स्थानीय सवाल र स्थानीय तहको जबाफदेहिता विषयक कार्यशाला सम्पन्न

  ०७६ भदौ २४ गते

डिसिए परियोजना अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूर पश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा स्थानीय सवाल र स्थानीय तहको जबाफदेहिता विषयक दुई दिने कार्यशाला कैलारी गाँउपालिकामा भदौ २४ गते सम्पन्न भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूर पश्चिम प्रदेश कार्यालयका संयोजक खडकराज जोशीले दुई दिने कार्यशालाको उद्देश्य र पुर्व कार्यक्रमको स्मरण गर्दै स्थानीय तहमा सुशासन सुनिश्चितताको लागि समन्वय र सहकार्य आवश्यक रहेको बताए ।

दुई दिने कार्यशालामा डा. हेमराज पन्तले स्थानीय सुशासन प्रणालीका सैद्धान्तिक पक्षहरू र श्रोत व्यवस्थापन (समुचित प्रयोग, मितव्ययिता, पारदर्शिता र जबाफदेहिता) बारे प्रस्तुतीकरण र छलफल गरेका थिए ।

कैलारी गाँउपालिकाका प्रशासकीय अधिकृत खगेन्द्र जोशीले स्थानीय तहलाई सुशासनमा जिम्मेवार र बलियो बनाउनका लागि महत्वपुर्ण कार्यक्रम रहेको र कार्यालयलाई सुशासनयुक्त पद्धतिमा सञ्चालन गर्न जनप्रतिनिधि र कर्मचारी मिलेर कार्य सम्पादन गर्ने गरेको बताए ।

कैलारी गाँउपालिकाका अध्यक्ष लाजुराम चौधरीले इन्सेकले निरन्तर रूपमा सुशासन, जबाफदेहिता र मितव्ययितालाई प्राथमिकतामा राखेर मानव अधिकारका क्षेत्रमा संवेदनशील रहेर कार्यक्रम सञ्चालन गर्दै अएकोमा इन्सेकलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा सहभागीहरूबीच कार्यालयमा सुशासन कायम गर्नका लागि सुशासनका सबल पक्ष, कमजोर पक्ष, चुनौती र अवसरमा सामूहिक अभ्यास समेत गराइएको थियो ।

1

1

1

मैनामोती चौधरी