समस्या पहिचान,सरोकारवाला पहिचान र कार्ययोजना निर्माण सम्बन्धी अन्तरक्रिया सम्पन्न

  ०७७ भदौ २९ गते

भोक्राहा नरसिंह गाउँपालिकाका सरोकारवालाहरूले शिक्षा र स्वास्थ्यमा सुधारको खाँचोे औल्याएका छन् ।

भोक्राहा नरसिंह गाँउपालिकामा भदौ २९ गते मानवअधिकार समूहको आयोजनामा भएको समस्या पहिचान तथा  सरोकारवालाको पहिचान र कार्य कार्ययोजना निर्माण विषयक कार्यक्रममा सरोकारवालहरूले सो खाँचो औल्याएका हुन् ।

मानवाधिकार समूह बैठक तथा अन्तरक्रिया कर्याक्रममा सरोकारवालाहरूले विद्यालयमा नियमित पठनपाठन नभएको र स्वास्थ्य संस्थाले कार्यालय समय रहँदासम्म सेवा प्रवाह नगरेकाले सुधार गर्नुपर्नेमा जोड दिएका  छन् ।

अन्तरक्रिया कार्यक्रममा गाँउपालिकाभित्रका शिक्षा, स्वास्थ्य, कृषि र आवासका बारेमा रहेको समस्याको सवालहरूमा समूह र सरोकारवालाहरूले आफ्नो तर्क राख्दै शिक्षा र स्वास्थ्य देशको मेरुदण्ड भएकाले सुधारको खाँचो रहेको बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश १ कार्यालयद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तरगत भोक्राहा नरसिंह गाउँपालिकामा समस्या पहिचान र कार्ययोजना निर्माण सम्पन्न भएको हो ।

मानवअधिकार समुहका सदस्य तथा अन्य सरोकारवाला निकायको बैठकले शिक्षा, स्वास्थ्य, खाद्य  र आवासको अधिकार सम्बन्धी समस्या पहिचान, सरोकारवाला निकायको पहिचान गर्नुको साथै वार्षिक कार्ययोजना समेत निर्माण गरेको छ ।

बैठकले कोभिड–१९ का कारण शिक्षा स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा पारेको असरहरूको विश्लेषण गर्दै कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरेको छ । कोभिड–१९ ले बालबालिकाको शिक्षामा पारेको असरका विषयमा अन्तरक्रिया गर्ने, शिक्षाको गुणस्तरका लागि खाजा कार्यक्रम प्रभावकारी बनाउन अनुगमन गर्ने, पालिकाभरीका मुसहर र दलित तथा सुकुम्बासी टोलमा पछाडी परेको सिमान्तकृत समुदायमा मानवअधिकार शिक्षा तथा सचेतना मुलक कार्य गर्नुको साथै अन्य पक्षको समेत स्थलगत अनुगमन गर्ने ,कोभिडका कारण गर्भवती, दीर्घरोगी तथा अन्य रोगीहरूको उपचारमा समस्या देखिएकोले उनीहरूको उपचारका लागि पहल गर्ने तथा पालिकामा १५ शैयाको अस्पताल निमार्णका लागि थप पहल गर्ने, विद्यालयहरू खुलेपछि अनुगमन गर्ने, कृषिमा अनुदानका कार्यक्रमलाई लक्षित समुदायसम्म लैजान सहजीकरण गर्ने लगायतको कार्ययोजना बनाइएको छ ।

खाद्यवस्तुमा हुने मिसावट, गुणस्तरीयताका विषयमा अनुगमन गर्न गाउँपालिकालाई आग्रह गर्दै कृषकहरूलाई रासायनिक मल बिउ समयमा उपलब्ध गराउन, माटो परीक्षणका लागि पहल गर्ने , कुमाल टोललाई आवासको अधिकार अन्तरर्गत गाउँपालिकाले खरका छाना हटाउने योजनालाई सहयोग गर्दै कार्यान्वयनका लागि आग्रह गर्ने, कोभिडका कारण जागिर गुमाएका श्रम गरेर खाने कृषि तथा मजदुर ज्यालादारीमा काम गर्ने विपन्न नागरिकलाई दोश्रो चरणको राहत विरणका लागि पालिकाको ध्यानकर्षण  गराउने, सूचनाको हक अन्तरर्गत सुचना माग गर्ने लगायतका कार्य योजना निमार्ण गरिएको मानवअधिकार समुहका कार्यवहाक अध्यक्ष मुर्सिद आलमले बताउनुभयो ।

सहभागीहरूले किसानहरूलाई पशुपालन तथा कृषिको माध्यमबाट सक्षम र आर्थिक रूपमा मजबुत बनाउनु पर्नेमा जोड दिएका थिए ।

अन्तरक्रियामा स्वास्थ्य, शिक्षा, अवास र खाद्य अधिकार लगायतका विषयमा गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव, उपाध्यक्ष पुनम कुमारी मेहता, मानव अधिकार सञ्जाल सुनसरीका संयोजक रमेश भट्टराई, कृषि शाखाका विन्देश्वर साहु, वडाध्यक्ष हारुन अंसारी, इन्सेक सहजकर्ता जयकृष्ण यादव लगायतकाले बोल्नु भएको थियो ।

Photo 20200914 Sunsari (1)

Photo 20200914 Sunsari (4)

Photo 20200914 Sunsari (7)

Photo 20200914 Sunsari (11)

जयकृष्ण यादव