मानव अधिकार मैत्री कानुन निमार्णमा जोड

  ०७७ साउन ११ गते

जिल्लास्थित विभिन्न नागरिक संघसंस्थाका प्रमुख एवम प्रतिनिधिहरुले वीरेन्द्रनगर नगरपालिकाले आगामी दिनमा निमार्ण गर्ने कानुनहरु मानव अधिकार मैत्री हुनुपर्ने कुरामा जोड दिएका छन् ।

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले भर्चुअल मार्फत साउन ९ गते आयोजना गरेको वीरेन्द्रनगर नपाले तयार गर्दै गरेको मानव अधिकार कार्यान्वयन निर्देशिका मस्यौदाका लागि सुझाव संकलन कार्यशालामा सहभागीहरुले सो कुरामा जोड दिएका हुन् ।

सहभागीहरुले कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नपाले भुमिहीन, सुकुम्वासी, धार्मिक अल्पसंख्यक, दलित, जनजाति, पिछडिएको वर्ग, हिंसा पीडित, गरिब किसान, मजदुर, ज्येष्ठ नागरिक, बालबालिका र सबै क्षेत्र तथा वर्गको अधिकार संरक्षित हुने गरी कानुन निमार्ण गर्नु पर्ने सुझाव दिएका थिए ।

कार्यक्रमको उद्देश्य प्रकाश पार्दै इन्सेक प्रदेश संयोजक नारायण सुवेदीले वीरेन्द्रनगर नगरपालिकाको मानवअधिकार सुदृढिकरण गर्न र वीरेन्द्रनगर नपाले आगामी दिनमा निमार्ण गर्ने कानुनहरु मानव अधिकार मैत्री निमार्ण गर्न सहजताका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

मध्यपश्चिमञ्चल विश्वविद्यालयका उप–प्रध्यापक ललितजङ्ग शाहीले वीरेन्द्रनगर नपाले तयार गरेको मानव अधिकार कार्यान्वयन निर्देशिका मस्यौदा प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको सहजिकरण इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका मानव अधिकार अधिकृत सोमप्रसाद चौधरीले गर्नु भएको थियो ।

कार्यक्रममा जिल्लास्थित विभिन्न नागरिक संघसंस्थाका प्रमुख एवम प्रतिनिधि गरी २५ जनाको सहभागिता रहेको थियो ।

दुर्गा थापा