शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सार्वजनिक सुनुवाइ सम्पन्न

  ०७६ असार १० गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाग्राही र सेवाप्रदायकबीच असार ९ गते नवदुर्गा गाउँपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

photo20190625dadeldhura (3)

कार्यकममा नवदुर्गा गाउँपालिका-१ का दिपक भट्टले गाउँपालिकामा स्वास्थ्यका क्षेत्रमा पहिलेको भन्दा केही सुधार आएपनि शिक्षा र खाद्य समस्यामा सुधार नभएको बताए ।

उनले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्कदै गएको बताए । सामुदायिक विद्यालयको शैक्षिक स्तरबृद्धिका लागि शिक्षक र अभिभावकहरूसँग गाउँपालिकाले अन्तरक्रिया तथा बहस सम्वाद गरी सामुदायिक विद्यालयहरूको गुणस्तर बृद्धिका लागि योजना बनाउन आग्रह गरे ।

photo20190625dadeldhura (2)

कार्यक्रममा इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयका संयोजक खडकराज जोशीले इन्सेकले नवदुर्गा गाउँपालिकामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा निगरानी समूहमार्फत कार्यक्रमहरू गरिरहेको जानकारी गराए ।

साथै, उनले गाउँपालिका भित्र रहेका सम्पूर्ण नागरिकहरूले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको प्रत्याभूति गर्न पाउनु पर्ने वातावरण बनाउन गाउँपालिकासँग आग्रह गरे ।

photo20190625dadeldhura (1)

नवदुर्गा गाउँपालिकाका प्रमुख कविन्द्र विष्टले मानव अधिकार र सुशासनलाई पारदर्शिता, जबाफदेहीता र सहभागितामुलक बनाउन जनप्रतिनिधि र नागरिकबीच सामूहिक अनुगमन, मुल्याङ्कन र सहकार्यको खाँचो रहेको बताए ।

साथै, उनले गाउँपालिका भित्र रहेका सम्पुर्ण नागरीकहरूलाई संविधानले प्रत्याभुत गरेका सम्पुर्ण अधिकारहरूको सुनिश्चितता गरिने प्रतिबद्धता जाहेर गरे ।

भुपेन्द्र विष्ट