शिक्षा, स्वास्थ्य र खाद्य अधिकार कार्यान्वयमा जोड

  ०७५ फागुन २ गते

संविधानले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सुनिश्चितता गरेपनि कार्यान्वयन तहमा कडाई गर्न नसक्दा सर्वसाधरण आधारभूत सेवा सुविधावाट वञ्चित भएको कार्यक्रमका सहभागीले गुनासो गरेका छन् ।

इन्सेक प्रदेश १ कार्यालय, विराटनगर र मानव अधिकार निगरानी समूहले फागुन १ गते रौतामाई र उदयपुरगढी गाउँपालिकामा आयोजना गरेको शिक्षा, स्वास्थ्य, खाद्य अधिकारका सवालमा सेवाग्राही र सेवाप्रदायकबीचको अन्तरक्रिया कार्यक्रममा सहभागीले संविधानले मौलिक हकको रूपमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारलाई माने पनि व्यवहारमा नागरिकहरूले अधिकारको प्रत्याभूति गर्न नपाएको सहभागीहरूले गुनासो गरेका हुन् ।

कार्यक्रममा सहभागी गौरबहादुर मोतेले राज्यले निशुल्क शिक्षा, औषधि, बिउविजन उपलब्ध गराउने घोषणा गरेपनि कार्यान्वयन तहमा प्रभावकारी नभएको गुनासो गरे । उनले घोषणा र वितरण प्रक्रियामा एकरूपता कायम हुन नसकेको बताउँदै कुनै न कुनै रूपले विद्यालयहरूले अभिभावकसँग रकम असुल्ने गरेकोसमेत बताए ।

मनिता परियारले स्वास्थ्य चौकीमा उपलब्ध हुने ३५ प्रकारका औषधि र कृषि सेवा केन्द्रबाट पाइने निशुल्क बिउविजन, मल, अनुदानहरू पाउन नसकेको गुनासो गरिन् । उनले अनुदानको व्यवस्थामा वास्तविक कृषकभन्दा पनि विल भरपाई मिलाउनेलाई अनुदान रकम वितरण गरिएको आरोप लगाइन् ।

सहभागीहरुले विषादीको विषयमा कृषकहरू जागरुक नबन्दा अहिलेपनि आफुखुशी विषादीहरू प्रयोग हुने गरेको बताए ।

जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले जनताका आधारभूत आवश्यकताप्रति तीन तहका सरकारहरू गम्भीर रहेको बताए । उनले सङ्घीयता कार्यान्वयसँगै संविधानले निर्दिष्ट गरेका लक्ष्यलाई पूरा गरिने बताए ।

इन्सेक प्रदेश १ कार्यालय विराटनगरका प्रमुख सोमराज थापाले व्यवस्था परिवर्तन भएपनि व्यक्तिका मानसिकता परिवर्तन हुन नसक्दा बनेका ऐन कानुन कार्यान्वयन हुन नसकेको बताए । उनले मानव अधिकार दयामायाको खेल नभई संवैधानिक तवरबाटै सुनिश्चित भएकाले कसैसँग चाप्लुसी घस्नु नपर्ने बताए ।

उदयपुरगढी गाउँपालिका–८ का वडाध्यक्ष टङ्क श्रेष्ठले सेवा लिनका लागि जनता नै चनाखो हुनु पर्ने बताए । उनले उपयुक्त माग लिएर आए सहयोग गर्न वडा कार्यालय तयार रहेको बताए ।

स्थास्थ्य चौकी भलायडाँडाका इञ्र्चाज विश्वनाथ ठाकुरले सेवा प्रवाहका विषयमा बेला मौकामा खबरदारी आवश्यक रहेको औँल्याए । उनले सेवाग्राहीलाई लक्षित गरी विशेष सुविधा उपलब्ध गराएको तर कहिलेकहीँ प्राविधिक समस्याका कारण औषधिहरू स्वास्थ्य चौकीबाट उपलब्ध गराउन नसकिएको बताए ।

कृषि प्राविधिक अनिता कार्कीले कृषक नै जागरुक बन्न नसकेको बताइन् । उनले माटो जाँचदेखि लिएर अन्य परीक्षणका लागि गाउँ, टोलसम्म सेवा लिएर आउँदासमेत सेवाग्राहीले चासो नदिएको बताइन् ।

photo20190215udayapur (1)

photo20190215udayapur (2)
भरत खड्का