शिक्षा, स्वास्थ्य र खाद्य अधिकारबारे अन्तरक्रिया सम्पन्न

  ०७६ वैशाख २५ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पाल्पाको आयोजनामा वैशाख २४ गते बगनासकाली गाउँपालिकामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

इन्सेकले सञ्चालन गर्दै आएको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल परियोजना (इएलपी) परियोजना अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्थाबारे सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा सेवाग्राहीले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरीयता बृद्धि गर्नुपर्ने, विद्यार्थी अनुसारको शिक्षक दरबन्दी गरिनुपर्ने, स्वास्थ्य संस्थामा नियमित औषधि वितरण गरिनुपर्ने र कृषिसँग सम्बन्धित कार्यक्रमको प्रचारप्रसार गरिनु पर्ने, दलित तथा विपन्न समुदायलाई पनि आय आर्जनका कार्यक्रमहरूमा प्राथमिकता दिइनु पर्ने लगायतका मागहरू राखेका थिए ।

इन्सेक पाल्पा जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाले बगनासकाली गाउँपालिका–९ चापपानी र सोही गाउँपालिका–७ खानीगाउँमा सङ्कलन गरिएका शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी सवाल र समस्याहरू प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले गाउँपालिकामा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको सुधारका लागि प्रतिबद्ध भएर बजेट बिनियोजनमा पनि प्राथमिकता दिएर लागिपरेको बताए ।

photo20190508palpa (1)

photo20190508palpa (2)
यज्ञमूर्ति तिमिल्सिना