सुशासन र विकासका लागि साझा मुद्दामा पैरवी गर्ने प्रतिबद्धता

  ०७६ मङ्सिर ९ गते

जिल्लामा क्रियाशील नागरिक समाजका संस्था र सञ्चारकर्मीहरूले सुशासन र विकासका लागि साझा मुद्दामा पैरवी गर्ने प्रतिबद्धता जनाएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ले ओखलढुङ्गामा मङ्सिर ९ गते आयोजना गरेको ‘विकासका लागि नागरिक समाज र सञ्चार जगतबीचको सहकार्य’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले साझा प्रतिबद्धता जनाएका हुन् ।

अन्तरक्रियामा नागरिक समाज र सञ्चार क्षेत्रबीच सहकार्य प्रभावकारी बनाउन निरन्तर छलफल गर्ने र सुशासनका लागि विद्यमान ऐन तथा नीति कार्यान्वयन र आवश्यक नीति निर्माणका लागि संयुक्त रूपमा पैरवी गर्ने निचोड निकालिएको छ ।

छलफल कार्यक्रममा सोच नेपालका जिल्ला परियोजना अधिकृत बोधनारायण श्रेष्ठले स्थानीय सरकारले सुशासन नीति नबनाएकाले आर्थिक अनियमितता बढेको भन्दै नीति बनाउन पैरवी गर्न आवश्यक रहेको बताउनुभयो ।

नागरिकको स्वास्थ्यको अधिकार मौलिक हक भए पनि स्थानीय सरकारले बेवास्ता गर्दै आएको उहाँको भनाइ छ ।

संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका सरिता दाहालले स्थानीय सरकारले लैङ्गिक नीति नबनाएकाले सञ्चार क्षेत्रबाट यस्ता विषयमा समाचार आउनु पर्ने बताउनुभयो ।

नीति बिनै बजेट खर्च गरे पनि लक्षित वर्गमा नपुग्ने र सुशासन कायम नहुने भएकाले नीति आवश्यक रहेको उहाँको धारणा छ ।

सिद्धिचरण नगरपालिकास्तरीय आमा समूह सञ्जालका अध्यक्ष हेमालक्ष्मी राईले स्वास्थ्य क्षेत्रमा स्थानीय सरकारले पुग्ने बजेट बिनियोजन नगर्दा हिंसा पीडित तथा अन्य रोगका कारण पीडित महिलाहरूलाई उपचारका लागि समस्या भएको बताउनुभयो ।

राईले महिलाको पाठेघर खस्ने, मानसिक उपचार तथा हिंसा पीडितको पुनःस्थापना जस्ता विषय स्थानीय सरकारले सम्बोधन नगरेकाले सञ्चार क्षेत्र र नागरिक समाजले सयुंक्त पहल गर्नुपर्ने बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति सुमन राजभण्डारीले सकारात्मक कामका लागि नागरिक समाज र सञ्चार जगतबीच सहकार्य हुन आवश्यक रहेको बताउनुभयो ।

सञ्चार जगतले नकारात्मक मात्र नभई सकारात्मक कुरा बाहिर ल्याए नीतिगत सुधारका लागि थप योगदान हुने उहाँको भनाइ छ ।

ओरेक नेपालका सुशीला परियारले जानकारी अभावका कारण निःशुल्क रूपमा पाउने सेवा पनि नपाएको अवस्था रहेकाले नागरिकले पाउने सेवाका बारेमा प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो–‘कतिपय रोगको उपचारको निःशुल्क हुने भए पनि जानकारी अभावमा उपचारै नगरी बसेको अवस्था रहेको छ । उनीहरूलाई यस्तो सूचना पु¥याउन सञ्चार क्षेत्रको भूमिका प्रभावकारी रहनुपर्छ ।’

सञ्चारकर्मीहरूले नागरिक समाजका सुझावहरूलाई ध्यानमा राखेर आगामी दिनमा कलम चलाउने प्रतिबद्धता जनाएका छन् ।

कान्तिपुर दैनिकका उप–सम्पादक कुम्भराज राईले समाजको हितका लागि आउने सबैखाले सुझावलाई सञ्चारकर्मीले आत्मसात गर्ने बताउनुभयो ।

रेडियो ओखलढुङ्गाका स्टेशन म्यानेजर राज दयालले नागरिक समाजका सुझाव मनन्योग्य भएकाले आगामी दिनमा थप सहकार्य गर्न सहज भएको बताउनुभयो ।

photo20191126okhaldhunga (1)

photo20191126okhaldhunga (2)

photo20191126okhaldhunga (4)

photo20191126okhaldhunga (5)

photo20191126okhaldhunga (6)

photo20191126okhaldhunga (7)

शिवप्रसाद ढुङ्गाना