स्याङ्जामा शिक्षाको अधिकार सम्बन्धी शिक्षक, अभिभावक र विद्यार्थीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

  ०७६ फागुन १४ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक),गण्डकी प्रदेश कार्यालयको आयोजनामा कालाभैरव मावि खड्केटारीमा शिक्षाको अधिकार सम्बन्धी शिक्षक, अभिभावक र विद्यार्थी बीचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर २ का वडा अध्यक्ष हिमालयजंग बानियाँले वडामा शिक्षाको अधिकारको लागि भएका निति तथा कार्यक्रमहरुको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले नेपाल सरकारले स्थानीय निकायलाई अधिकार प्रत्यायोजन गरेकोले हाल वडाबाट ४० प्रतिशत शिक्षामा बजेट विनियोजन गरिएको जानकारी गराउनुभयो ।

उहाँले विद्यालयमा अहिले शुद्ध खानेपानी, बत्तीको समस्या रहेकाले यो विषयमा आफूले आवश्यक पहल गर्ने बताउनुभयो । हाल विद्यालयमा साना बालबालिकाहरुको लागि दिवा खाजाको व्यवस्थाको लागि पहल भएको जानकारी दिनुभयो ।

बानियाँले भन्नुभयो–‘नैतिक शिक्षा आवश्यक छ । बिहान १० बजे बाट ४ बजे सम्म बालबालिकाहरु विद्यालयमा रहने भएपनि बाँकी समयमा घरमा रहने भएकोले अभिभावकहरुले पनि यस विषयमा बालबालिकाहरुलाई पढ्ने वातावरण बनाउन आवश्यक छ ।’

विद्यालयका निमित्य प्रधानाध्यापक डि आर कोइरालाले स्याङजा जिल्लाको १ मात्र दृष्टिविहिनको लागि रहेको उक्त विद्यालयमा ७ जना दृष्टिविहिन बालबालिकाहरु पनि अध्ययनरत रहेको र ब्रेल लिपी पढाउने एक सरकारी शिक्षक रहेको बताउनुभयो ।

कार्यक्रममा कक्षा ८ मा अध्ययनरत लक्ष्मी शर्माले विद्यालयमा शैक्षिक सामाग्री र शुद्ध खानेपानी अभाव र विद्यालयलाई अपाङ्गमैत्री बनाउनको लागि सबैले सहयोग गर्नुपर्ने कुरामा जोड दिनुभयो ।यसैगरि कक्षा ७ की भूमिका शर्माले विभिन्न विज्ञान सम्बन्धी ल्याबहरु, अल्पदृष्टिका बालबालिकाहरुको लागि शैक्षिक सामाग्रीहरु र कक्षा १० का विद्यार्थीहरुको लागि होस्टलको व्यवस्था भए राम्रो हुने जानकारी बताउनुभयो ।

विद्यालयका शिक्षक अर्जुन सुवेदीले विद्यार्थीहरुले जीवन र व्यवहारमा एकरुपता कायम गर्न हुनुपर्ने अनुशासनको बारेमा बताउनुभयो । उहाँले विद्यार्थीहरुबाट डेक्स बेन्च राम्रो नभएको, खानेपानी शुद्ध नभएको, विद्यालय वरिपरि जटिल भएका तारबारको कारणले जनावरहरु र अनावश्यक व्यक्तिहरु विद्यालयमा प्रवेश बारे गुनासो गर्ने गरेको बताउनुभयो ।

प्रधानाध्यापक डि.आर. कोइरालाले पहिला आफूले पनि विद्यार्थीहरुलाई पिटेर तह लगाउन सकिन्छ भन्ने मान्यता अनुरुप पिटेको भएपनि अबको अवस्था दण्ड रहित शिक्षा, बालमैत्री विद्यालयको अवधारणा आएकोले दण्ड दिने प्रवृत्ति कम भएको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिको पूर्व अध्यक्ष तारा बहादुर खत्रीले विद्यालय हातामा तारबार नभएको कारणले गर्दा समस्या रहेकोले समुदायसँग सहजीकरण गरेर काम गर्ने बताउनुभयो । उहाँले खोलाबाट सिघैं खानेपानीको मुहान ल्याएकोले पानीमा शुद्धता नरहेको भन्नुभयो । हाल यस विद्यालयमा मोन्टेसरीको अवधारणाबाट कक्षा संचालन भएकोले विद्यार्थीहरुबाट दुई हजार रुपियाँ उठाउने र ५ कक्षा पास गरेपछि अभिभावकहरुलाई त्यो दुई हजार फिर्ता दिने गरिएको जानकारी गराउनुभयो ।

इन्सेकका निमित्त संयोजक सवनम शर्माले इन्सेकद्वारा मानव अधिकार संरक्षण र सम्वर्धनको लागि राज्यको जवाफदेहीता तथा जनताको सहभागिता अभिवृद्धि कार्यक्रम अन्र्तगत यस गाँउपालिकामा आगामी ३ वर्षको लागि कार्यक्रम गरिएको जानकारी गराउद्रै शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार बारेमा कार्यक्रमहरुलाई केन्द्रित गरिएका छन् ।

सोही अनुरुप विद्यालयले दिने छात्रवृद्धि, विद्यालयमा रहेको शौचालय, आकस्मिक स्वास्थ्य सामाग्रीहरु, दण्ड रहित शिक्षा, अन्धविश्वास, कुरिती , बालविवाह, जातिय छुवाछुत, बालबालिकाहरुमा गरिने यौन शोषण र दुर्व्यवहार जस्ता समस्याहरु रहेकोमा हामी सबैले बालबालिकाको सवोत्तम हितको लागि सोचेर निति तथा कार्यक्रमहरु तय गर्नु पर्नेमा जोड दिनुभएको थियो ।

यसैगरि कार्यक्रमको अन्त्यमा मानव अधिकार निगरानी समूहको संयोजक लेखनाथ पराजुलीले इन्सेकले यस विषयमा विभिन्न कामहरु गर्दै आएको र आज शिक्षाको अधिकार अन्र्तगत विद्यालयमा रहेको समस्याहरु केलाउनको लागि कार्यक्रमको आयोजना गरिएको बताउनुभयोे ।

शिक्षक, अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रम मानव अधिकार निगरानी समूह, फेदीखोलाको संयोजक लेखनाथ पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

photo20200227syangja (3)

photo20200227syangja (1)

photo20200227syangja (4)

photo20200227syangja (5)

photo20200227syangja (6)

गण्डकी प्रदेश कार्यालय