समुदायकै सहभागितामा विकास योजना बनाइनुपर्ने जिसस प्रमुखको भनाई

  ०७४ पुस २८ गते

जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले समुदायकै सहभागितामा विकास योजनाको प्राथमिकीकरण गरिनुपर्ने बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा दैलेख सदरमुकाममा भएको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल (इएलपी) कार्यक्रमको सम्वाद बैठकमा बोल्दै उनले समुदायमै श्रोत समेत गएकोले समुदायको आवश्यकताको आधारमा योजना छनौट गर्ने सरकारको नीति तथा कार्यक्रम रहेको प्रष्ट्याए ।

Photo20180112Dailekh (1)

विकास योजनालाई प्रभावकारी गराउन स्थानीय तहले समन्वय बढाउन पर्ने र समुदायले पनि विकास कार्यक्रम र सरकारी सेवा प्रवाह प्रक्रियामा सहकार्य हुनुपर्ने बताउँदै जिल्ला समन्वय समितिका प्रमुख थापाले यस्तो सहकार्यले सुशासन र पारदर्शिता प्रभावकारिता बढ्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले इन्सेकको मानव अधिकार प्रवर्धन अभियानलाई शिक्षा, स्वास्थ्य र कृषिको विकास तथा सेवा प्रवर्द्धनमा बढावा दिएकोमा धन्यवाद दिँदै पहिचान भएका स्थानीय आवश्यकताहरू समयमा प्राप्त भए नगरपालिकाको योजनामा समावेश गर्ने प्रतिवद्धता जनाए ।

Photo20180112Dailekh (2)

जिल्ला शिक्षा कार्यालयका नासु हरि खत्रीले शैक्षिक गुणस्तर सुधारका लागि आफूहरूले तत्परता जनाइरहेको उल्लेख गर्दै समयमा आउने सुझाव र सूचनाका आधारमा शिक्षण सिकाई र व्यवस्थापकीय सुधारका लागि अझै प्रभावकारिता बढाइने बताए ।

अमर सुनार