शिक्षा, स्वास्थ्य र खाद्य अधिकार विषयक अन्तरक्रिया सम्पन्न

  ०७५ चैत ५ गते

इन्सेकले सञ्चालन गर्दै आएको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी परियोजना अन्तर्गत इलाममा चैत ४ र ५ गते अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

गोदक र पञ्चकन्यामा रहेका मानव अधिकार निगरानी समूह, स्थानीय तहका जनप्रतिनिधि, स्थानीय स्वास्थ्यकर्मी र शिक्षक तथा सर्वसाधारणको सहभागिता रहेको कार्यक्रममा सहभागीले अझै पनि शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा आवाज उठाउन जरुरी रहेको बताएका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख चित्रकला बराइलीले शिक्षा र स्वास्थ्यका क्षेत्रमा भएको सरकारी लगानी अनुसार सेवा प्रवाह हुन नसकेको भन्दै सर्वसाधारणले अझै गुनासो गर्ने गरेको भन्दै त्यसतर्फ सचेत भएर काम गर्न स्वास्थ्यकर्मी र शिक्षकहरूलाई आग्रह गरेकी थिइन् ।

पञ्चकन्यास्थित स्वास्थ्य केन्द्रका अहेव पदम कटुवालले नेपाल सरकारले उपलब्ध गराउने भनेका निःशुल्क औषधि स्वास्थ्य केन्द्रहरूमा नभएकाले सेवाग्राहीलाई वितरण गर्न समस्या भएको बताए ।

कार्यक्रममा इन्सेक प्रदेश १ का संयोजक सोमराज थापाले मानव अधिकारका हेरक सवालमा राज्यको दायित्व बढी हुनेहुँदा तीनै तहका सरकारले आफ्नो दायित्व बिर्सन नहुने बताए ।

उनले भने ‘संघसंस्था र सरोकारवालासँगको सहकार्यमा राज्यले मानव अधिकार रक्षाका निम्ति काम गर्नुपर्ने दायित्व बिर्सन हुँदैन, साझेदारी गर्न हामी तयार छौँ ।’

कोकिला ढकाल