शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी टेलिभिजन सम्वाद कार्यक्रम सम्पन्न

  ०७६ कात्तिक ३० गते

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालमा टेलिभिजन सम्वाद कार्यक्रम धनुषामा सम्पन्न गरिएको छ । इन्सेक प्रदेश २ को आयोजनामा कात्तिक २९ गते क्षिरेश्वरनाथ नगरपालिकास्थित उद्योग वाणिज्य सङ्घको सभाहलमा सगरमाथा टेलिभिजनको सहकार्यमा सो कार्यक्रम गरिएको हो ।

कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेश २ कानुनमैत्री प्रदेश हुने बताएका छन् ।

मन्त्री यादवले देशमा अहिलेपनि भेदभाव हुदै आएको बताउँदै विभेदरहित समतामुलक प्रदेश २ बनाउने अभियानमा आफू र सरकार क्रियाशील रहेको बताए ।

प्रदेश २ शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालमा निकै पछाडि परेको भन्दै उनले भने–‘हामीले प्रदेश सरकार सिमित अधिकार पाएकाले त्यसको सदुयोग गर्दै शिक्षा, स्वास्थ्य र आम उपभोक्ताको खाद्य अधिकारको सवालमा प्रदेश २ सरकार गम्भीर रहेको छ ।’

प्रदेश २ सरकारले शिक्षा, स्वास्थ्य अधिकार र उपभोक्ताहरूको सुविधाको लागि ऐन, कानुन निमार्ण गर्दै सदनबाट पास गराउँदै आएको बताउँदै उनले बाँकी कानुनहरू पनि अबको सदनबाट पास हुने उललेख गरे ।

कार्यक्रममा क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख मेयर योगेन्द्र पञ्जियारले शिक्षा र स्वास्थ्यको अवस्था खस्किएर निकै नाजुक रहेको अवस्थामा स्थानिय तहले शिक्षा सुधार गर्ने सौभाग्य प्राप्त गरेकोले आफूहरूले शिक्षा सुधारको लागि पहल गर्दै आएको बताएका छन् ।

शिक्षामा राजनीतिकरण हुँदै आएकाले आफूहरूले शिक्षकहरूलाई स्थानीय तह भित्रकै विद्यालयमा हेरफेर समेत गर्ने निर्णय गरेको बताउँदै उनले शिक्षकको दरबन्दी नभएर शिक्षामा चाहेजति उपलब्धि गर्न नसकेको बताए ।

स्वास्थ्यको सवालमा आफूहरूले गर्भवति महिलाको पोषण, चेकजाँच, रतन्धोको अप्रेशन, क्यान्सरलगायतका रोगबाट पीडित भएका नागरिकलाई अभियानकै रूपमा औषधिलगायत नगद पनि सहयोग गर्दै आएको बताएका छन् ।

ज्येष्ठ नागरिकहरूलाई घरमै गएर औषधि उपचार गर्ने र औषधिसमेत वितरण गर्दै आएको बताउँदै उनले निकट भविष्यमा क्षिरेश्वरनाथ नगरपालिकामा सुविधासम्पन्न जिल्ला अस्पतालको लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

photo20191115dhanusha (1)

photo20191115dhanusha (2)

photo20191115dhanusha (3)

photo20191115dhanusha (4)

दिपेन्द्रप्रसाद सिंह