सामाजिक चेतनाको अभिबृद्धिले मानव अधिकारको प्राप्तिः क्षेत्रिय प्रशासक पाण्डे

  ०७३ असार २२ गते

समाजमा फरकफरक बुझाई भएका नागरिक हुने भएकाले सामाजिक चेतनाको विकासले मात्रै मानव अधिकारको प्रत्याभूती दिलाउन सजिलो हुने सुदूरपश्चिम क्षेत्रिय प्रशासन कार्यालय दिपायलका क्षेत्रीय प्रशासक लोकहरी पाण्डेले बताएका छन् ।

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय धनगढीद्धारा असार २२ गते सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायलमा आयोजना गरिएको शिक्षा, स्वास्थ्य र खाद्य अधिकार विषयक क्षेत्रीय स्तरको अन्तरक्रिया कार्यक्रममा क्षेत्रीय प्रशासक पाण्डेले यस्तो कुरा बताएका हुन् ।

 

Photo20160706Doti

 

कार्यक्रममा सेवाग्राहीले गाविस र जिल्ला हुँदै समाधान हुन नसकेका विभिन्न सवालहरू समेत राखेर सेवा प्रदायक निकाबाट जवाफ मागेका थिए ।

 

कार्यक्रममा कृषि क्षेत्रका थुप्रै समस्याहरू भएपनि वर्तमान सरकारले कृषि क्षेत्रलाई टेवा पुर्‍याउने हिसावले ल्याएको नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न सकिएमा किसानका समस्याहरू समाधान हुने सुदूरपश्चिम क्षेत्रीय कृषि निर्देशनालयका निर्देशक शरदचन्द्र श्रेष्ठले बताए ।

 

स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव प्रमुख समस्या रहेको र सुदूरपश्चिम क्षेत्रमा डक्टरहरू आउन र बस्न नमान्ने भएका कारण पनि झन् बढी समस्या रहेको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलका सुपरभाइजर दिपक अछामीले बताए ।

 

शिक्षाको गुणस्तर सुधारका लागि शिक्षकहरू राजनीतिबाट मुक्त हुनु पर्ने र त्यो गर्न राजनीतिक दलहरू नै जिम्मेवार भएर लाग्नु पर्ने सुझाव सुदूरपश्चिम क्षेत्रीय शिक्षा निर्देशनालयका प्रतिनिधिले औंल्याए ।