शिक्षा, स्वास्थ्य र खाद्यका सवालमा सेवा प्रदायक र सेवाग्राहीबीच अन्तरक्रिया सम्पन्न

  ०७५ चैत २७ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत चैत २७ गते बटेश्वर गाउँपालिकामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालमा गाउँपालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाका अध्यक्ष डम्वरबहादुर क्षेत्रीले गाउँपालिकाले गर्ने राम्रा कार्यहरू बाहिर अथवा जनतालाई सुनाइदिन र सुधार्नुपर्ने कार्यहरू आपूmहरूलाई सुनाउन सबै सरोकारवालासँग आग्रह गरे ।

यसो गर्दा जनप्रतिनिधिलाई सुधार गर्ने मौका मिल्ने उनले विश्वास व्यक्त गरे । ढिलो हुने गरेको काम चाँडो गर्न झक्झक्याउने काम मानव अधिकार निगरानी समूहले गरिदिनु पर्ने अध्यक्ष क्षेत्रीले बताए ।

निर्वाचित भएदेखि बटेश्वर गाउँपालिकामा रहेका १६ ओटा विद्यालयमा सबैभन्दा पहिले खानेपानी, पर्खाल, शौचालय जस्ता भौतिक निर्माणका कामहरु गरेको उनले बताए । भौतिक निर्माणका कार्य गाउँपालिकाले गरेपनि विद्यालयहरूमा अभाव रहेका शिक्षक पदपुर्ति कसले गर्ने ? प्रश्न उनले सङ्घीय र प्रदेश सरकारलाई तेस्र्याए ।

गाउँपालिका अध्यक्ष क्षेत्रीले गुणस्तरीय खाजा र गुणस्तरीय शिक्षाको लागि मानव अधिकार निगरानी समूहलाई अनुगमन गरिदिन आग्रह समेत गरेका छन् ।

अनुगमन गरी सत्य तथ्य प्रतिवेदन दिएमा त्यसको कारवाहीदेखि सुधारसम्मका कार्य गर्ने उनको प्रतिबद्धता छ ।

भुमिहीन मुसहरलाई बासको लागि जगा व्यवस्थापन कसरी गर्ने ? प्रश्नको हकमा वर्षौँदेखि बसोबास गर्दै आएका मुसहर बस्तीलाई हटाउने कुरा कसैले गरेमा कुनैपनि हालतमा उजाड गर्न नदिने गाउँपालिका अध्यक्ष क्षेत्रीले बताए ।

कुनै जमानामा जमिन्दारको जमीन रहेको सोही जमीनमा मुसहर समुदायको बस्ती छ । सो बस्तीबाट जमिन्दारले हटाउन लागेको सन्दर्भलाई कार्यक्रममा उपस्थित दलित समुदायका व्यक्तिहरूले जोडदार माग गरे ।

कार्यक्रममा संस्थागत परिचय दिनुका साथै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै विगत वर्षमा इन्सेक बटेश्वर गाउँपालिकामा रहेका गतिविधि र उपलब्धिका बारेमा इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले बताए । सरोकारवालालाई जनताले समयसमयमा खबरदारी गरिरहनु पर्ने संयोजक पासवानले बताए ।

गाउँपालिकाकी उपाध्यक्ष प्रमिला महतोले शिक्षा, स्वास्थ्य र खाद्य अधिकार जनताको आधारभूत अधिकार भएकाले त्यस्ता अधिकार प्रत्याभूतिका लागि सबैको समन्वय र सहकार्य आवश्यक रहेको बताइन् ।

सबैभन्दा महत्वपूर्ण समस्याको रुपमा रहेको बर्थिङ सेन्टरको भवनको शिल्यानाश समेत भइसकेको र प्राविबाट दुई ओटा विद्यालय निमावि बनाउने प्रतिबद्धता आएकोले यी सबै कार्य इन्सेक र मानव अधिकार निगरानी समूहको पहलमा भएको गाउँपालिकाका जनप्रतिनिधिहरूले बताएका छन् ।

photo20190411dhanusha1
विनोदकुमार रविदास