सार्वजनिक सुनुवाइ सम्पन्न

  ०७६ असार १९ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुर, मानव अधिकार सञ्जाल ललितपुर र कोन्ज्योसोम गाउँपालिका-१, चौघरेको संयुक्त आयोजनामा असार १८ गते कोन्ज्योसोम गाउँपालिका-१, चौघरेमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

भूकम्पपछिको पुनर्निर्माणको सवाल विषयक सार्वजनिक सुनुवाइ कार्यक्रमलाई सम्बोधन गर्दै कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष गोपिलाल सिङ्तानले मोटरबाटो नपुगेका कारण निजी आवास पुनर्निर्माण गर्न नसकेको जबाफ नदिन आग्रह गरेका छन् ।

Photo20190704lalitpur (1)

उनले २०७२ वैशाख १२ गते गएको भूकम्पका पीडितले ५० महिनासम्म बहाना बनाउनाले स्थानीय तहका जनप्रतिनिधिहरूले समेत अरू काममा प्राथमिकता दिन नपाएको दुखेसो गरे ।

अध्यक्ष सिङ्तानले सबै भुकम्पपीडितलाई घर बनाउन आग्रह गर्दै घर बनाइसकेकाहरूले पुरानो घर भत्काएर नयाँ बनेको सुरक्षित घरमा सुधारिएको चुलो प्रयोग गरी शौचालय समेत सही ढङ्गले प्रयोग गर्नु पर्ने खाँचो औँल्याए ।

Photo20190704lalitpur (2)

भूकम्पपछि पानीका मुहान सुक्ने पानीको स्रोत दायाँबायाँ हुनाका कारण खानेपानी समस्या भएको प्रति ध्यानाकर्षण गर्दै एक घर एक मिटर जडित धाराको व्यवस्था गर्ने वचन दिए ।

अध्यक्ष सिङ्तानले पहिलो किस्ता लिनका लागि सम्झौता नगरेका लाभग्राहीलाई असार २१ गतेसम्ममा सम्झौता गरी असार मसान्तसम्म बैङ्कबाट रकम लिइसक्न अनुरोध समेत गरे ।

Photo20190704lalitpur (3)

पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाई, अनुदान तथा व्यवस्थापन, स्थानीय पूर्वाधार (जिमाली) कार्यालय प्रमुख कृष्णलाल पियाले भूकम्प पीडितहरूका घर निर्माणमा प्राविधिक रूपमा सहयोग पुर्‍याउन प्रत्येक वडामा इन्जिनियर र सवइन्जिनियरको व्यवस्था भएको उल्लेख गर्दै उनीहरूले काम गरे नगरेको हाजिरी समेत वडा कार्यालयमा हुने बताए ।

उनले काम नगर्ने प्राविधिकलाई हटाएर तत्काल नयाँ प्राविधिक व्यवस्था गर्ने वचन दिँदै भूकम्प पीडितले सुरक्षित घर बनाएर बस्नु पर्नेमा जोड दिए ।

Photo20190704lalitpur (4)

जिमाली प्रमुख पियाले लाभग्राहीमा नपरेको गुनासो गर्नेहरूको समेत चाँडै समाधान हुने उल्लेख गर्दै जोखिम वर्गको सूची स्थानीय तहले प्राधिकरण पठाएर सहयोग गरिदिन आग्रह समेत गरे ।

जोखिम वर्गमा नाबालक, ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिलाई लिइएको छ भने उनीहरूसँगै परिवारमा १६ देखि ६० वर्षबीचका अरु व्यक्ति नभएमा एक कोठे घर बनाउन सकिने व्यवस्था सरकारले गरेको पियाले बताए ।

Photo20190704lalitpur (5)

पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाई, अनुदान तथा व्यवस्थापन, स्थानीय पूर्वाधार अनुगमन तथा मूल्याङ्कन विशेषज्ञ यमनाथ गिरीले भूकम्पपछि र प्राविधिक गाउँमा नआउँदै बनेका घरलाई एकमुष्ट ३ लाख रुपियाँ अनुदान दिने सरकारले निर्णय गरेकाले केही समस्या हल हुने बताए ।

गिरीले लामो समयसम्म किस्ताको भुक्तानी रोकिएकाले लाभग्राहीलाई केही गाह्रो भएको बताउँदै यसको चाँडै समाधान हुने बताए ।

Photo20190704lalitpur (6)

जिल्ला आयोजना कार्यान्वयन एकाई भवनका इन्जिनियर सुवास शर्माले चौघरेमा ४ सय ३२ जना लाभग्राही रहेकोमा ४ सय १८ जनाले सम्झौता गरी पहिलो किस्ता लिएको तर १४ जनाले अहिलेसम्म पनि सम्झौता नगरेकाले असार २१ भित्र सम्झौता नगरे लाभग्राही सूचीबाट हट्ने जानकारी दिए ।

कार्यक्रममा जिल्ला समन्व समिति सदस्य सुमित्रा लामा (नेपाली)ले साँच्चिकै भूकम्पपीडितको पहिचान गरी उचित सम्बोधन गर्न स्थानीय तह लागि परेको बताइन् ।

Photo20190704lalitpur (7)

उनले आफूहरू निर्वाचित हुनुभन्दा २ वर्षपहिलेदेखिको भूकम्प पीडितको समस्या समाधान हुन नसकेको बताउँदै निष्पक्ष न्यायका लागि स्थानीय तहहरू, वडाअध्यक्षहरू र प्राविधिकहरू निरन्तर सक्रिय भएकोले वास्तविक पीडितले न्याय पाउनेमा विश्वास दिलाइन् ।

कोन्ज्योसोम गाउँपालिका-१ का वडाध्यक्ष सन्तलाल लामाले भूकम्पपीडितका गुनासोका सम्बोधन क्रमश भएको बताउँदै ९४ जनाको गुनासो रहेकोमा उनीहरुको समस्या चाँडै समाधान हुने बताए ।

उनले वडामा ४ सय ३२ जना भूकम्प पीडित रहेकोमा ४ सय १८ जनाले सम्झौता गरी १४ जनाले सम्झौता गर्न बाँकी रहेको बताए ।

Photo20190704lalitpur (8)

उनले ३ सय ४७ जनाले दोस्रो किस्ता लिएको र २ सय ८८ जनाले घर निर्माण सम्पन्न गरिसकेको जानकारी दिए ।

वडाध्यक्ष लामाले पुनर्निर्माणसँग सम्बन्धित समस्या धेरै हल भएको र केही बाँकीको पनि तत्काल समाधान होस् भनी आफूहरू दिनरात नभनी काममा सक्रिय भएको बताए ।

कार्यक्रममा बाटो नपुगेका कारण निर्माण सामग्री लान नसक्दा घर बनाउन नसकेको, दुई ओटा वडामा जग्गा हुँदा घर बनाउने प्रक्रिया पूरा गर्न कठिन भएको, पैसा अभावले छानो छाउन नसकेको, समय समयमा प्राविधिकहरू घरघरमा पुग्न नसकेको, भत्केको घर पनि लाभग्राही सूचीमा पर्न नसकेको, स्थानीय तहको सिफारिस लिएको लामो समयसम्म किस्ता भुक्तानी हुन नसकेकोलगायतका समस्या भूकम्पपीडितले उठाएका थिए ।

स्थानीय बुद्धलाल स्याङ्तानले आफू विदेश गएको समयमा भूकम्पले घर भत्किएको तर २०७६ सालमा घर फर्कँदा अरू लाभग्राही भएपनि आफ्नो परिवारको कोही नभएका कारण गुनासोमा समेत नाम नपरेको दुखेसो गरे ।

सिरुडाँडाका विजय थिङले भूकम्पले आफ्नो घर भत्किएको र प्राविधिक नआउँदै बहिनी र आफूलाई लिएर आमाले मकवानपुर जिल्लामा अर्को विवाह गरी गए पनि आफू १६ वर्षको भएकोले गाउँ फर्कँदा न घर, न भूकम्प पीडितमा नाम दुवै नभएको प्रति दुखेसो गरे ।

दीपकप्रसाद घिमिरे