सेवाप्रदायक र सेवाग्राहीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

  ०७५ फागुन २६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ५ कार्यालय नेपालगञ्ज र मानव अधिकार निगरानी समूह बगनासकाली गाउँपालिका–७ खानीगाउँको आयोजनामा फागुन २६ गते खानीगाउँमा इएलपी परियोजना अन्तर्गत सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न सम्पन्न गरिएको छ ।

मानव अधिकार निगरानी समूहका सदस्य, जनप्रतिनिधि, बाल अधिकार चेतना समूहका प्रतिनिधि तथा सेवाप्रदायक निकायका प्रतिनिधि, स्थानीय बासिन्दा तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रममा सहभागीहरूले शिक्षा, स्वास्थ्य र खाद्यअधिकारको सवालमा गुनासो तथा समस्या राखेका थिए ।

कार्यक्रममा गत माघ १८ गतेबाट मानव अधिकार निगरानी समूहको पहल, गाउँपालिकाको स्वास्थ्य शाखा, वडा कार्यालय, स्वास्थ्य चौकी लगायतको सहभागितामा सञ्चालन गरिएको अपाङ्गता भएका, विभिन्न कारणले स्वास्थ्यचौकीसम्म आउन नसक्ने ज्येष्ठ नागरिकहरूका लागि सञ्चालन गरिएको घर घरमा स्वास्थ्य सेवा कार्यक्रमको प्रभावकारिता र आगामी योजनाबारे छलफल गरिएको थियो ।

कार्यक्रममा स्वास्थ्य चौकी खानीगाउँका प्रमुख जीवलाल बस्यालले १ महिनाको अवधिमा झण्डै १ सय ५० ज्येष्ठ नागरिकहरूका लागि घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गरिएको जानकारी गराए । उनले यसरी घरघरमा स्वास्थ्यकर्मी पुग्दा बिरामी भएर थला परि स्वास्थ्य चौकीसम्म आउन नसक्ने नागरिकहरू बढी खुशी भएको उल्लेख गरे ।

सो अवसरमा महिला स्वास्थ्य स्वयम्सेविका कुमारी बुढाथोकी, इन्दिरा भट्टराईले यसरी घरदैलो सेवा प्रदान गर्दा आफूहरू पनि सँगै हिड्न पाएको र समुदायका समस्यामा नजिक हुन पाएको बताए ।

कार्यक्रममा स्थानीय नारायणप्रसाद बस्याल, मानव अधिकार निगरानी समूहका सदस्य पदमराज बस्यालले घरघरमा स्वास्थ्यकर्मी अभियानलाई अझ सफल बनाउने गरि सबैसँग सहकार्य गरेर अगाडि बढ्न सुझाव दिए ।

खानीगाउँका वडा अध्यक्ष गुनबहादुर बुढाथोकीले यसरी घर घरमा स्वास्थ्य सेवा सञ्चालन गर्दा आफूहरू पनि जनताको घर दैलोमा स्वास्थ्यकर्मीसँगै पुगेको र जनताको पिरमर्का नजिकबाट बुझ्न पाएको बताए ।
यज्ञमूर्ति तिमिल्सिना