सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

  ०७६ असार २० गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नुवाकोटको आयोजना र तारकेश्वर गाउँपालिका–५ को सहजीकरणमा असार १९ गते तारकेश्वर गाउँपालिका–५ मानेडाँडामा ‘भूकम्प पछिको पुनर्निर्माणको सवाल’ विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा उपस्थित सहभागीहरूले वडामा रहेका केही वास्तविक भूकम्प पीडितहरू लाभग्राहीको सूचीमा पर्न नसकेको गुनासो गरेका छन् ।

कार्यक्रममा सहभागी सुनिता तामाङले भूकम्पपछि वास्तविक रूपमै छुटेका पीडितहरूले भूकम्पपछिको पुनर्निर्माणको सवाल विषयक सार्वजनिक सुनुवाइमा पटकपटक गुनासो भर्दा पनि लाभग्राहीको सूचीमा नपरेको गुनासो गरिन् ।

वडा अध्यक्ष चुडामणीप्रसाद गजुरेलले वडामा पहिले नै छुटेका ६० जनाको नाम पटकपटक गुनासो भर्दा पनि लाभग्राहीको सूचीमा नपर्दा पीडित भएको बताए ।

गजुरेलले जो साँँच्चै पीडित हुन् उनीहरूको नाम भने पटकपटकको गुनासो पछि पनि नपरेको अवस्था रहेको बताए ।

उनले भने–‘हामीले सिफारिससम्म गर्ने हो । अरू अधिकार छैन । तर, गुनासोको सुनुवाइ नभइरहेको अवस्था छ ।’

अध्यक्ष गजुरेलले गाउँमा पुनर्निर्माणको अवस्था राम्रो रहेको बताउँदै वडा नं. ५ का ८ सय १० जनाको नाम लाभग्राहीमा रहेकोमा अहिलेसम्म ६ सय ६१ जनाको घर पूर्ण रूपमा निर्माण सम्पन्न भई तेस्रो किस्ता समेत लगिसके बताए ।

वडामा एक कोठे घर भने धेरैले बनाएकाले सरकारले दिएको अनुदान र सोच अनुसारका घर बन्न नसकेको अध्यक्ष गजुरेलले बताए ।

सरकारले दिएको थप गुनासो दर्ताको अवधिमा वडाभरिबाट ३ सय ४६ जनाले गुनासो दर्ता गराएको  उनले बताए ।

Photo20190705nuwakot (1)

Photo20190705nuwakot (2)

Photo20190705nuwakot (3)

Photo20190705nuwakot (4)

नवदीप श्रेष्ठ