शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सार्वजनिक सुनवाइ

  ०७६ जेठ ८ गते

मानव अधिकार निगरानी समूह, बासुदेवीको आयोजना र इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको सहकार्यमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सार्वजनिक सुनवाइ कार्यक्रम जेठ ७ गते डोटीमा सम्पन्न गरिएको छ ।

एउटै गाउँमा एक भन्दा बढी विद्यालय रहेकाले विद्यालय मर्ज नगरी विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न चुनौति रहेको र विद्यार्थी अनुपातमा शिक्षक नभएका कारण समस्या रहेको बासुदेव आधारभुत विद्यालयका शिक्षक पदमराज भट्टले बताए ।

संविधानमा निशुल्क शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सुनिश्चितता गरिएकाले यसको व्यवाहारिक कार्यान्वयन पनि राज्यले नै गर्नुपर्ने निगरानी समूहकी संयोजक ममता कुवँरले बताइन् ।

केआईसिंह गाउँपालिका–३ का वडाअध्यक्ष रतनबहादुर कुँवरले किसानहरूले मलखाद र बिउबिजनको समस्या खेप्नु परेको भए वडा कार्यालयमा सम्पर्क गर्न आग्रह गर्दै किसानका समस्या समाधान गर्न कटिबद्ध रहेको बताए ।

स्वास्थ्य चौकीका प्रमुख तिलबहादुर बोहराले सुत्केरी भएका महिलालाई एउटा झोला र न्यानो कम्मल वितरण गर्दै आएको बताउँदै आगामी दिनमा स्वास्थ्य चौकीमा औषधि अभाव हुन नदिने प्रतिबद्धता जनाए ।
photo20190523doti
महिनावारी भएको अवस्थामा छात्राहरू विद्यालयमा उपस्थित नहुने भएकोले यसको न्युनिकरणका लागि विद्यालयमा सेनेटरी प्याडको व्यवस्था गरिएको बताउँदै स्वास्थ्य चौकीमा औषधिको अभाव नहोस भन्नेतर्फ पनि ध्यानकेन्द्रित गरिएको केआईसिंह गाउँपालिकाकी उपाध्यक्ष मिनादेवी विष्टले बताइन् ।

उनले भनिन्–‘यस गाउँपालिका अन्तर्गत रहेका विद्यालयको भौतिक सुधारका लागि गत वर्ष ७५ लाख रुपियाँ बजेट छुट्याएका थियौँ । आगामी दिनमा पनि शिक्षा क्षेत्रको सुधारका लागि संवेदशील छौँ । कृषि क्षेत्रमा पनि कसरी सुधार गर्न सकिन्छ भनेर छलफल भइरहेको छ ।’
बासुदेव जोशी