शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सरोकारवालाहरूबिच समन्वय बैठक सम्पन्न

  ०७५ असार ९ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका सवालमा सरोकारवालाहरूबिच जिल्ला समन्वय बैठक असार ८ गते सम्पन्न गरिएको छ ।

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल परियोजना अन्तर्गत इन्सेक धनगढीको आयोजनामा समन्वय बैठक सम्पन्न गरिएको हो ।

Photo20180623Kanchanpur

शिक्षा विकास तथा समन्वय इकाईका प्रतिनिधि पुस्कर भट्टले इन्सेकको कार्यक्रम राम्रो भएकाले गाउँका सबै विद्यालयहरूमा विस्तार गर्न, गुणस्तरीय शिक्षामा जोड दिन र समन्वयका लागि पहल गर्न इन्सेकलाई सुझाव दिए ।

कार्यक्रमको उद्धेश्यका बारेमा इन्सेक धनगढीका कार्यालयका संयोजक खडकराज जोशीले जानकारी गराएका थिए । संयोजक जोशीले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको कुरा उठान भएपनि त्यसको व्यवस्थापन र गुणस्तरीयतामा सुधार नआएको भन्दै सुधारका लागि सरोकारवालाहरूको ध्यानाकर्षण गराएका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख फैरू तामाङले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सुनिश्चितताका लागि जिल्ला समन्वय समितिलाई अनुगमनको अधिकार दिनुपर्ने बताए । अधिकार सहितको अनुगमन अधिकार पाएमा सुधार गरेरै छाड्ने तामाङ्ले प्रतिबद्धता जनाए ।

समन्वय बैठकमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसँग सम्बन्धित कार्यालयहरू र मानव अधिकार निगरानी समूहका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

कोमलनिरन्जन भाट