सकारात्मक समाचार सम्प्रेषणको आवश्यकता

  ०७७ जेठ ७ गते

समुदायमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण बढ्दै जाने क्रममा त्रासको कारण नकरात्मक असर पर्ने हुँदा सकरात्मक समाचार सम्प्रेषण गर्न नागरिक समाजका अगुवाहरूले सञ्जारजगतको ध्यानाकर्षण गराएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा जेठ ७ गते भएको  सञ्चारजगत र नागरिक समाजबीचको सहकार्य विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले सो धारणा राखेका हुन् ।

इन्सेकका निर्देशक श्रीराम बजगाईँले कोरोना भाइरस (कोभिड १९) का कारण बन्दाबन्दीको अवस्थामा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरकार पत्रकार र नागरिक अधिकारकर्मीहरूले खेलिरहेको भूमिका बारे जानकारी आदानप्रदान गर्न भर्चुअल अन्तरक्रिया गरिएको बताउनु भयो ।

भर्चुअल कार्यत्रममा कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष गोपिलाल सिंतानले समाजलाई उत्तेजित गर्ने र आबेग सिर्जना गर्नेभन्दा समस्या समाधान हुने दृष्टिले समाचार सम्प्रेषण हुनु पर्ने खाँचो औँल्याउनु भयो ।

lalitpurphoto20200520

उहाँले केही दिन पहिले कोन्ज्योसोममा कोरोना भाइरस (कोभिड १९) को आरडीटी परीक्षणबाट दुई जनाको पोजेटिभ रिपोर्ट आएको समाचार अनलाइनहरूमा प्रकाशित भएपछि समाज त्रसित भएको घटना स्मरण गर्दै समाजको चेतनास्तर अनुसारका सन्देश प्रवाह हुनु पर्नेमा जोड दिनुभयो ।

कोन्ज्योसोम गाउँपालिकाले लकडाउनका कारण समयमै सूचना प्रवाह हुन नसकेको भए पनि आगामी दिनहरूमा हरेक गतिविधिको पत्रकारहरूलाई जानकारी दिने प्रतिबद्धता जनाउनु भयो ।

इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमले .कोरोना भाइरस (कोभिड १९) का कारण एकान्तबासमा बसिरहेका नागरिकलाई सरकार तथा स्थानीय तहले दिइरहेको सेवाको अवस्था बारे नागरिक समाज र सञ्चारजगतबीचको सहकार्यमा जोड दिनुभयो ।

इन्सक बागमती प्रदेश कार्यक्रम संयोजक गणेश भण्डारीले सञ्चारमाध्यमले कोरोना भाइरस (कोभिडय १९) का कारण जनता त्रसित भए भन्नु भन्दा त्यसबाट जोगिन जनता सचेत भएका छन् भन्ने खालका सकरात्मक समाचार प्रकाशनमा जोड दिनुपर्ने बताउनु भयो ।

उहाँले हाल कतिपय स्थानीय सरकारले कामका लागि खाद्यान्न वितरण गर्ने नीति ल्याएपछि निम्न वर्गका लक्षित वर्गले राहत पाउन सजिलो भएको उल्लेख गर्नु भयो । पहिलो चरणमा स्थानीय तहले वितरण गरेको राहतलाई खान पुग्नेले समेत आफ्नो अधिकार जसरी लाइनमा लाग्ने गरेकोले राहत कसरी वितरण भएको थियो भन्ने स्पष्ट भएको समेत उहाँले उल्लेख गर्नुभयो ।

संयोजक भण्डारीले स्थानीय सरकारले कामका लागि खाद्यान्न वितरण गर्ने तथा कृषकलाई मल, बिउमा अनुदान दिई भविष्यमा खाद्य सङ्कट आउनबाट जिल्लालाई जोगाउनु पर्ने खाँचो औँल्याउनु भयो ।

नेपाली काङ्ग्रेस ललितपुरका पूर्व सचिव रविन्स शर्माले सरकारी तहबाट नियमित जानकारी दिनु पर्ने खाँचो औँल्याउदै समुदायमा आक्रोस पैदा गर्ने किसिमले समाचार सम्प्रेषण हुन नहुनेमा जोड दिनुभयो ।

अधिकारर्की बद्रिप्रसाद शिवाकोटीले कोभिड १९ संवेदनशील विषय भएकोले तथ्य बङ्ग्याएर समाचार सम्प्रेषण गर्न नहुनेमा सञ्चारकर्मीहरूको ध्यानाकर्षण गर्नुभयो ।

उहाँले स्थानीय सरकारले बाँझो जग्गामा खेती, कृषि ऋण र अनुदान लगायतका योजना अघि बढाउनु पर्ने उल्लेख गर्दै दीर्घ रोगी, नियमित औषधी खानुपर्ने नागरिकहरूको लगत अद्यावधिक गर्न स्थानीय सरकारलाई सुझाव दिनुभयो ।

गैरसरकारी संस्था महासंघका प्रतिनिधि दीपना शर्माले स्थानीय तहले क्वारेन्टाइन बनाउन नसक्दा उपत्यका बाहिरबाट आउने नागरिकहरू बस्न नपाएको बताउनु भयो । उहाँले त्यस्ता नागरिक डेराकोठामा आउँदा समुदायमा रोग पैmलिने त्रास बढेको समुदायलाई सुरक्षित राख्न उपत्यकाबाट बाहिर आवतजावतमा कडाइ गर्नु पर्ने खाँचो औँल्याउनु भयो ।

नेपाल पत्रकार महासंघ ललितपुरका सचिव सविन शर्माले कोभिड १९ को प्रभाव बढ्दै गएको उल्लेख गर्दै स्थानीय तहहरूले क्वारेन्टाइन बनाउनु पर्ने सुझाव दिँदै एकीकृत सूचना प्रणाली विकास गर्नु पर्ने खाँचो औँल्याउनु भयो ।

उहाँले एकीकृत सूचना प्रणालीको विकास नहुँदा पत्रकार सूचना खोज्ने, जिम्मेवार निकाय सूचना सम्प्रेषण गर्न हिच्किचाउनुले नागरिकहरूमा त्रासको वातावरण सिर्जना भएका घटना प्रस्तुत गर्नुभयो ।

डेमोक्रेटिक लयर्स एशोसिएसनका प्रतिनिधि प्रल्हादकुमार महतले जिल्लाका दुर्गम क्षेत्रहरूमा कोभिड १९ को परीक्षणलाई व्यवस्थित गर्नु पर्ने खाँचो औँल्याउँदै नागरिकहरूकै खर्चमा कोभिड १९ को परीक्षण गर्नु नेपालको संविधानको धार ३५ विपरित हुने बताउनु भयो ।

राससका प्रतिनिधि सुभानु आचार्यले स्थानीय जनप्रतिनिधिहरूले खाद्य समस्या परेको आवेदन दिनेहरूको स्थलगत अनुगमन गर्नु पर्ने खाँचो औँल्याउँदै हुनेखोनलाई नभई हुँदा खानेलाई राहत दिनु पर्नेमा जोड दिनुभयो ।

प्रेस युनियन ललितपुरका उपाध्यक्ष केदारनाथ दाहालले समाचार सङ्कलनका लागि स्थलगत हिँड्ने पत्रकारहरूको कोरोना भाइरस (कोभिड १९) को परीक्षण गर्नु पर्ने खाँचो औँल्याउँदै समुदाय, स्थानीय सरकार र पत्रकारबीच सुमधुर सम्बन्ध हुनु पर्नेमा जोड दिनुभयो ।

दीपकप्रसाद घिमिरे