शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालमा अन्तरक्रिया

  ०७६ वैशाख १७ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ को आयोजनामा वैशाख १६ गते लक्ष्मीपुर पतारी गाउँपालिकामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल परियोजना (इएलपी) अन्तर्गत शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्थाबारे सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा सेवाग्राहीले शिक्षा गुणस्तरमा सुधार गर्नुपर्ने, विद्यार्थी अनुसारको शिक्षक दरबन्दी गरिनुपर्ने, स्वास्थ्य संस्थामा नियमित औषधि वितरण गरिनुपर्ने र कृषि विकाससँग सम्बन्धित कार्यक्रमको प्रचारप्रसार गरिनुपर्ने लगायतका मागहरू गरेका थिए ।

कार्यक्रममा स्थानीय तहको नयाँ संरचना अनुसार शाखा स्थापना भएपनि सेवा प्रवाह राम्रो नहुँदा सेवा पाउन नसकेको सहभागीहरूले गुनासो गरेका थिए ।

गाउँपालिका अध्यक्ष रामबल्लभ साहले गाउँपालिकामा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा समस्यै समस्या भए पनि समाधानको लागि कानुनी परिधि भित्र बाँधिनु परेकाले चाहेर पनि समयमा समस्या समाधान गर्न कठिनाई भएको बताए ।

विद्यार्थी अनुरूपको शिक्षक नियूक्ति गर्ने अधिकार गाउँपालिकालाई नभएको र शिक्षकको अभावले पठनपाठनमा समस्या भएको उनले बताए ।

अध्यक्ष साहले औषधि खरिद प्रक्रियामा रहेकाले औषधि आउन केही ढिला भए पनि गाउँपालिकाले समस्याहरूलाई समाधान गर्न र मानव अधिकारको प्रत्याभूति गराउन अग्रसर रहने बताए ।

कार्यक्रममा इन्सेक प्रदेश २ कार्यालयका संयोजक राजु पासवानले इन्सेक सधैँ मानव अधिकार र समाजिक न्यायको निम्ति काम गर्ने संस्था भएको बताए ।

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालमा रहेका समस्याहरूको समाधानका लागि सेवाग्राहीहरूलाई अधिकारबारे सचेत गराउँदै सेवा प्रदायकहरूलाई जबाफदेही बनाउन इन्सेकले परियोजनामार्फत पुलको रूपमा काम गरेको प्रदेश संयोजक पासवानले बताए ।

स्थानीय समस्याहरू समाधान गर्न स्थानीय सरकार रहेकोले सरकारले काम गरे नगरेको संस्थाले निगरानी गर्ने र समाधानको लागि हातेमालो गर्दै जाने संयोजक पासवानले बताए ।

photo20190430siraha (1)

photo20190430siraha (2)

photo20190430siraha (3)

photo20190430siraha (4)
दुर्गा परियार