सेवा प्रदायक र सेवाग्राहीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

  ०७५ फागुन २७ गते

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,धनगढीको आयोजनामा अजयमेरू गाउँपालिकामा इएलपी परियोजना अन्र्तगत सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया कार्यक्रम फागुन २६ गते सम्पन्न गरिएको छ ।

मानव अधिकार निगरानी समूहका सदस्य, स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधि सहभागी कार्यक्रममा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा बोल्दै मानव अधिकार निगरानी समूह समैजीका अध्यक्ष माधवी भट्टले सरकारले निःशुल्क वितरण गर्दै आइरहेको औषधि समयसमयमा अभाव भइरहेको गुनासो गरिन् ।

कार्यक्रममा निगरानी समूहका सदस्य तारा खड्काले सामुदायिक विद्यालयका शिक्षकहरूले बालबालिकाको पठनपाठनमा कम चासो दिएका कारण निजी विद्यालयहरू फस्टाउँदै गएको बताए ।

उनले गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको स्तरोन्नतिका लागि गाउँपालिकाले आवश्यक कदम चाल्न सुझाव दिए ।

अजयमेरू गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले गाउँपालिकामा आवश्यक पर्ने औषधिहरू खरिद गरी नियमीत रूपमा स्वास्थ्य संस्थाहरूलाई उपलब्ध गराइरहेको बताए ।

उनले गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्यचौकीहरूलाई आवश्यक औषधिका लागि एक महिना पहिला नै जानकारी गराउन निर्देशन दिएको बताए ।

शिक्षाका लागि गाउँपालिकाले प्रत्येक विद्यालयहरूसँग रिक्त रहेका दरबन्दीहरूको माग गरिएको र अर्को आर्थिक वर्षदेखि स्थानीय तहले रिक्त रहेका दरबन्दी अनुसार शिक्षा क्षेत्रमा बजेटको व्यवस्था गर्ने बताउँदै इन्सेकले आम नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा स्थानीय समुदयलाई सचेत पार्दै जिम्मेवमर निकायलाई जबाफदेही बनाउन थालीएको प्रयास महत्वपुर्ण रहेका अध्यक्ष भट्टले बताए ।

कार्यक्रममा इन्सेक प्रदेश कार्यालयका कार्यक्रम संयोजक दिलबहादुर चौधरीले सेवा प्रदायक र सेवाग्राही बिचको अन्तरक्रियाले सेवा प्रवाहमा महत्वपूर्ण भुमिका खेल्ने बताए ।
भुपेन्द्र विष्ट