शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सार्वजनिक सुनुवाइ सम्पन्न

  ०७६ जेठ ४ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदुरपश्चिम प्रदेश, कार्यालयको आयोजनामा शुक्लाफाँटा नगरपालिकामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाग्राही र सेवा प्रदायकबीच सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको छ ।

इन्सेकले सञ्चालन गर्दै आएको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्थाबारे सेवाप्रदायक र सेवाग्राहीबीच जेठ ३ गते सार्वजनिक सुनुवाइ गरिएको हो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा सेवाग्राहीले उठाएका जिज्ञासाको उत्तर दिँदै शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले शिक्षा, स्वास्थ्य र खाद्य अधिकार लागि आफू प्रतिबद्ध रहेको बताए ।

उनले शिक्षा क्षेत्रमा बजेट प्रशस्तै छुट्टिएकोले पैसाको अभाव नहुने भन्दै, स्थानीय तहका जनप्रतिनिधिलाई  हिजोको चिन्तन र दृष्टिकोण बदल्न आग्रह गरे ।

कार्यक्रममा सेवाग्राहीहरूले कर्मचारी अभावको बहानामा जनाताले गुणस्तरीय स्वास्थ्य सेवा नपाएको, स्वास्थ्य चौकीमा औषधि लिन गएको बिरामी रित्तो हात फर्कनु परेको, भएका परियोजना समेत कार्यान्वयन गर्न ढिला गरेको, निःशुल्क शिक्षा भनिए पनि शुल्क तिर्न बाध्य पारिएको गुनासा गरेका थिए ।

इन्सेक सुदुर पश्चिम प्रदेश कार्यालयका संयोजक खडकराज जोशीले शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सुनिश्चताका लागी स्थानिय तहले ध्यान दिनुपर्ने बताए ।

photo20190519kanchanpur (1) photo20190519kanchanpur (2)
कोमलनिरन्जन भाट