स्वास्थ्यको अधिकारका विषयमा सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न

  ०७६ फागुन २१ गते

स्वास्थ्यको अधिकारका विषयमा सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रम फागुन २० गते सम्पन्न भएको छ ।

इन्सकेद्धारा संचालित इएलपी परियोजना अन्तरगत स्वास्थ्यको अधिकार सम्बन्धमा शारदा नपा–२ खलंगामा आयोजित कार्यक्रममा सल्यान जिल्ला अस्पतालका अध्यक्ष दामोदर शर्माले जिल्ला अस्पताल सल्यानमा कर्मचारी अभावका कारण सेवा प्रभावकारी हुन नसकेको बताउनुभयो ।

उहाँले स्थानीय तह मातहत संचालन हुँदासम्म अस्पतालको सेवा प्रभावकारी रुपले संचालन भएको तर हाल प्रदेश सरकार मातहत संचालनमा रहेको यस अस्पतालमा प्रदेशले कुनै सहयोग नगरेको बताउनुभयो ।
कर्मचारी अभावले गुणस्तरीय सेवा प्रदान गर्न नसकेको विषयमा आफूले पटकपटक प्रदेश सरकारलाई जानकारी गराउँदै आएपनि प्रदेश सरकारले नीति नियम बनाउँदै छौं भन्दै टार्दै आएको बताउनुभयो ।

जिल्ला अस्पताल सल्यानका कर्मचारी रिखाराम पुनले सरकारी अस्पतालमा ७० प्रकारको औषधि निशुल्क प्रदान गर्नुपर्ने प्रावधान रहेपनि कतिपय समयमा सबै प्रकारका औषधि सबै स्वास्थ्य संस्थामा उपलब्ध गराउन नसकेको बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयले मात्रै सबै प्रकारका औषधि खरिद गर्ने अधिकार नभएको बताउँदै उहाँले सङ्घ र प्रदेशबाट औषधि खरिद गर्ने रकम समयमा निकासा नहुँदा समेत समयमै औषधि खरिद गर्न नसकेको बताउनुभयो ।

गैसस महासङ्घ सल्यानका अध्यक्ष दिपेन्द्र शाहीले संविधानको धारा ३५ मा स्वास्थ्यको हक अन्तरगत आकस्मिक सेवाबाट वन्चित गरिने छैन भनेर उल्लेख भएकोमात्र नभई सम्पूर्ण स्वास्थ्य सेवाबाट वन्चित गरिने छैन भनेर संविधानमै उल्लेख गर्नुपर्ने बताउनुभयो । ‘आकस्मिक सेवाले गर्दा अति गम्भीर अवस्थाका बिरामीलाई मात्रै जनाउँछ उहाँले भन्नुभयो, त्यसैले आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा संचालन गर्नुपर्छ ।’

शारदा नपा उपाध्यक्ष सावित्रा बस्नेतले लक्षित वर्गहरू अझै पनि सेवाबाट वन्चित भएको बताउनुभयो । उहाँले पहुँचवालाहरूले मात्रै सबै प्रकारका सेवाहरूको प्रयोग गरीरहेको बताउँदै यस्ता घटनाहरूलाई न्यूनीकरण गर्न सबै लाग्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल वार एशोसिएशनका पूर्व अध्यक्ष गिर्दल बोहराले संविधानमा उल्लेख भएको स्वास्थ्यको अधिकार सम्बन्धी व्यवस्था र नीतिको विषयमा अवधारणा–पत्र प्रस्तुत गर्नु भयो । कार्यक्रममा प्रस्तुत भएको कार्यपत्रमा गैसस महासङ्घका अध्यक्ष दिपेन्द्र कुमार शाहीले टिप्पणी गर्नुभएको थियो ।

परियोजनाका सहजकर्ता रामचन्द्र रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा अधिकारकर्मी, स्वास्थ्यकर्मी, संचारकर्मी र सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

20200303_132032 20200303_132225 20200303_135718 20200303_142047

मिना बुढाथोकी