संघ, प्रदेश र स्थानीय तहमा सुशासन कायम गर्न जोड

  ०७७ असोज २८ गते

संघ, प्रदेश र स्थानीय तहमा सुशासन कायम नहुँदा बेथितीहरू बढ्दै गएको एक कार्यक्रमका सहभागीहरूले बताएकाछन् ।

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले असोज २८ गते भर्चुअल मार्फत आयोजना गरेको मानव अधिकार पैरवीका लागि मानव अधिकार रक्षकहरूको एकदिने तालिमका सहभागीहरूले सो कुरा बताएकाहुन ।

सुशासन कामय हुन नसक्दा शिक्षा स्वास्थ्य, आवास, अपाङ्गता, द्वन्द्व पीडित, सिमान्तकृत समुदाय, बालबालिका, जेष्ठ नागरिकहरूका अधिकार स्थापित हुन नसकेको चर्चा गर्दै जातीय विभेदका घटना र बेरोजगारीको समस्या बढेको उल्लेख गरेका थिए ।

सहभागीहरूले सुशासन कायम गर्नुपर्नेमा जोड दिदै नागरिकका अधिकारहरूको संरक्षण सम्बर्धन गर्ने दायित्व तीनै तहका सरकारको रहेको पनि औंल्याएका थिए ।

कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै इन्सेक कर्णाली संयोजक नारायण सुवेदीले मानव अधिकार संरक्षण, सम्बर्धनमा तीनै तहका सरकार र नागरिक संघ संस्थाहरूबिच समन्वय र सहकार्यको खाँचो रहेको बताउनु भयो ।

जनप्रतिनिधि, मानव अधिकार रक्षक, नागरिक संघ संस्थाका प्रतिनिधी र सञ्चारकर्मीहरुको सहभागीता रहेको तालिमको सहजिकरण कर्णाली फाउण्डेसनका संस्थापक अध्यक्ष नारायण प्रसाद भट्टराईले गर्नु भएको थियो ।

कार्यक्रममा वीरेन्द्रनगर नपा– ९ का अध्यक्ष शुरेश मानन्धर, १० का अध्यक्ष रत्नबहादुर बुढा, १२ का अध्यक्ष लोकप्रसाद चालिसे, १४ का अध्यक्ष टोबहादुर दर्लामी र गैरसरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष घनश्याम केसीले धाराणा राख्नु भएको थियो ।

दुर्गा थापा