राजनितिक मुद्दा भन्दा बढि विकासका विषयमा कलम चलाउन आवश्यक : डा. शर्मा

   ०७६ फागुन ५ गते

गण्डकी प्रदेश निति तथा योजना आयोग उपाध्यक्ष डा. गिरधारी शर्माले दिगो विकास लक्ष्य प्राप्तिका लागी सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)र नेपाल पत्रकार महासंघ कास्की शाखाको आयोजना तथा निति तथा योजना आयोग गण्डकी प्रदेश कार्यालयको  समन्वयमा भएको दिगो विकास लक्ष्य र सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै शर्माले राजनितिक मुद्दा भन्दा बढि विकासका विषयमा कलम चलाउन सञ्चारकमीहरुलाई आग्रह गर्नुभयो ।

उहाँले दिगो विकास लक्ष्य प्राप्तिले मानव अधिकारको प्रत्याभूत समेत गराउने बताउनुभयो ।

दिगो विकास लक्ष्य प्राप्तिमा सञ्चारकर्मीको भूमिका बारे कार्यपत्र प्रस्तुत गर्दै उहाँले दिगो विकास लक्ष्य जनताको जीवनमा संरचनागत परिर्वतन गर्न ल्याइएको विकास एजेण्डा रहेकाले यसको स्थानीयकरण गर्न आवश्यक रहेको बताउनुभयो ।

शर्माले सुशासन, शिक्षाको विकासमा समेत लाग्न पत्रकारहरुलाई आग्रह गर्नुभयो । उहाँले दिगो विकास लक्ष्य प्राप्तिका लागी नेपाल सरकारले कुल ४ सय ७९ सुचक तयार गरेकोमा  गण्डकी प्रदेश सरकारले १ सय ३९ सुचकहरुलाई उपयुक्त मान्दै सोही अनुरुप योजनाहरु बनाइरहेको छ । जसमा गरिबी अन्त्यका लागी १४,शून्य भोकमरीका लागी ८,लैङ्गिक समानता १६, गुणस्तरीय शिक्षा १५, स्वास्थ्य तथा कल्याण ८ गरि १७ वटा लक्ष्यका सुचकहरु तोकिएको जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले सरकारले योजनाहरु कागजी रुपमा बनाउने तर पुरा गर्ने बाटोमा हिड्ने काम नगरेका कारण खबरदारी आवश्यक रहेको बताउनुभयो ।

उहाँले दिगो विकास लक्ष्यको सन् २०३० सम्म राज्यलाई विकास र समृद्ध बनाउन पत्रकारहरुको कलम चल्ने विश्वास व्यक्त गर्नुभयो ।

इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले दिगो विकास लक्ष्य प्राप्तिका लागी अबको दश वर्ष नागरिक संघ संस्था, पत्रकारहरुले राज्यलाई सचेत गराउँदै सहयोगी भूमिका खेल्नुपर्नेु भनाइ राख्नुभयो ।

उहाँले गण्डकी प्रदेशका कास्की लगायतका जिल्लाहरुमा समाचार संकलन क्रममा तथा लेखेकै आधारमा पत्रकारहरु माथी राज्य र गैरराज्य पक्षबाट समेत दुव्र्यवहारका घटनाले अझैपनि पत्रकारको सुरक्षा माथी प्रश्न चिन्ह खडा गरेको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ कास्की सल्लाहकार रमेश पौडेलले पत्रकारहरुको अबको ध्यान दिगो विकासका लक्ष्य प्राप्तिमा रहने गरि अगाडी बढ्न आग्रह गर्नुभयो । उहाँले आफ्ना शैली र आचारणमा सुधार ल्याउन समेत पत्रकारहरुलाई सुझाव दिनुभयो ।

photo20200217kaski3

photo20200217kaski4

photo20200217kaski5

photo20200217kaski1

photo20200217kaski2

सुशन घिमिरे