शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  ०७७ पुस १३ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा भानु नगरपालिकामा शिक्षाको अधिकारसम्बन्धमा सरोकारवालाहरूबिच अन्तरक्रिया कार्यक्रम पुस १० गते सम्पन्न भएको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गरेको शिक्षासम्बन्धी कार्यक्रम र नगरपालिकाको शिक्षा नीति तथा अवस्थाको बारेमा सरोकारवालाहरूलाई जानकारी दिने र सुझाव सङ्कलन गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो ।

भानु नगरपालिका–३ का अध्यक्ष दलनारयण श्रेष्ठले नगरपालिकाले शिक्षालाई विशेष महत्वका साथ लिएको र संविधानले समेत शिक्षालाई मौलिक हकको रूपमा व्यवस्था गरेको नगरपालिकाको नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।

r

उहाँले अहिले कोभिड–१९ को कारण सबैभन्दा बढि असर शिक्षा क्षेत्रमा परेको भन्दै अब कोभिड १९ को जोखिम कम हुँदै गएपछि शिक्षा क्षेत्रलाई पनि चलायमान गरिएको बताउनुभयो ।

नगरपालिकाले शिक्षाको क्षेत्रमा राम्रा योजनाहरू ल्याएपनि कार्यान्वयनको भने अभाव भएको र दिवा खाजा, छात्राहरूलाई सेनेटरी प्याड, स्थानीय पाठ्यक्रमको निर्माणका विषयहरू नीति तथा कार्यक्रममा भएपनि कार्यान्वयनमा भने समस्या भएको उहाँको भनाइ थियो ।

जनजागृति माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वमबहादुर गुरुङले सबैको प्रयत्न र समन्वयमा विद्यालयलाई नमुना बनाइने बताउनुभयो ।

उहाँले भौतिक पूर्वाधारको निर्माण, शिक्षक दरबन्दी र मिलान जस्ता विषयमा नगरपालिकाले विशेष चासो दिनुपर्ने बताउनुभयो ।

मानव अधिकार समूह भानु नगरपालिकाका संयोजक कृष्णराज धमनीयाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा शिक्षक अभिभावक सङ्घका अध्यक्ष दिनेश श्रेष्ठ, विद्यालयका प्रधानाध्यपक विष्णुप्रसाद न्यौपाने, शिक्षक चक्रबहादुर घले, शिक्षीका सुष्मा थापा, बालअधिकार चेतना समूहका सुमित तामाङ, छात्रा बिन्दु परियार लगायतले शिक्षाको महत्वको बारेमा मन्तव्य राखेका थिए ।

r

भानु नगरपालिका शिक्षा शाखाका प्राविधिक सहायक श्रीकृष्ण त्रिपाठीले नगरपालिकाले चालु शैक्षिक सत्रमा सञ्चालन गरेको शिक्षा सम्बन्धी नीति, शैक्षिक कार्यक्रम र शिक्षाको अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

उहाँका अनुसार चालु शैक्षिक सत्रमा कोभिड १९ ले विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ भने विद्यार्थीको आधिकारिक तथ्याङ्क उपलब्ध भएको छैन ।

५७ ओटा सामुदायिक विद्यालय रहेको भानु नगरपालिकाले चालु आर्थिक वर्षमा पाँच ओटा सामुदायीक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गरेको, स्थानीय मातृभाषामा पाठ्यक्रमको निर्माण गरिएको, प्रत्येक आधारभुत विद्यालयमा इन्टरनेट जडान, प्राविधिक विद्यालयमा कम्प्युटर र प्रिन्टरको व्यवस्था, वैकल्पिक शिक्षण विधिको विकास तथा कक्षा कोठाको व्यवस्थापन र स्तरोन्नतीको कार्यक्रम सञ्चालन भइरहेको त्रिपाठीले जानकारी दिनुभयो ।

 

प्रकाशचन्द्र भट्टराई