सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

  रामकुमारी श्रेष्ठ

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले फागुन २४ गते ललितपुरको महालक्ष्मी नगरपालकास्थित लामाटारमा जिल्ला विकास समिति ललितपुरसँगको सहकार्यमा भूकम्प पीडितहरूको अवस्था र पुनर्निर्माण विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।

भत्किएका घर पुनर्निर्माण गर्न नक्साको डिजाइनको अभाव भएको, खानेपानी, ढल, बिजुली, सडक जस्ता विकास निमार्ण कार्यले गर्दा पीडित, झन पीडामा परेको, राहत मुख्य पीडित सम्म पुग्न नसकेको, भूकम्पबाट जग्गाको नापी नक्सा नहुँदा सरकारी अनुदानबाट वञ्चित हुनु परेको, सरकारले दिने भनेको अनुदानमा ढिलासुस्ती भएको, सरकारले खटाएको प्राविधिकहरू पीडितमैत्री र पारदर्शी नभएको लगायतका विषयमा कार्यक्रमका सहभागीहरूले गुनासो गरेका थिए ।

कार्यक्रमका प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले वडाबासीका समस्या समेट्दै प्लटिङ, अतिक्रमित भूमि जोगाइराख्न नागरिक समाज आफैँ सचेत र सजग बन्नु पर्ने बताउँदै सडक, बिजुली, पानी, ढल, रूख जस्ता भौतिक पूर्वाधारले निम्त्याएको समस्या समाधान गर्न वडाबासीको सल्लाह अनुरूप समाधानमा लाग्ने बताए ।

भूकम्पले धेरै नेपालीको उठीबास भएकाले पुनार्बासको लागि सरकारको केन्द्रदेखि स्थानीय निकायसम्म समन्वय गरी अघि बढ्ने र लगत सङ्कलनमा नाम छुटेकाको लगत सङ्कलन गर्न केन्द्रदेखि नै टोली खटिसकेको जानकारी दिँदै गुनासोहरूलाई सम्बन्धित निकायसम्म पुर्‍याई समस्या समाधानका लागि अफूले सिफारिस गरीसकेकोले छिट्टै सही परिणाम आउने उनले बताए ।

कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण कार्यालय ललितपुर शाखा प्रमुख गोमा ढकालले प्राप्त जिज्ञासाबारे बोल्दै ६ हजार ८ सय ८८ गूनासाहरू भूकम्पसम्बन्धी आएकोमा धेरैजसोको समाधानतिर गइरहेको बताइन् ।

६ सय जनाको अनुदान सम्झौता भएकोमा ६ सय ६० जनाको पारित भइसकेको, दुई घर भएकाको हकमा भने यो सम्झौता लागु नहूने स्पष्ट पार्दै सर्वेक्षण छुटेको स्थान, क्षेत्रमा पुनःसर्वेक्षण हुने उनले बताइन् ।

लालपुर्जा नभएकाको हकमा भने सम्बन्धित वडा कार्यलयमा सरजमिनद्वारा प्रमाणित गरी पहिलो किस्ता लिन पाइने र दोस्रो किस्ताको लागि प्रविधिकले नक्सामा सहमति दिएपछि वा प्राविधिकले डिजाइन गरेको नक्सा अनुरूप घर पुनर्निर्माण गर्नुपर्ने बताइन् ।