सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

  ०७५ फागुन २३ गते

इन्सेक गण्डकी प्रदेश कार्यालयको आयोजनामा फागुन २२ गते अन्नपूर्ण गाउँपालिका स्थित ढिकुरपोखरीमा इएलपी परियोजना अन्र्तगत सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मानव अधिकार निगरानी समुहका सदस्य, स्थानीय, जनप्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधि सहभागी कार्यक्रममा स्थानीयहरूले शिक्षा, स्वास्थ्य र कृषिका क्षेत्रसँग सम्बन्धित गुनासो तथा समस्या राखेका थिए ।

स्थानीय मधु सुवेदीले व्यवसायिक खेती गरिएपनि कृषकलाई बजार व्यवस्थापनको समस्या रहेको बताए ।

मानव अधिकार निगरानी समूह सदस्य प्रेम गिरीले निःशुल्क शिक्षा भनिए पनि आधारभूत तहका विद्यालयमा परिक्षा शुल्क लिने गरेको पाइएको गुनासो गरे ।

सिर्जना माध्यामिक विद्यालय बाल अधिकार चेतना समूहकी सचिव सङ्गिता श्रीपालीले विद्यालयमा विज्ञान विषयका लागि अति आवश्यक प्रयोगशाला नभएका कारण विद्यार्थीलाई प्रयोगात्मक ज्ञान नभएको भन्दै सम्बन्धित निकायलाई सोको व्यवस्था गरिदिन आग्रह गरिन् ।

अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले गाउँपालिकाबाट दिने सेवा सुविधा प्रभावकारी बनाउन प्रयास जारी रहेको बताए ।

‘शिक्षा, स्वास्थ्य, कृषि जस्ता महत्वपूर्ण क्षेत्रलाई प्रभावकारी बनाउन एकाईहरू राखिएको छ, कानुन नबनिसकेको अवस्थामा पनि कार्यविधि बनाएरै भएपनि कामहरू गरिराखेका छौँ ।’–पौडेलले भने ।

उनले अघिल्लो वर्ष २ सय ५० टनेल वितरण गरेको भएपनि अनुगमनमा जाँदा सदुपयोग नभएको पाइएको बताए । राज्यले निशुल्क रूपमा बाँड्ने सामग्रीको सदुपयोगका लागि नागरिक आफैँ सचेत बन्नुपर्ने पौडेलको भनाई थियो ।

कृषि एकाई प्रमुख शशिकुमार सिंहले कृषिमा महिला सशक्तिकरणका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको बताउँदै महिलाहरूले व्यवासायिक कृषिमा जोड दिनुपर्ने भनाई राखे । गाउँपालिकाले व्यावसायिक कृषिमा लाग्नेहरूका लागी सहुलियत प्रदान गर्ने सिंहको भनाई थियो ।

गाउँपालिका स्थित शिक्षा एकाई प्रमुख बलराम भुगाईले विद्यालयहरूमा विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याउनका लागि गाउँपालिकाले प्राथमिकताका साथ पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले गाउँपालिका भित्रका विद्यालयहरूमा कम्प्युटर शिक्षालाई पनि व्यवस्थित रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए ।

माछापुच्छ्रे माध्यामिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले छात्राहरूको सहजताको लागि विद्यालयहरूमा गाउँपालिकाले सेनेटरी प्याड वितरण गर्नुपर्ने धारणा राखे ।

स्वास्थ्य एकाई प्रमुख ऋषिराज पौडेलले गाउँपालिकाले गरेको अनुगमनका क्रममा स्वास्थ्य संस्थामा म्याद गुज्रिएका औषधि नदेखिएको बताए ।

उनले विद्यालयहरूमा शिक्षा र स्वास्थ्य एकाइले संयुक्त रूपमा सेनेटरी प्याड वितरणका लागि बजेट विनियोजन गरिसकेको जानकारी दिए ।

मानव अधिकार निगरानी समूहका अध्यक्ष चतुरमान बिकले गाउँपालिकाबाट प्रदान गरिने सेवाहरू प्रभावकारी रूपमा लागु हुनुपर्ने बताए ।

कार्यक्रममा इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले सेवा प्रदायक निकाय र सेवाग्राहीबिचको अन्तरक्रियाले सेवा प्रवाहमा प्रभावकारी र महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरे ।
सुशन घिमिरे