हेल्थपोष्ट र बर्थिङ् सेन्टर स्थापना गर्नुपर्ने माग

  ०७६ जेठ २२ गते

वीरेन्द्रनगर नगरपालिका–१० घुस्रामा हेल्थपोष्ट र बर्थिङ सेन्टर स्थापना गर्नुपर्ने माग गरिएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतद्वारा जेठ २२ गते घुस्रामा आयोजित शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सम्बन्धमा सरकारी प्रावधान विषयक छलफल कार्यक्रममा सहभागी सेवाग्राहीहरूले यस्तो माग गरेका हुन् ।

स्थानीय समुदायको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि जिम्मेवार निकायहरूलाई उत्तरदायी बनाउने पहल कार्यक्रम अन्र्तगत गठित मानव अधिकार निगरानी समूहले स्थानीय स्तरमा पहिचान गरेको प्रदेश राजधानी भित्रकै वडामा हालसम्म हेल्थपोष्ट र बर्थिङ सेन्टर नहुनु दुखद् भएको सहभागीहरूको भनाई थियो ।

वीरेन्द्रनगर नपा–२, १० र ११ का वडाध्यक्ष तथा कृषि, पशु सेवा र स्वास्थ्य कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरूले आआफ्ना कार्यलयहरूबाट गरिएका सेवाप्रवाहको बारेमा जानकारी दिएलगत्तै छलफलमा सहभागी सेवाग्राहीहरूले वास्तविक कृषकहरूको पहिचान गरेर मात्र राज्यले अनुदान दिने व्यवस्था मिलाउनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा वीरेन्द्रनगर नपा–१० का वडाध्यक्ष रत्नबहादुर बुढाले वीरेन्द्रनगर नपा–१० घुस्रामा हेल्थपोष्ट र बर्थिङ सेन्टर स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

तरकारीको लागि पकेट क्षेत्र मानिएको वीरेन्द्रनगर नपा–१० मा तरकारी सङ्कलन केन्द्र रहेपनि यहाँका कृषकहरूले उत्पादन गरेका तरकारी सिधै बजारमा विक्री वितरण हुँदा कृषकहरू मारमा परेकाले तत्काल तरकारी सङ्कलन केन्द्रबाटै विक्री वितरणको व्यवस्था मिलाइने वडाध्यक्ष बुढाले बताए ।

वीरेन्द्रनगर नपा–२ का वडाध्यक्ष बलबहादुर रोकायले कृषि क्षेत्रमा प्राविधिकको अभाव, बजेटको सिमितता र नीति प्रभावकारी नभएकाले कृषकहरू निराशा बन्नुपरेको चर्चा गर्दै यसलाई न्यूनीकरण गर्न प्रतिबद्ध भई लाग्ने बताए ।

वीरेन्द्रनगर नपा–११ का वडाध्यक्ष नन्दलाल शर्माले आफ्नो वडामा देखिएका शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालहरूलाई समाधान गर्ने प्रतिबद्धता जनाए ।

मानव अधिकार निगरानी समूहका अध्यक्ष लक्ष्मी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले स्थानीय स्तरका शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालहरूलाई समाधान गर्न सेवाग्राही र सरोकारवालाहरूकै भूमिका महत्वपूर्ण हुने औँल्याए ।

कार्यक्रममा जनप्रतिनिधि, सेवाप्रदायक निकायहरूका प्रमुख एवम प्रतिनिधि, निगरानी समूहका सदस्य, सेवाग्राही र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

photo20190605surkhet (1)

photo20190605surkhet (2)

photo20190605surkhet (3)

photo20190605surkhet (4)

दुर्गा थापा