सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

  ०७६ असार १६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार सञ्जाल ललितपुरको आयोजनामा महाँकाल गाउँपालिका–५, चन्दनपुर, नमनडाँडामा भूकम्पपछिको पुनर्निर्माणको अवस्थाबारे सार्वजनिक सुनुवाइ कार्यक्रम असार १४ गते सम्पन्न भएको छ ।

कार्यक्रममा महाँकाल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले निजी आवास निर्माणमा भूकम्प पीडितहरूको गुनासो अझसम्म पनि रही सर्वेक्षण गरिरहनु दुःखको कुरा भएको बताए ।

उनले भूकम्प प्रभावितले आवास निर्माण गरी पुराना घरका भग्नावशेष अनिवार्य रूपमा भत्काउनु पर्नेमा जोड दिए ।

अध्यक्ष दाहालले भूकम्पले घर भत्किएर बस्ने ठाउँ नहुँदा पुनर्निर्माण प्राधिकरणका इन्जिनियर नआउँदै परम्परागत शैलीमा घर बनाएका लाभग्राहीहरूले पहिलो किस्ता पाए पनि अरू किस्ता रोकिएको प्रति प्राधिकरणको ध्यानाकर्षण गराए ।

२ हजार १ सय ७६ जना लाभग्राही रहेको गाउँपालिकाभरबाट ५ सय ६८ ओटा गुनासोको सुनुवाइ हुन बाँकी रहेको उल्लेख गर्दै उनले पुनर्निर्माण प्राधिरणका प्राविधिकहरूले पहिलो चरणमा सर्वे गर्दा जानकारी दिएको भन्दा पछि अलग परिवार देखाउनेहरूका कारण पनि गुनासो बढेको बताए ।

महाँकाल गाउँपालिका–५ चन्दनपुरका वडा अध्यक्ष खोमप्रसाद दाहालले भूकम्पबाट २ सय ४३ लाभग्राही छनौट भएकोमा १६ जनाको गुनासो सुनुवाइ भई ६६ जनाको गुनासो सुनुवाइ हुन बाँकी रहेको बताए ।

१ सय ११ घरले निर्माण सम्पन्न गरेपनि बाँकी भूकम्प पीडितले घर निर्माण गरी नसक्दा जनप्रतिनिधिहरू चिन्तित भएको बताउँदै अध्यक्ष दाहालले आफ्नो वडामा भूकम्पले घर भत्किएर बस्ने ठाउँ नहुँदा पुनर्निर्माण प्राधिरणका इन्जिनियर नआउँदै परम्परागत शैलीमा घर बनाएका २३ जना लाभग्राहीहरूको अरू किस्ताका लागि पहल भए पनि प्राधिकरणले सुनुवाइ नगरेकोप्रति दुखेसो गरे ।

पुनर्निर्माण प्राधिरणका इन्जिनियर अविनाश अमरले महाँकाल गाउँपालिकाभरी ४८ दशमलब ६ प्रतिशत लाभग्राहीहरूले तेस्रो किस्ता पाएको बताए ।

उनले वडा नं. ५ मा ३७ प्रतिशत मात्र प्रगति भएकोप्रति ध्यानाकर्षण गराउँदै घर निर्माणमा डिपिसी गरेर लामो समयसम्म छोड्नु प्रविधिकरूपमा नराम्रो काम भएको उल्लेख गर्दै सामान ढुवानी गर्न कठिनाइ भएको बहाना हटाउन लाभग्राहीहरूलाई आग्रह गरे ।

अमरले असार २१ गतेसम्ममा पहिलो किस्ता सम्झौता गरी असार मसान्तभित्र भुक्तानी नलिने लाभग्राहीहरू सूचीबाट हट्ने समेत जानकारी गराए ।

स्थानीय पूर्णमाया वाईवाले भूकम्प पीडित लाभग्राहीमा नाम समावेश भएको तर बस्ने ठाउँ नभएका कारण पुनर्निर्माण प्राधिकरणका इन्जिनियर नआउँदै घर बनाएकोले दोस्रो किस्ता नपाएको गुनासो गर्दै आफू जस्ता वास्तविक पीडितले समयमै काम गरेपनि हालसम्म रकम भुक्तानी नपाउँदा मर्कामा परेको गुनासो गरिन् ।

सेतीभीरका चन्द्रलाल गोलेले परम्परागत शैलीलाई बदलेर काठको नस राखेर बनाएको घरको पनि दोस्रो किस्ता नपाएको गुनासो गरे ।

स्थानीय चन्द्रबहादुर थोकरले आफू बसिरहेको घर भत्किएको ठाउँ अर्कै व्यक्तिको नाममा रहेको र आफ्नै नाममा रहेको जग्गा पनि भिरालो भएकोले घर बनाउन योग्य ठाउँको व्यवस्थापन गरिदिन आग्रह गरे ।

सरितामाया गोलेले साविक चन्दनपुर गाविसमा सेतीभिर, पँधेराडाँडा, ज्यामिरे, भस्गाउँलगायतका ठाउँको बस्ती ०४५ साल र ०७२ सालको भूकम्पले पूर्ण क्षति हुँदा पनि ती बस्ती अन्यत्र सार्नेतर्फ पुनर्निर्माण प्राधिकरणका प्राविधिकले ध्यान नदिएको गुनासो गरिन् ।

स्थानीय झञ्जनारायण दाहालले डिपीसी गरेर दोस्रो किस्ता लिएको उल्लेख गर्दै सदरमुकामबाट ६५ किमी दुर्गममा निर्माण सामाग्री ल्याउन नै कठिनाइ भएको बताए ।

हरिप्रसाद दाहालले स्थानीयको मर्का र पुनर्निर्माण प्राधिरणका इन्जिनियरहरू समय समयमा परिवर्तन हुँदा लाभग्राहीलाई परेको अप्ठेरोलाई सार्वजनिक सुनुवाइको माध्यमबाट समस्या समाधान गरेको बताए ।

Photo20190701lalitpur

दीपकप्रसाद घिमिरे