शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  ०७६ कात्तिक ८ गते

इन्सेक सुदूर पश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्था सम्वन्धी कात्तिक ८ गते सरोकारवालबीच अन्तरक्रिया कार्याक्रम धनगढीमा सम्पन्न भएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्धक नवलसिंह बोगटीले सङ्घीय सरकारबाट सुदूरपश्चिम प्रदेशलाई कोटा अनुसार बिउ र मल उपलब्ध नगराएका कारण सुदूरपश्चिमका किसान मर्कामा परेको बताउँदै कृषि नीति नबनेका कारण यहाँका किसानहरू समस्या रहेको बताए ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, धनगढीका शाखा अधिकृत कल्पना विष्टले किसानहरूको उपजको गुणस्तर जाँच गरी खरिद गर्ने र सरकारी कोटाबाट दुर्गम जिल्लामा सहुलियत दरमा खाद्यान्य पठाउने कार्य भइरहेको बताउँदै किसान, व्यापारी र कम्पनिबीच समन्वय बढाएर जानु पर्ने बताइन् ।

सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत जयदेव महराले सरकारको तीन तहको संरचनाले गर्दा संविधानमा उल्लेख भएका मौलिक अधिकारको नीतिगत कार्यान्वयन  गर्न समस्या रहेको औल्याउँदै अहिले पनि गुणस्तरीय तथा निःशुल्क शिक्षा दिन नसकिएको बताए ।

सेती प्रादेशिक अस्पतालमा तीस वर्ष अगाडिको जनशक्तिले अहिलेसम्म काम गरिरहेको अवस्थामा स्वास्थ्य सेवाको गुणस्तर बढ्न नसकेको तथा दैनिक आउने बिरामीको सङ्ख्या अनुसार डाक्टर सङ्ख्या नहुँदा बिरामीहरूलाई समस्या भएको डाक्टर जगदीश जोशीले बताए ।

उनले भने–‘कर्मचारी समायोजनले पनि समस्या ल्याएको छ । प्रदेशिक अस्पतालमा २३ जनाको दरबन्दी छ । तर, हाल १२ जना मात्रै डाक्टर कार्यरत छन् । अनि कसरी गुणस्तरीय सेवा प्रवाह गर्न सकिन्छ ?’

इन्सेक सुदूरपश्चम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले किसानलाई आवश्यक भएको समयमा आवश्यक बिउ र मलखाद उपलब्ध नहुनु, समयमा कृषि उपजको विक्री मुल्य निर्धारण नगर्नु, निःशुल्क उपलब्ध गराउनु पर्ने औषधि उपलब्ध नहुनु निःशुल्क शिक्षालाई अनिवार्य नगराउनु, विभिन्न बहानामा विद्यार्थीबाट शुल्क उठाउनुजस्ता समस्या विद्यमान रहेको सहभागिहरूले गुनसो गरेका थिए ।

photo20191026kailali (1)

photo20191026kailali (2)

photo20191026kailali (3)

मैनामोती चौधरी