सार्वजनिक सुनुवाइ सम्पन्न

  ०७६ असार १९ गते

कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्ग खत्रीले बाटोका कारण निर्माण सामग्री लान नसकेर घर बनाउन नपाएकाहरूको लागि नगरपालिकाले सम्बोधन गर्ने बताएका छन् ।

इन्सेक सिन्धुली र जिल्लास्तरीय मानव अधिकार सञ्जाल सिन्धुलीको संयुक्त आयोजनामा असार १८ गते कमलामाई नगरपालिका-१ को मझिनीदमारमा सम्पन्न भूकम्पपछिको पुनर्निर्माणको सवाल विषयक सार्वजनिक सुनुवाइ कार्यक्रमलाई सम्बोधन गर्दै खत्रीले सो कुरा बताएका हुन् ।

photo20190704sindhuli (1)

उनले सबै भुकम्पपीडितलाई घर बनाउन आग्रह गर्दै नगरपालिकाले गर्न मिल्ने सबै सहयोग गर्न नगर तयार रहेको बताए ।

मेयर खत्रीले पहिलो किस्ता लिनका लागि सम्झौता नगरेका लाभग्राहीलाई असार मसान्तसम्म सम्झौता गर्नका लागि अनुरोध समेत गरे ।

कार्यक्रममा भुकम्पपीडितको गुनासोलाई सम्बोधन गर्दै कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटाले साँच्चिकै भुकम्पपीडितको पहिचान गरी उचित सम्बोधन गर्न स्थानीय तह लागि परेको बताइन् ।

photo20190704sindhuli (2)

उनले चार वर्षसम्म भूकम्पपीडितको समस्या समाधान हुन नसकेको बताउँदै निष्पक्ष न्यायका लागि वडाअध्यक्षहरू र प्राविधिकलाई नगरपालिकाले गाउँगाउँमा पुग्न खटाएको र सोही अनुसार काम भइरहेको बताइन् । उपमेयर देवकोटाले वास्तविक पीडितले न्याय पाउनेमा कुनै शङ्का नगर्न समेत आग्रह गरेकी छन् ।

पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वय एकाईका अनुगमन तथा मुल्याङ्कन विज्ञ किरणकुमार महतले भुकम्पपछि र प्राविधिक गाउँमा नआउँदै बनेका घरलाई एकमुष्ट ३ लाख रुपियाँ अनुदान दिने सरकारले निर्णय गरेकाले केही समस्या हल हुने बताए ।

photo20190704sindhuli (3)

महतले लामो समयसम्म किस्ताको भुक्तानी रोकिएकाले लाभग्राहीलाई केही गाह्रो भएको बताउँदै यसको एकहप्ता भित्रै समाधान हुने बताए ।

जिल्ला आयोजना कार्यान्वयन एकाईका सामाजिक विकास विज्ञ तारा लामिछानेले पहिलो किस्ता लिएर घर बनाउन नसक्नेले सहुलियत ऋण लिन सक्ने बताएका छन् ।

१ नम्बर वडाका वडाध्यक्ष महेशकुमार खतिवडाले भूकम्पपीडितका गुनासोका सम्बोधन क्रमश भएको बताउँदै अब १ सय ४ जनाको समस्या समाधान गर्न बाँकी रहेको बताए ।

उनले वडामा ७ सय २१ जनाले सम्झौता गरेकोमा ५ सय ९६ जनाले दोस्रो किस्ता लिएको र ८४ जनाले घर सम्पन्न गरिसकेको बताए ।

वडाध्यक्ष खतिवडाले पुनर्निर्माणसँग सम्बन्धित समस्या धेरै हल भएको र केही बाँकीको पनि तत्काल समाधान गरिने बताए ।

कार्यक्रममा बाटो नपुगेका कारण निर्माण सामग्री लान नसक्दा घर बनाउन नसकेको, सहुलियत ऋण नपाएको, पैसा अभावले छानो छाउन नसकेको, प्राविधिक घर घरमा पुग्न नसकेको, भत्केको घर पनि लाभग्राही सूचीमा पर्न नसकेको, समयमा किस्ता भुक्तानी हुन नसकेको लगाएतका समस्या भुकम्पपीडितले उठाएका थिए ।

बिमला पाण्डे