शिक्षामा लगानी बढाउन माग

  ०७७ असोज २७ गते

संघ, प्रदेश तथा स्थानीय तहले शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने एक कार्यक्रमका सहभागीले माग गरेका छन् ।

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा असोज २६ गते वीरेन्द्रनगरमा सम्पन्न शिक्षाको अधिकार विषयक अन्तरक्रियाका सहभागीहरूले सो कुराको माग गरेका हुन् ।

राज्यले शिक्षा क्षेत्रमा लगानी गर्न कञ्जुस्याई गरेकै कारण शिक्षाको गुणस्तर खस्किदै गएको भन्दै लगानी बढाउन तीनै तहका सरकारलाई दबाव दिनुपर्ने उनीहरुको भनाई थियो ।

कार्यक्रममा वीरेन्द्रनगर नपा–१० का अध्यक्ष रत्नबहादुर बुढाले शिक्षाका लागि माग गरे अनुसार वडामा वजेट नआउने गरेको बताउनुभयो । यस्तै वीनपा–११ का अध्यक्ष नन्दलाल शर्माले मुलुकको समग्र परिवर्तनका लागि शिक्षा क्षेत्रमा लगानी बढाउनुको विकल्प नभएको भनाइ राख्नुभयो ।

इन्सेकद्वारा गठित मानव अधिकार समूहकी अध्यक्ष लक्ष्मी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक महासंघ सुर्खेतका अध्यक्ष कृष्ण थापा लगायतले धारणा राख्नु भएको थियो ।

इन्सेक सुर्खेतद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई  जवाफदेही बनाउने कार्यक्रका फोकल पर्सन दिलबहादुर चौधरीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा जनप्रतिनिधी, अविभावक, विद्यार्थी, शिक्षक, मानव अधिकार समूहका सदस्य तथा नागरिक संघसंस्थाका प्रतिनिधीहरूको उपस्थिती रहेको थियो ।

दुर्गा थापा