समस्या तथा सरोकारवालाहरूको पहिचान र कार्य योजना निर्माण बैठक सम्पन्न

  ०७७ पुस २१ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दोलखाको आयोजनामा पुस १९ गते कालिन्चोक गाउँपालिकामा समस्या तथा सरोकारवालाहरूको पहिचान र कार्य योजना निर्माणका लागि निगरानी समूहको बैठक सम्पन्न भयो ।

Photodolakha20210103कार्यक्रममा कालिन्चोक गाउँपालिकाका उपप्रमुख कालिका पाठकले पालिकाभित्रका विद्यालयहरूमा स्थानीय भाषामा पाठ्यक्रमको व्यवस्था गरी शिक्षकको व्यवस्था गरिएको, विद्यार्थी अनुपातमा शिक्षक कम भएको विद्यालयमा पालिकाबाट अनुदान कोटामा शिक्षाको व्यवस्था गरिएको बताउनु भयो ।

उपाध्यक्ष पाठकले म्याद गुज्रिएको खाद्यपदार्थको अनुगमन व्यवस्था गरिने, कर्मचारीको थप व्यवस्थापन गरी शिक्षा शाखाबाट नियमित अनुगमनको व्यवस्था गरिने, बालबालिकाको अध्ययन अध्यापनमा अहिलेसम्म सहजताको अवस्था आउन नसकेको हुँदा कार्यक्रमा उठेका सवाललाई कालिन्चोक गाउँपालिकाले कार्य योजना बनाई सम्बोधन गर्ने बताउनु भयो ।

कार्यक्रममा सहभागीहरूले सामुदायिक विद्यालयमा कोभिड–१९ मा अध्ययन तथा अध्यापनका लागि दुरी कायम गर्न नसकिएको, साबुन पानीको अभाव, मास्क, सेनिटाईजर जस्ता सामानको अभावका बीच अध्यापन गराउनु परेको, दिवा खाजाको व्यवस्थापन विद्यालयले गर्न नसकेको, कर्मचारीको अभावका कारण नियमित अनुगमन तथा सुझाबको अभाव रहेको, विद्यालय व्यवस्थापन समितिले व्यवस्थापनमा ध्यन दिन नसक्नु जस्ता गुनासो गरेका थिए ।

यसैगरी स्वास्थ्यका सम्बन्धमा स्वास्थ्यकर्मी कर्मचारीको अभाव, स्वास्थ्यकर्मी नियमित स्वास्थ्य संस्थामा नआउनु, सुत्केरी सेवा लिन भौगोलिक अवस्थाका कारण अर्को पालिकामा जानुपर्ने, नियमित अनुगमन तथा मुल्याङ्कन नहुनु, स्वास्थ्य संस्थामा प्रयाप्त मास्क, सेनिटाईजर उपलब्ध नगराईनु जस्ता समस्याहरू पहिचान गरिएको छ ।

कृषितर्फ उन्नत जातको मल बिउको अभाव सधैँ रहेको, ठाउँ अनुसार जग्गा छनौट गरी कृषि तथा पशुपालनमा ध्यान दिन नसकेको, माटो परीक्षणको व्यवस्था नभएको, किटनाशक औषधीको अभावमा नगदे तथा अन्य बालिबाट प्रयाप्त मात्रमा उत्पादन लिन नसक्नु, बजारको अभाव, म्याद गुज्रीएको खाद्य सामाग्रीको बेचविखन र त्यसको अनुगमन नगरिएको, फलफुल जातीको व्यवसायिक खेतीमा रोगको प्रकोप बढ्नु र उपचारको व्यवस्था नहुनु, कृषि प्राविधिकको दरबन्दी कमी, कृषि प्राविधिकले समयमा उपचारमा वास्ता नगर्नु जस्ता विषय उठान गरेको थिए ।

आवासका क्षेत्रमा सार्वजनिक भवन तथा खानेपानी बालमैत्री, अपाङ्ग तथा जेष्ठ नागरिक मैत्री भवन निर्माण हुन नसकेको, भवन निर्माण आचारसंहिता पालना गराउन नसकेको बताएका थिए ।

कालिन्चोक गाउँपालिका कार्यालयका शिक्षा शाखा प्रमुख रोशनी आचार्य, कृषि शाखाका शान्ति खड्का,  स्वास्थ्य शाखाका धिरेन्द्र चौधरी, आवास शाखाका इन्जिनियर नारायण शिवाकोटी समेतको सहभागिता रहेको थियो ।

उद्धव पोखरेल