सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न

  ०७६ जेठ ३० गते

मन्थली नगरपालिका–१३ फुलासीले यस वर्ष वडामा सञ्चालित योजनाहरूको ८० प्रतिशतभन्दा बढी काम सम्पन्न गरेको छ ।

वडा कार्यालयको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार सचेतना तथा विकास केन्द्र हुराडेक नेपाल दोलखाको सहजिकरणमा जेठ २९ गते गरिएको सार्वजनिक सेवाको प्रभाकारिता विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा उक्त कुराको जानकारी गराइएको हो ।

कार्यक्रममा वडा सचिव कुलविक्रम श्रेष्ठले यस अवधिमा ५९ हजार ५ सय रुपियाँ राजश्व सङ्कलन भएको र भूकम्पपछिको पुनर्निर्माणमा निजी आवास निर्माणतर्फ ७ सय २८ घरधुरीमध्ये ६ सय ७१ घर निर्माण सम्पन्न भएको तथा २५ घरको प्रवलिकरणको काम सम्पन्न भएको जानकारी दिए ।

वडा कार्यालयले सम्पादन गरेको कामको बारेमा जानकारी गराउँदै यस वर्ष नगरपालिकाका २६ ओटा, प्रदेश सरकारका तीन ओटा र केन्द्र सरकारका एउटा योजना वडामा सञ्चालनमा रहेको बताउँदै  माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका चार ओटा योजना पनि सञ्चालनमा रहेको र ती मध्ये ८० प्रतिशत भन्दा बढी काम सम्पन्न भएको श्रेष्ठले जानकारी दिए ।

दैनिक सेवा प्रवाहतर्फ ९ सय २४ ओटा सिफारिस तथा १ सय ७३ ओटा पञ्जिकरणको काम पनि भएको भन्दै १ सय ३६ जनालाई सामाजिक सुरक्षाभत्ता वितरण गरिएको र ५ ओटा विवादहरू मिलाइएको पनि उनले जानकारी गराए ।

कार्यक्रमका सहभागिहरूले निर्माणाधीन देवीटार फुलासी सडक गुणस्तरीय बनाउनु पर्ने, शिक्षाको क्षेत्रमा सुधार गर्नु पर्ने तथा खानेपानीको सङ्कट समाधानको लागि काम गर्नुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा सहभागिको प्रश्नको जबाफ दिँदै वडाअध्यक्ष राजेन्द्र चौहानले नागरिकबाट आएका सुझाव र गुनासोलाई सम्बोधन गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा सडक निर्माणको काममा गुणस्तरीयता प्रदान गर्ने, वडामा रहेका सामुदायिक विद्यालयको शैक्षिक व्यवस्थापन प्रभाकारी बनाउँदै भौतिक निर्माणको काम निर्धारित समयमा समापन गर्ने गरी काम गर्ने र जीवनसँग जोडिएको खानेपानी तथा सरसफाईको कार्यक्रम सञ्चालन गर्ने तीन बुँदे प्रतिबद्धता जारी गरिएको छ ।

photo2019-6-13 Ramechhap (1)

photo2019-6-13 Ramechhap (2)

photo2019-6-13 Ramechhap (3)

नवराज पथिक