सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया

  ०७४ चैत १९ गते

सेवा प्रदायक र सेवाग्राहीबिच वीरगञ्जमा चैत १९ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार निगरानी समूह पर्सामा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रमको बारेमा बोल्दै इन्सेकका पर्सा प्रतिनीधि के.सी. लामिछानेले राजनीतिक अधिकार प्राप्त भइसकेकोले अब सामाजिक आर्थिक, सांस्कृतिक अधिकारका लागि काम गर्नुपर्ने बेला आइसकेको बताए । राज्यले जनतालाई उपलब्ध गराउँछु भनेको सेवा सुविधा पाएको नपाएको निगरानी गर्ने र सम्बन्धित निकायलाई झक्झक्याउने काम निगरानी समूहले गरिरहेको उनले बताए ।

नेपाल पत्रकार महासङ्घ पर्सा शाखाको सभाहलमा भएको कार्यक्रममा मानव अधिकार निगरानी समूह गादीका अध्यक्ष एवम् वडा अध्यक्ष विजय गैरेले मानव अधिकार निगरानी समूहमार्फत गादीमा शिक्षा, स्वास्थ्य र खाद्यान्नको क्षेत्रमा उल्लेखनीय काम भइरहेको बताए ।

कार्यक्रममा जिल्ला शिक्षा कार्यालय पर्साका स्रोत व्यक्ति नेपालेन्दु साहले शिक्षाको सबै अधिकार स्थानीय तहमा गएको चर्चा गर्दै स्थानीय तहले अहिले सम्म कार्यविधि बनाउन नसकेको बताए । उनले स्थानीय तहले नीति नियम कार्यविधि नबनाएकोले अन्यौलता समेत बढेको उनले बताए । उनले जिल्ला शिक्षा कार्यालय पर्सामा हिजोका दिनमा सम्पादन गर्दै आएको काम अब स्थानीय तहबाट हुने बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख राजकिशोर पण्डितले नयाँ व्यवस्था र संरचना अनुसार नागरिक स्वास्थ्यको क्षेत्रमा स्थानीय तह जिम्मेवार हुनु पर्ने बताए । उनले जनस्वास्थ्यका कर्मचारीहरू सबै स्थानीय तह अन्तर्गत व्यवस्थापन भएको उनले बताए । जनस्वास्थ्यका कर्मचारीहरू स्थानीय तहमा समायोजन भएको समेत उनले बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालय पर्समा माहिला जस्तो कार्यकारी तहमा नरहेको उनले बताए । उनले स्थानीय तहले नै औषधि खरिद गर्न पाउने गरी बजेट निकासा समेत भएको बताए । जिल्ला कृषि विकास कार्यालय पर्साका प्रमुख विरेन्द्र सिन्हाले पनि अहिलेको संरचना अनुसार स्थानीय तहले काम गर्न नसकेको बताए ।

उनले स्थानीय तहले बुझेर पनि बुझ पचाएको हो की भन्ने आशङ्का व्यक्त गर्दै उनले स्थानीय तहबाट प्रभावकारी सेवा पाउन नसकेको मात्र नभइ अन्यौलता बढेको बताए ।

के.सी.लामिछाने