शिक्षा स्वास्थ्य तथा खाद्य अधिकार सुनिश्चितताका लागि सहकार्य गर्ने प्रतिबद्धता

  ०७६ मङ्सिर २१ गते

लेकवेशी नगरपालिकाका प्रमुख गगनसिंह सुनारले नगरपालिकामा रहेका जनताको शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकार सुनिश्चितताका लागि इन्सेकसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले मङ्सिर १९ गते लेकवेशी नगरपालिकामा आयोजना गरेको “मानव अधिकारको अवस्था तथा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार विषयक अन्तरक्रिया” कार्यक्रममा नगर प्रमुख सुनारले सो प्रतिबद्धता जनाउनु भएको हो ।

नगर प्रमुख सुनारले जनतासंग जोडिएको शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकार सुनिश्चित गर्न आवश्यक योजना तथा कार्यविधि निमार्ण गरी इन्सेकसँग समन्वय गर्न समेत लेकवेशी नगरपालिका तयार रहेको बताउनुभयो ।

लेकवेशी नपाका उपप्रमुख शान्ति छन्त्यालले शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकारबाट बञ्चितीकरणमा परेका जनताका ती अधिकारहरू सुनिश्चित गर्न र अधिकारका बारेमा आवाज उठाउन इन्सेकले कार्यक्रम सञ्चालन गरेकोमा आभार व्यक्त गर्नुभयो ।

उपप्रमुख छन्त्यालले नगरपालिकाले शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकार सुनिश्चित गर्न इन्सेकसँग समन्वय गरी आवश्यक योजना तथा कार्यविधि निर्माण गर्ने बताउनुुभयो ।

कार्यक्रममा सहभागीहरूले लेकवेशी नपामा देखिएका शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारको  समस्या चुनौती तथा सरोकारवाला निकायले सम्बोधन गर्न नसकेको अवस्थाका बारेमा चर्चा गर्नुभएको थियो ।

इन्सेक कर्णाली प्रदेश कार्यालयका कार्यक्रम संयोजक दिलबहादुर चौधरीले शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकारका लागि स्थानीय तहसँग समन्वय र सहकार्य गर्न इन्सेक तयार रहेको बताउनुभयो ।

Photo20191206Surkhet01

Photo20191206Surkhet02

Photo20191206Surkhet03

Photo20191206Surkhet04

Photo20191206Surkhet05

Photo20191206Surkhet06

Photo20191206Surkhet07

दुर्गा थापा