सामाजिक अपराधका घटना बढ्योः इन्सेक

  ०७६ असार १५ गते

दार्चुलामा पछिल्लो समय सामाजिक अपराधका घटना बढेको इन्सेकले जनाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आइतबार नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०२० को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गर्दै जिल्लामा सामाजिक अपराधका घटना बढेको जनाएको हो ।
जनवरीदेखि जुनसम्म जिल्लामा सङ्कलन गरिएका घटनाहरू सार्वजनिक गर्दै इन्सेक जिल्ला प्रतिनिधि नरेन्द्रसिंह कार्कीले जिल्लामा गत वर्षको तुलनामा यो ६ महिनामै सामाजिक अपराधका घटना बढेको बताए । ‘यो वर्ष गम्भीर अपराधका घटना घटेका छन् ।’–उनले भने–‘यसको लागि राज्य जिम्मेवार बन्नुपर्छ ।’
जनवरीदेखि हालसम्म बलात्कारका तीन ओटा, घरेलु हिंसाका २८ ओटा, हत्याका चार ओटा, बाल अधिकार अन्तर्गत भौतिक पूर्वाधार भत्कँदा चार जना, यार्सागुम्बा सङ्कलनको क्रममा एक जनाको ज्यान गएको तथ्याङ्क छ । यार्सा सङ्कलनको क्रममा १६ वर्ष मुनिका बालबालिका जान नपाउने कानुनी व्यवस्था हुँदाहुँदै पनि यार्सा सङ्कलनमा उनीहरूको प्रयोग हुने गरेको छ ।
जिल्लामा यो ६ महिनाको अवधिमा ११ महिने दुधे बालकको आगो लगाएर हत्यादेखि ७५ वर्षीय बृद्ध दम्पतीको समेत हत्या भयो ।
जिल्ला अदालत दार्चुलाका न्यायाधिश गिरीराज गौतमले अहिलेको अवस्थामा यो वर्ष अझै अपराधका घटनाहरू बढी हुनसक्ने बताए ।
‘जिल्ला अदालतमै कहिल्यै १ सय मुद्दा पुगेका रेकर्ड थिएन ।’–उनले भने–‘यो वर्ष १ सय भन्दा बढी मुद्दा अहिलेसम्म अभिलेख भएको छ ।’
जिल्लाका न्यायिक समितिले अपेक्षाअनुसार काम नगरेको भन्दै उनले कानुनी ज्ञान अभाव र जनशक्तिसमेत बाधक बनेको बताए ।
उनले भने–‘इन्सेकले राज्यको नजरमा नपुगेका घटनाहरू सार्वजनिक गर्नुपर्छ । कयौँ घटनाहरू गाउँमा छन् । अपराधहरू लुकाइएका छन् । तर पनि भयका कारण बाहिर आउँदैनन् ।’
प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले मानव अधिकारको संरक्षणको लागि राज्य जिम्मेवार रहेको भन्दै जिल्लामा देखिएका गम्भीर अपराधका घटनामा प्रहरीले अनुसन्धान गरिरहेको बताए ।
‘अपराधमुक्त समाज निर्माणको लागि सबैको सहकार्यको अपेक्षा गरेका छौँ ।’–उनले भने–‘एकल प्रयासमा कुनै काम सम्भव हुँदैन । सहयोग र सहकार्य आवश्यक छ ।’
पछिल्लो समय नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले समयसमयमा बन्द हड्ताल गर्दा आम नागरिकदेखि विद्यार्थीहरू बढी मर्कामा परेको भन्दै यसको विकल्प खोज्नुपर्ने सहभागीहरूले बताएका छन् ।

photo20190630darchula (1)

photo20190630darchula (2)

photo20190630darchula (3)

photo20190630darchula (4)

photo20190630darchula (5)

photo20190630darchula (6)

photo20190630darchula (7)

नरेन्द्रसिंह कार्की