सार्वजनिक सुनुवाइमा सेवाको गुणस्तर सुधार गर्ने सिद्धिचरण नगरपालिकाको प्रतिबद्धता

  ०७४ माघ १८ गते

सिद्धिचरण नपा-४ रूम्जाटारमा नगरपालिकाले प्रवाह गरेको सेवा र पुनः निर्माणको अवस्था विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न माघ १७ गते भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सिद्धिचरण नगरपालिकासँगको सहकार्यमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिकाले सुशासन, पारदर्शिता र जबाफदेहिता अभिबृद्धि गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको हो । सार्वजनिक सुनुवाइमा उठेका विभिन्न सवालहरूको सम्बोधनपछि नगरपालिकाले विभिन्न १२ बुँदे प्रतिबद्धता जनाएको छ ।

photo20180201okhaldhunga (1)

नगरपालिकाले विकास निर्माणलाई प्रभावकारी बनाउन चालु आर्थिक वर्षा विकासका योजनाहरू फागुन मसान्तभित्र सम्पन्न गर्ने, सबै वडा कार्यलयहरूमा इन्टरनेट सेवा जडान गर्ने, पेश्की र बेरूजु शून्य बनाउने, एकीकृत सम्पति कर व्यवस्थित बनाउने प्रतिबद्धता जनाएको छ ।

त्यस्तै, नगरपालिकाले फोटोसहितको सामाजिक सुरक्षा भत्ताको अभिलेख राख्ने, स्वास्थ्य र शिक्षाको गुणस्तरीयता कायम गर्ने, रूम्जाटार विमानस्थलमा उडान नियमित गर्न पहल गर्ने, भूकम्प पीडितहरूले अनुदान प्राप्त गर्न भएका कठिनाइ समाधान गरी अनुदान सहजताका साथ उपलब्ध गराउने, निर्माण सम्पन्न भई अनुदान नपाएका घरहरूको सुधार गरी अनुदान उपलब्ध गराउन पहल गर्ने र इलेक्ट्रोनिक वडा पत्र राख्ने प्रतिबद्धता जनाएको हो ।

photo20180201okhaldhunga (2)

सार्वजनिक सुनुवाइ कार्यक्रममा सेवाग्राहीहरूको सवाल सम्बोधन गर्दै सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै सिद्धिचरण नगरपालिकालाई समृद्ध र विकसित बनाउने काममा आफू प्रतिबद्ध भएर लाग्ने बताए ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख जवाफदेही वक्ताको रूपमा बोल्दै सङ्घीय व्यवस्थापिका संसद यज्ञराज सुनुवारले सुशासनयुक्त र भ्रष्टाचारमुक्त जिल्ला बनाउन आफ्नो पहिलो प्रतिबद्धता भएको बताए । प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले भ्रष्टाचार विरूद्ध प्रशासनले शून्य सहनशीलता अपनाउने बताए ।

photo20180201okhaldhunga (3)

राष्ट्रिय पुनः निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका प्रमुख युवराज खरेलले लाभग्राहीहरूका समस्या समाधान गर्न कार्यालयले स्थलगत रूपमै अध्ययन गरेर काम गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा सहभागीहरूले विकास निर्माण र सेवा प्रवाहका विषयमा प्रश्न राखेका थिए । सिद्धिचरण नगरपालिकाका विषयगत कार्यालय, स्वास्थ्य, शिक्षा र पुनः निर्माण प्रधिकरण जिल्ला समन्वय समितिको सचिवालयका अधिकारीहरूले सहभागीको प्रश्नको जवाफ दिएका थिए । कार्यक्रमको प्रत्यक्ष प्रशारण ओखलढुङ्गाको भिजन एफएम ९०.५ मेगाहर्जबाट गरिएको  थियो ।

शिवप्रसाद ढुङ्गाना