समूह गठनले मानव अधिकारमैत्री नगरको आशा जाग्योः सरोकारवाला

  ०७६ कात्तिक २४ गते

पाटन नगरपालिकास्थित सरोकारवालाहरूले मानव अधिकार समूह गठनले मानव अधिकारमैत्री नगरपालिकाको आशा जागेको बताएका छन् ।
कात्तिक २३ गते पाटन नगरपालिकामा इन्सेकद्वारा आयोजित परियोजना परिचयात्मक तथा मानव अधिकार समूह गठन कार्यक्रमका सहभागिहरूले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले पाटन नगरपालिकालाई मानव अधिकारमैत्री नगरपालिका बनाउने आफ्नो चाहाना रहेको र उक्त चाहानालाई इन्सेकद्वारा गठित मानव अधिकार समूहले पनि सहयोग गर्ने बताएका छन् ।
चन्दले भने–‘हामीले इन्सेककै अवधारणा अनुसार शिक्षा, स्वास्थ्य, खाद्य र आवास लगायत अन्य मौलिक हकहरूको कार्यान्वयन भएको नगरपालिका बनाउने सोचेका थियौँ, अब हामीलाई यो समूहले पनि खबरदारी गर्छ ।’
मानव अधिकार संरक्षण र सम्बद्र्धनका लागि राज्यको जबाफदेहिता तथा जनताको सहभागिता अभिबृद्धि गर्ने उद्देश्यले सञ्चालित परियोजनाले नगरपालिकालाई मानव अधिकारमैत्री बनाउन सहयोग गर्ने पाटन नगरपालिका–५ का वडा अध्यक्ष फुनी बोहराको भनाई छ ।
अधिकारकर्मी लोकेन्द्र पन्तले यो परियोजनाले शिक्षाबाट वञ्चित बालबालिकाहरूलाई पनि विद्यालयको पहुँचमा ल्याउन दबाब दिनुपर्ने बताएका छन् ।
एचआइभी एड्स सङ्क्रमित बालबालिकाहरूले खुल्ला रूपमा विद्यालय पढ्ने अवस्था सिर्जना नभएको भन्दै पन्तले यसका बारेमा पनि आवज उठाउनुपर्ने बताएका छन् ।

समृद्ध पाटनका लागि सवाल उठाउछौँः मानव अधिकार समूह
पाटन नगरपालिका बैतडीमा गठित मानव अधिकार समूहले समृद्ध पाटन एवम् मानव अधिकारमैत्री पाटन नगरपालिका बनाउन सवाल उठाउने जनाएको छ ।
समूह गठन पश्चत प्रतिक्रिया दिँदै समूहका अध्यक्ष कृष्ण महराले मानव अधिकारको संरक्षण भएमात्रै समृद्ध पाटन नगरपालिका हुने भएकाले यसका लागि समूहले भुमिका खेल्ने बताएका छन् ।
महरा अध्यक्ष रहेको मानव अधिकार समूहको उपाध्यक्षमा जयन्ती अवस्थी, सचिवमा खेमराज अवस्थी, कोषाध्यक्षमा इन्द्रा औझी र सहसचिवमा जानकी भट्टराई लगायत अन्य ६ जना सदस्य छन् ।

photo20191113baitadi (1)

photo20191113baitadi (2)

नरी बडु