सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

  ०७५ जेठ २० गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जिल्ला स्तरीय सरोकारवालाहरूसँगको अन्तरक्रिया कार्यक्रम सिरहामा जेठ १९ गते समपन्न गरेको छ ।

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत सञ्चालन भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति रामचन्द्र ठाकुरले इन्सेकले सञ्चालन गरेको कार्यक्रमबाट समुदायले लाभ लिएको र उठान गरेका समस्याहरू जायज रहेको बताए । समस्याहरू अब स्थानीय तहले नै समाधान गर्ने भएकोले नीति नियमहरू तयार गरेर समाधान गर्न स्थानीय सरकारलाई सुझाव दिए ।

त्यसैगरी लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष रामवल्लभ साहले निगरानी समूहले उठाएका समस्याहरू केही समाधान भइसकेका र केही समाधान गर्ने तयारी भइरहेको बताए । कार्यक्रममा जिल्ला समन्वय समितिका अधिकृत सुल्तान राहीले पटकपटक एउटै समस्याहरू मात्रै नल्याएर कति समाधान भए र कति बाँकि छन् ?, सरोकारवालाले कस्तो भूमिका प्रदान गरिरहेका छन् ? सुझाव सहित प्रतिवेदन पेश गर्न आग्रह गरे ।

त्यसैगरी लक्ष्मीपुर पतारी गाउँपालिकाका प्रशासकीय अधिकृत रविन्द्रकुमार महतले इन्सेकले उठाएका सवालहरूप्रति गाउँपालिका सजग भएको र समाधान गर्नका लागि शिक्षा, स्वास्थ्य र कृषिमा बजेटहरू पनि छुट्याइसकेकाले चाँडै समाधान हुने बताए ।

जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत सरोजकुमार कर्णले इन्सेकले उठाएको स्वास्थ्यको समस्या प्रदेश २ कै समस्या हो र अब स्थानीय सरकारले जिम्मेवारी लिएर समाधान गर्नुपर्ने बताए ।

कार्यक्रममा इन्सेक विराटनगर कार्यालयकी परियोजना संयोजक बागमती कट्टेलले तीन वर्षीय परियोजनामार्फत मानव अधिकारका सवालहरूलाई परिपूर्ति गर्ने र कार्यक्षेत्रमा रहेका शिक्षा, स्वास्थ्य र कृषिका सवालहरूलाई निगरानी समूहमार्फत सरोकारवालाहरूको ध्यानाकर्षण गराई समाधान गराउन पहल गर्ने बताइन् ।

दुर्गा परियार