सरकारी विद्यालयको शिक्षामा सुधार ल्याउन स्थानीय सरकार लाग्नुपर्छः सरोकारवाला

  ०७६ पुस २९ गते

सरकारी विद्यालयको शिक्षामा सुधार ल्याउन स्थानीय सरकारको भुमिका महत्वपुर्ण हुनु पर्ने सल्यानमा आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् ।

इन्सेकले सञ्चालन गरेको इएलपी परियोजना अन्तर्गत बनगाड कुपिण्डे नगरपालिकामा पुस २८ गते गरिएको अन्तरक्रियामा सहभागीहरूले यस्तो कुरामा जोड दिएका हुन् ।

शिक्षाको अधिकारसम्बन्धी शिक्षक, विद्यार्थी र अभिभावकसँग गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै विद्यार्थी शुसान्त केसीले विद्यालयमा स्वच्छ खानेपानी, शौचालय र भवनको अभावका कारण विद्यार्थीलाई समस्या हुने गरेको बताउनुभयो ।

यस्तै विद्यालयमा शिक्षकहरू अनियमित आउने र कहिलेकाँही मदिरा सेवन गरेर समेत आउने भएकाले यस्ता विषयमा सरोकारवालाहरूको ध्यानााकर्षण हुनुपर्ने उहाँले बताउनुभयो ।  यस्ता विषयमा स्थानीय सरकारले समेत समस्या पहिचान गरी पहल गर्नुपर्ने उहाँको जोड छ ।

अभिभावक निमप्रसाद बुढाले सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरू पनि जिम्मेवार भएको बताउनुभयो ।

उहाँले सरकारी जागिर भनेर तलब पाइहाल्ने भन्दा पनि शिक्षालाई गुणस्तर बनाउन शिक्षकहरू आफैँ अग्रसर हुन आवश्यक रहेको बताउनुभयो ।

भौतिक सामग्रीको अभाव र शिक्षक दरबन्दीका विषयमा भने स्थानीय सरकार र जिम्मेवार निकायले ठोस कदम चाल्नुपर्ने उहाँले बताउनुभयो ।

प्रभाकर माविका प्रधानाध्यापक शिखर यरीले शिक्षक अभाव भएका विद्यालयमा स्थानीय सरकारले स्वयम्सेवक शिक्षक भर्ना गरेर भएपनि शिक्षक पदपुर्ति गर्नुपर्ने बताउनुभयो ।

उहाँले विद्यालयमा खानेपानी, शौचालय र भौतिक विकासका लागि स्थानीय सरकारले छिट्टै योजना बनाउनुपर्ने बताउनुभयो ।

शिक्षा सुधारका लागि नगरपालिकालाई १३ बुँदे ध्यानाकर्षण पत्र
नगरपालिकाको शिक्षा सुधारका लागि बनगाड कुपिण्डे नगरपालिकाको मानव अधिकार समूहले नगरपालिकालाई १३ बुँदे ध्यानाकर्षण पत्र पेश गरेको छ ।

इन्सेकको इएलपी परियोजना अन्तर्गत शिक्षा, स्वास्थ्य, खाद्यान्न र आवासको अधिकार अन्तर्गत पुस २८ गते नगरपालिकाको सल्लीबजारमा सरोकारवालाबिच भएको छलफलपछि शिक्षामा देखिएका समस्याका विषयमा ध्यानाकर्षण पत्र बुझाइएको हो ।

शिक्षाको अधिकारसम्बन्धी शिक्षक, विद्यार्थी र अभिभावकबिच अन्तरक्रिया कार्यक्रमपछि सरकारी नीतिमा रहेका कुरा व्यवहारमा लागु गर्न स्थानीय सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको मानव अधिकार समूहकी सदस्य सचिव दुर्गा विसीले बताउनुभयो ।

स्थानीय सरकारले प्रदान गरिरहेको शिक्षा, स्वास्थ्य, खाद्य अधिकारसम्बन्धीका सेवाहरू र ती सेवा प्राप्तिमा जनताको पहुँच बृद्धि गर्न आयोजना गरिएका विभिन्न कार्यक्रमहरूमा सरोकारवालाहरूले दिएको सुझाव, सल्लाह, नगरपालिकाले गरेको प्रतिबद्धता तथा मानव अधिकार समूहको स्थलगत अनुगमनका क्रममा देखिएका समस्या सुधारका लागि पहल गर्न मानव अधिकार समूहको तर्फबाट ध्यानाकर्षण पत्र पेश गरेको उहाँले जानकारी दिनुभयो ।

ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख गोविन्दकुमार पुनले शिक्षामा देखिएका विविध समस्या समाधान गर्न नगरभित्रका विद्यालयमा अनुगमन गर्ने बताउनुभयो ।

शिक्षा क्षेत्रमा सरोकार राख्नेहरूसँग सामुहिक रूपमा विद्यालयमा अनुगमन गर्ने र भेटिएका समस्यालाई न्यूनीकरण गर्न आवश्यक कदम चाल्ने उहाँको भनाइ छ ।

उहाँले मदिरा सेवन गरेर आउने शिक्षकका सन्दर्भमा विद्यालयमा स्वास्थ्यकर्मी सहितको टोली लिएर मापसे चेक गर्ने र मापसे गरेको पाइएमा कारवाहीको दायरामा ल्याउने चेतावनी समेत दिनुभएको छ ।

मौलिक हक कार्यान्वयनमा स्थानीय सरकारलाई सहयोग र सहजीकरण गर्न नागरिक समाज संस्थाहरूले पनि साझेदारी गरिरहेको संन्दर्भमा अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक)ले पनि यस नगरपालिकामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम सञ्चालन गरिरहेको छ ।

मिना बुढाथोकी