स्थानीय उत्पादनलाई बजारीकरण गर्ने नगर प्रमुखको प्रतिबद्धता

  ०७७ कात्तिक २८ गते

गोदावरी नगरपालिकाका स्थानीय किसानले उत्पादन गरेको कृषि सामग्रीलाई बजारमा प्राथमिकताका साथ बजारीकरण गर्न गोदावरी नगरपालिकाका प्रमुख हरीसिंह साउदले प्रतिबद्धता जनाउनु भएको छ ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको सहकार्यमा मानव अधिकार निगरानी समूहले कात्तिक २७ गते आयोजना गरेको खाद्य अधिकारको अवस्था र सरोकारवालाहरूको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा सो प्रतिबद्धता जनाउनु भएको हो ।

उहाँले भन्नुभयो–‘गोदावरी नगपालिकामा भोकमरीको अन्त्यका लागि किसानले परिश्रम गर्न आवश्यक रहेकाले भारत नगइ आफ्नै ठाउँमा मिहेनत गरेर उत्पादन गरे बजारीकरणमा समस्या हुन दिइँदैन ।’

photo20201113kailali (1)

गोदावरी नगरपालिकाको एक वडा एक बाली नामक कार्यक्रम रहेकाले कृषिमा अनुदानका लागि उन्नत जातका बिउ किसानलाई उपलब्ध गराउने नीति तथा कार्यक्रम रहेको कृषि शाखाका प्रमुख बासुदेव भट्टराईले बताउनु भयो ।

अत्तरिया उद्योग वाणिज्य सङ्घका सदस्य दिलिपकुमार साउदले भारतीय खाद्य वस्तुमा रोक लगाई स्थानीय उत्पादनलाई बजारीकरण गर्नमा नगरपालिकाले पहल गर्नुपर्ने बताउनु भयो ।

photo20201113kailali (2)

मानव अधिकार निगरानी समूहका सदस्य रविन बुढाले किसानहरूले समयमा मलबिउ नपाउँदा उत्पादन घट्ने र मलबिउको अभावको अन्त्य हुनु पर्ने बताउनु भयो ।

कृषक सीता रोकायाले माटोको परीक्षण गरी रसायनिक मल भन्दा प्राङ्गारिक मललाई जोड दिनु पर्ने बताउनु भयो ।

मैनामोती चौधरी