सामाजिक संस्थाहरू पारदर्शी हुन आन्तरिक सुशासन कायम गर्नु पर्नेमा जोड

  ०७४ भदौ १२ गते

जिल्लामा क्रियाशील सामाजिक संस्थाहरू पारदर्शी र उत्तरदायी हुन आन्तरिक सुशासन कायम गर्न लागि पर्नुपर्नेमा नागरिक समाजका अगुवाहरूले जोड दिएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा जिल्ला सदरमुकाम धादिङबेसीमा भदौ १२ गते आयोजित सामाजिक संस्थाहरूको स्वनियमन र आन्तरिक सुशासनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा नागरिक अगुवाहरूले सामाजिक संस्थाहरूको सुशासनमा जोड दिएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले नागरिक समाजले बोलेको कुरा पूरा गर्न आग्रह गरे । सामाजिक संस्थाहरूको कार्यक्रमले सचेतना गराएको उनले बताए । आगामी दिनमा सुशासनका लागि कार्य गर्न आग्रह गर्दै जिल्ला समन्वय समिति यसका लागि सधैँ साथ रहने उनले बताए ।

कार्यक्रममा सामाजिक जबाफदेहिताको विषयमा अधिकारकर्मी रमेश अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै सामाजिक संस्थाहरू जबाफदेही भएर मात्र सुशासन कायम गर्न सकिने र संस्थाहरूले आन्तरिक सुशासनको लागि आफैँले कार्य गर्नु पर्नेमा जोड दिए ।

सामाजिक जबाफदेहिताका लागि सहभागितामूलक योजना तथा बजेट तर्जूमा, सार्वजनिक बजेट पछ्याउने र सहभागितामूलक कार्यसम्पादन अनुगमन प्रणाली कायम गरेर कार्य गर्न सकिने विषयमा अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै सो कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा गैरसरकारी संस्था महासङ्घका अध्यक्ष दामोदर अर्यालले सामाजिक संस्थाहरूको स्वनियमन र आन्तरिक सुशासन संस्थाहरू भित्रको पाटो भएकोले काम गरेर देखाउनु पर्ने बताए ।

नेपाल मानव अधिकार सङ्गठनका केन्द्रीय सदस्य कृष्णप्रसाद दहालले जापान र चिनको जस्तो विकास गर्न हामीले पारदर्शीता र उत्तरदायित्वलाई अँगाल्नु पर्ने बताए ।

सीताराम अधिकारी