामीले दलित समुदायका पाँच जना विद्यार्थीलाई गाउँपालिकाबाट छात्रबृत्ति प्रदान गरी बाहिर पढ्नका लागि पठाएका छौँ ।
विशेश्वर प्रसाद ओझा
मेयर,अमरगढी नगरपालिका, डडेल्धुरा
दलित समुदाय राज्यको समाजिक, आर्थिक र राजनीतिक तवरले सबैखाले अवस्था, व्यवस्था र पहुँचबाट वञ्चित समुदाय हुन् । सांस्कृतिक हिसाबले समेत हेपिएका, दबाइएका वास्तविक श्रमजीवि वर्ग पनि यिनै समुदाय हुन् । दलित भित्रै पनि विभेद र छुवाछुत प्रथा छ । दलित जातीबीचको वैवाहिक सम्बन्ध तथा गैरदलित जातीहरूसँगको वैवाहिकलगायतको सम्बन्धको कुरा त निकै परको विषय हो । यी यस्ता समस्याहरू सामाधानका लागि हामिले समाजमा रहेका बुढापाका, धामीझाँक्री तथा समाजका अगुवाहरूलाई सहभागी गराई विभिन्न किसमका जनचेतनामुलक कार्यक्रमहरूको सञ्चालन गरिरहेका छौँ । पहिलेको भन्दा अहिले जातीय विभेदका घटनाहरूमा केही हदसम्म कमी त आएको छ । यसलाई सधैँका लागि निर्मुल गर्नका लागि हामीले नगरभित्र सञ्चालन भइरहेका विभिन्न सङ्घसंस्थाहरूसँग समन्वय गरी कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ । ग्रामीण भेगहरूमा जातीय विभेदका घटनाहरू बढी हुने भएकाले अहिले नगरपालिकाले प्रत्येक टोलटोलमा जातीय विभेद न्यूनीकरणका लागि कार्यक्रमहरू सञ्चालन गरिरहेका छ ।
कविन्द्र बिष्ट
अध्यक्ष, नवदुर्गा गाउँपालिका, डडेल्धुरा
जातीय विभेदका घटना गैर दलित समुदाय भन्दा पनि दलित समुदायमा बढिरहेको छ । गैर दलित र दलित समुदायहरूमा अहिले धेरै नै परिवर्तन आएको छ । ग्रामीण क्षेत्रहरूमा अहिले पनि अदृश्य रूपमा छुवाछुत भइरहेको छ । गैरदलित समुदाय र दलित समुदाय भन्दा पनि दलित समुदाय भित्र नै विभेदको अवस्था छ । एक दलित अर्को दलित जातिको अस्तित्व नस्विकार्ने कुसंस्कार र संस्कृति छ । यसलाई न्यूनीकरण गर्नका लागि सचेतना फैलाउनु नै उचित जस्तो लाग्छ । हामीले पनि पालिकाका प्रत्येक टोल टोल तथा विद्यालयहरूमा जातीय छुवाछुतसम्बन्धी प्रशिक्षण कार्यक्रमहरूको आयोजना गरिरहेका छौँ । यसका साथै महिला स्वास्थ्य स्वयम्सेविका र आमा समूहहरूबाट पनि विभेद अन्त्यका लागि चेतनामुलक सन्देशका लागि सबै क्षेत्रमा खटाएका छौँ । यसबाट थौरै भएपनि जातीय विभेदका घटनामा कमी आएको छ ।
उमेशप्रसाद भट्ट
अध्यक्ष, अजयमेरू गाउँपालिका, डडेल्धुरा
परम्परागत मुल्य, मान्यता र संस्कारमा देखिएको अन्धविश्वास, विकृति, कुरिति, गलत धारणा र विश्वासका कारणले अझैपनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जातीय विभेद कायमै रहेको छ । सामाजमा विद्यमान रूपमा रहेको विभेद अन्त्यका लागि पालिका भित्र रहेका दलित समुदायको शैक्षिक जागरण र आर्थिक, व्यवसायिक एवम् रोजगारीको अवसरमा पहुँच पु¥याउने उद्देश्यले विभिन्न किसमका सिपमुलक तालिमहरूको आयोजना गरेका छौँ । विद्यालयमा अध्ययनरत दलित समुदायका बालबालिकाहरूलाई स्थानीय तहबाटै शैक्षिक सामग्री उपलब्ध गराएका छौँ । यसका साथै हामिले विभिन्न स्थानहरूमा दलित समुदाय र गैर दलित समुदयका व्यक्तिहरूबीच अन्तक्रिया कार्यक्रमहरूको आयेजना गरेका छौँ । यसबाट पनि केही हदसम्म जातीय विभेद न्यूनीकरणमा टेवा पुगेको छ ।
प्रस्तुतीः नरी बडु/भुपेन्द्र विष्ट
सम्बन्धित जनमतहरु
सत्यको खोजी नगर्दासम्म र दोषीलाई कारवाही नहुञ्जेल न्यायको अनुभूति कसरी गर्ने ?
हेमनाथ पोखरेल, पाल्पा, रैनादेवी गाउँपालिका–२ छहरा गङ्गा माध्यमिक विद्यालय, रैनादेवी पाल्पामा प्रध्यानाध्यापकको रुपमा अध्यापन गर्ने मलाई २०६१ साल माघ १६ गते तत्कालिन विद्रोही नेकपा माओवादी पक्षले घरबाटै अपहरण गरी जङ्गलमा…
पीडितलाई न्याय दिने कुरामा स्थानीय सरकार अग्रपङ्क्तिमा हुनुपर्छ
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ यही नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइरहँदा नेपालमा पनि यो अभियान…
स्वास्थ्य अधिकारको जिम्मा प्रदेश सरकारले लिनु पर्छ
नेपाल सरकारले कहिले कोभिड सङ्क्रमितको उपचारबाट पन्छने त कहिले उपचार गर्ने भनी समयसमयमा फरकफरक निर्णय गर्दै आएको छ । पछिल्लो समय सर्वोच्च अदालतले उपचार गर्नका लागि सरकारलाई बाध्य हुने गरी…
सीमा क्षेत्रका नागरिक सचेत छन्, आउजाउमा प्रतिबन्ध छः जनप्रतिनिधि
विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसको जोखिमलाई कम गर्नका लागि सीमा क्षेत्रका स्थानीय तहहरूले के कस्ता सतर्कता र सुरक्षाहरूको विषयमा के कस्ता कामहरू भइरहेका छन् । जिल्लामा समन्वय र सहकार्यको…
कोरोना भाइरस (कोभिड-१९) - भ्रम र यथार्थ (२४ प्रश्न र तिनका उत्तर)
काठमाडौँ ०७६ चैत ६ गते कोरोना भाइरस सम्बन्धी गलत हल्ला-भ्रमहरूको बारेमा सही जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ नेपाल १. के कोरोना भाइरस (कोभिड–१९) लामखुट्टेको टोकाईबाट…