शैक्षिक अधिकारको प्रत्याभूति हुन नसकेको सरोकारवालाहरूको गुनासो

  ०७७ असोज २३ गते

संघीय व्यवस्था अनुसार शैक्षिक अधिकारको प्रत्याभूति अझै हुन नसकेको सरोकारवालाहरूले गुनासो गरेका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा असोज २३ गते घोराहीमा आयोजना गरिएको शिक्षाको अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरूले मौलिक हकमा व्यवस्था गरेको भएपनि नागरिकलाई अधिकारको प्रत्याभूत हुने गरी उपभोग गर्न नपाएको गुनासो गरेका हुन् ।

 घोराही उपमहानगरपालिका शिक्षा महाशाखा अधिकृत नारायण पौडेलले सबैलाई गुणस्तरीय शिक्षाका लागि सरकार र सरोकारवालाबिच समन्वयको खाँचो औल्याउनु भयो ।

 नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले हरेक नागरिकको व्यक्तित्व र समाज विकासमा शिक्षा पहिलो आधार भएपनि  त्यस अनुसारको शैक्षिक पहुँच आम नागरिकमा हुन नसकेको बताउनु भयो ।

शिक्षक महासंघ घोराहीका अध्यक्ष निशान्त आचार्यले मातृभाषामै पढ्न पाउने बालबालिकाको अधिकार कार्यान्वयनमा आउन नसकेकाले  कार्यान्वयनका लागि सरोकारवालाहरूले नै चासो नदिएको गुनासो गर्नुभयो । उहाँले शिक्षकहरू प्रविधिमैत्री हुन नसक्दा समस्या भइरहेको बताउनु भयो । नयाँ उर्जासहितका बालवालिकालाई पढाउने शिक्षकसँग २० वर्ष पुरानो शिक्षण कलाले शिक्षामा गुणस्तर आउनै नसक्ने उहाँको तर्क रहेको  छ ।

प्याव्सन घोराहीका अध्यक्ष विरेन्द्र चन्दले शिक्षालाई आवश्यकताका रुपमा बुझ्न जरूरी रहेकोले अभिभावक पनि जिम्मेवार हुनुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा बोल्ने सरोकारवालाहरूले शैक्षिक नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए । कार्यक्रममा अनुसन्धानकर्ता भूवन चौधरीले शैक्षिक अवस्था र चुनौतिको विषयमा आधारपत्र प्रस्तुत गर्नुभएको थियो भने भिक्टोरिया कलेजका कार्यक्रम संयोजक केवी चौधरी, राप्ती पोष्ट दैनिकका प्रकाशक शरद अधिकारीलगायतले टिप्पणी गर्नुभएको थियो ।

जयनारायण पुन